बुद्धशान्तिमा वडास्तरीय फुटबल र भलिबल प्रतियोगिता हुने « Yalambar Times
५ बैशाख २०८१, बुधबार

बुद्धशान्तिमा वडास्तरीय फुटबल र भलिबल प्रतियोगिता हुने


यलम्वर टाइम्स
२ चैत्र २०७७, सोमबार ०९:३९

बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिकामा वडा स्तरीय फुटबल र भलिवल प्रतियोगिता हुने भएको छ ।

स्थानीय स्तरबाटै खेल क्षेत्रलाई प्रोत्साहनसहित खेलाडी उत्पादन गर्ने उद्देश्यले गाउँपालिकाले आगामी चैत ३ गतेबाट प्रथम उपाध्यक्ष कप वडास्तरीय नकआउट भलिवल प्रतियोगिता र चैत १२ गतेबाट प्रथम अध्यक्ष कप वडास्तरी फुटबल प्रतियोगिता गर्ने भएको जनाइएको छ ।

गाउँपालिकाको ७ वटै वडामा खेलाडी छनौट गरी भलिबल टोली तयारी अवस्थामा रहेको आइतवार गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा ७ वटा वडाका ७ वटा टोली र खेल व्यवस्थापन गर्ने वडाको थप एक टिम सहित जम्मा ८ वटा टोलीले प्रतियोगितामा भाग लिने बुद्धशान्ति खेलकुद बिकास समितिका संयोजक शम्भूप्रसाद पौड्यालले जानकारी दिए ।

भलिबल खेल बुद्धशान्ति–४ स्थित वर्ने चिया वगानको वर्कसव खेल मैदानमा हुनेछ । फुटबल भने त्रिभुवन माविको खेल मैदानमा हुने जनाइएको छ ।

फुटबलमा पनि ७ वटा वडाको एक÷एक टोली र खेल व्यवस्थापनको जिम्मेवारी पाएको वडा नं. १ को थप एक टोली सहित ८ वटा टोलीले सहभागिता जनाउने छन् ।

यस अघि गाउँपालिकाले खेलकुदका धेरै विद्यामा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरे पनि कोरोना भाइरसका कारण प्रतियोगिता प्रभावित भएको आयोजक समितिका सचिव कमलप्रसाद निरौलाले जानकारी दिए । सचिव निरौलाका अनुसार यस वर्ष भने फुटबल र भलिबल गरि दुई विद्यामा खेल हुन लागेको हो ।

पत्रकार सम्मेलनमा भलिबल प्रतियोगिताका लागि सम्पूर्ण तयारी सकिए पनि फुटबलका लागि ७५ प्रतिशत तयारी सकिएको आयोजकले जनाएको छ ।

स्थानीय स्तरमा रहेका खेलाडीलाई प्रोत्साहन गर्न र पालिका स्तरीय टिम निर्माणका लागि खेलाडी छनौट गरी अन्तर पालिका÷नगरपालिकामा आयोजना हुने प्रयोगितामा सहभागी गराउने उद्देश्यले सो प्रतियोगिता आयोजना गर्न लागिएको खेलकुद विकास समितिका अध्यक्ष पौडेलले जानकारी दिए ।

आयोजक समितिका १३ जनासहित वडा खेलकुद संयोजकहरुको उपस्थिति थियो । उनीहरुले वडामा भलिवल र फुटवलको खेलाडी छनौट सकिएको बताए ।

भलिवल खेलको विजेताले नगद ३० हजार रुपैयाँ र उपविजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि, प्रमाण–पत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको बेष्ट डिफेन्टर, स्पाइकर र फेयर अफ दि टिमले आकर्षक पुरस्कार पाउनेछन् भने फुटबलतर्फको विजेताले पनि समान ३० हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँसहित ट्रफि, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसै गरि बेष्ट किपर, हाइयेष्ट स्कोरर लगायत ५ उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइने जनाइएको छ ।

बुद्धशान्ति गाउँपालिकाले यस बर्ष खेलकुदका लागि १५ लाख रुपैयाँ छुट्टाएको छ । भलिवल र फुटवल खेल सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ ।

वाँकी रकम अन्य खेलका लागि खेलकुदका सामाग्री खरिद र छिमेकी पालिकामा आयोजना हुने खेलमा खर्च गरिने बताइएको छ ।

भलिबल खेलको चैत ७ गते फाइनल हुनेछ भने फुटवल खेलको फाइनल चैत्र २१ गते हुनेछ । फाइनल खेलमा बुद्धशान्ति प्रेस क्लव र आयोजक टिमवीच मैत्रिपूर्ण खेल हुनेछ ।