बीएण्डसीले चाँडै सम्बन्धन पाउँछः प्रधानमन्त्री ओली « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

बीएण्डसीले चाँडै सम्बन्धन पाउँछः प्रधानमन्त्री ओली


यलम्वर टाइम्स
१८ फाल्गुन २०७७, मंगलवार १२:१८

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले झापामै सुविधा सम्पन्न क्यान्सर अस्पताल निर्माण हुनु देशकै लागि गौरवको विषय भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । अस्पतालको उद्घाटन प्रधानमन्त्री ओली र संविधान सभा सदस्य सुवास नेम्वाङले संयुक्त रुपमा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पूर्वाञ्चल क्यान्सर अस्पताल अत्याधुनिक भएको बताउँदै उपचारकै लागि बिरामीले छटपटाउनु नपर्ने बताए ।

उनले नेपाल उपचारका लागि सस्तो हुने भन्दै पूर्वाञ्चल क्यान्सर अस्पतालबाट छिमेकी देश भारतका नागरिकलाई समेत उपचारमा सहज हुने बताए ।

‘नेपालीलाई त अब सहज भइगयो, यो अस्पतालको स्थापनाले भारतीयलाई समेत उपचारका लागि सहज हुन्छ’, प्रधानमन्त्री ओलीले भने ।

उद्घाटनपछि देशमा विकासको लहर छाइरहेको भन्दै दुर्गा प्रसाई साहसी व्यक्ति भएको चर्चा गरे । उनले अगाडि भने, ‘उहाँले सयौंलाई रोजगारी र आम नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दछु । खुट्टा तान्नेहरुले तान्दै गरुन, विकास गर्न छोडिन्न ।’

प्रधानमन्त्री ओलीले बीएण्डसी अब अस्पताल मात्र नभई शिक्षण अस्पताल चाँडै बन्ने बताएका छन् । उनले मेडिकल कलेजको लागि प्रक्रिया अघि बढिसकेको बताउँदै केहि समयमै शिक्षण अस्पताल बन्नेमा ढुक्क रहन आग्रह गरेका छन् ।