आमाको गर्भमा नभएको सुरक्षा कहाँ खोज्ने ? « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

आमाको गर्भमा नभएको सुरक्षा कहाँ खोज्ने ?


यलम्वर टाइम्स
१२ फाल्गुन २०७७, बुधबार १०:४७

 

[जानुका ढुंगाना]

भनिन्छ नारी देवीको अवतार हो । उनीहरुको सम्मान हुनुपर्छ । नारी पुरुष रथको दुई पाङ्गग्रा हुन् । कुनै एकको खराबीले पनि घर चल्न मुस्किल पर्छ भन्ने उक्तिसँगै आजकल हाम्रो समाजका हरेक क्रियाकलापमा पुरुष सरह नै महिलाहरुको सहभागिता भएको देखिन्छ । देशको राजनीति क्षेत्रदेखि अन्य निजामती क्षेत्र, व्यावसायिक क्षेत्र, विभिन्न कलाकारिता नाट्य क्षेत्र, धार्मिक सास्कृतिक क्षेत्र लगायत धेरै ठाँउहरुमा महिलाको उपस्थिति र कार्य सम्पन्नताको जिम्मेवारी बराबर देखिन्छ । एउटा घरभित्रको चुलोचौको, बालबच्चा र अन्य घरायसी जिम्मेवारीको बाबजुद बाहिरी कामकाजमा जुट्नु उति सजिलो छैन । यद्यपि उनीहरुको जोश र जाँगर इच्छाशक्तिको कारण सबै क्षेत्रमा महिला सहभागीता हुनुलाई समाज परिवर्तनको सकारात्मक उपजको रुपमा लिन सकिन्छ । घर, समाज अनि राष्ट्र निर्माण कै काममा समेत महत्वपूर्ण भुमिका निर्वाह गरिरहेका नारी समुदायको अस्मिताको संरक्षणको कुरा गर्नुपर्दा शून्य सुरक्षाको अवस्थाभन्दा अनुचित नहोला ।

नेपालमा दिनप्रतिदिन तिब्र गतिमा बढीरहेको बलात्कार, हत्या–हिंसा, एसिड आक्रमण, अपहरण, बेचखन जस्ता अपराधिक गतिविधिले महिलाहरुको अस्तित्वमाथि नै धावा बोलिरहेका आभास हुन्छ । यस्तो अपराधको सिकार हुनेमा कम उमेरका बालिकाहरु र किशोर अवस्थामा प्रवेश गर्दै गरेका युवतीहरुको संख्या बढीमात्रामा भएको पाइन्छ । हुन त उमेको हिसाबले ६०÷७० बर्ष नाघिसकेको बृद्धअवस्थाका आमाहरु पनि बलात्कारको सिकार भएको घटना हाम्रो समाजभित्र यथेष्ट छन् । बलात्कारको प्रसङ्गमा भन्नुपर्दा २०७५ साल श्रावन ११ मा कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा १३ बर्षिया बालिका निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो हालसम्म त्यो घटनाको सत्यतथ्य बाहिर आउन सकेको छैन भने पुनः उस्तै प्रकृतिको अर्को घटना यसै माघ महिनामा भयो ।

बैतडीको दोगडकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या भएको छ । उनको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । यद्यपि, प्रहरी अनुसन्धानमै छ । बलात्कार सम्बन्धी जघन्य अपराधका घटना हरेक वर्ष बढ्दै जादा पछिल्ला ५ वर्षमा बलात्कारका ११००० घटना दर्ता भए मध्येमा सबैभन्दा डरलाग्दो तथ्य बालिकाको संख्या ५००० रहेको प्रहरी तथ्यांकले देखाउँदछ । यो ५÷६ वर्षमा बलात्कारका घटना दोब्बर संख्यामा बढेको देखिन्छ भने ०७५ साउनको कञ्चनपुरकी बालिका निर्मला पन्तदेखि ०७७ माघको बैतडीकी भागरथीसम्म आइपुग्दा देशमा ३३४७ जना बालिका बलात्कृत भएको प्रतिवेदनले देखाउदछ । अपराध लुकाउन १७ जना पीडितको हत्या भएको देखिन्छ यसरी तथ्यांक हेर्दा हामी अनुमान लगाउन सक्छांै हाम्रो देशमा हाम्रा चेलीबेटी कति सुरक्षित छन् भनेर ।

त्यस्तै मुलुककै राजधानी काठमाडौंमा २०७५÷७६ मा २१० वटा घटना भएका थिए भने झापामा १३० । त्यसपछि सुनसरी, मोरङ र कैलालीमा धेरै घटना भएको तथ्यांक छ । सुनसरीमा ११०, मोरङमा १०२ र कैलालीमा १०० घटना भएको र ७७ वटै जिल्लामध्ये सबैभन्दा बढी घटना काठमाडौं र त्यसपछि झापामा भएको प्रहरी तथ्यांकले देखाउँछ ।

प्रदेशअनुसार विश्लेषण गर्दा प्रदेश १ मै बढी घटना भएको देखिन्छ । प्रदेश नं. १ मा २०७५÷७६ मा ५९४ वटा घटना भए । त्यसपछि प्रदेश ५ मा ४०१ घटना भएको देखिन्छ । प्रदेश २ मा २८०, प्रदेश ३ मा २२५, प्रदेश ४ मा १६७, प्रदेश ६ मा १३५ र प्रदेश ७ मा १६० वटा बलात्कारको घटना भएको प्रहरी मुख्यालयले जनाएको छ । प्रतिवेदन अनुसार २६ देखि ३५ वर्षका महिला बढी बलात्कारको सिकार हुँदै आएको देखिन्छ । २०७५÷७६का कुल घटनामध्ये यो उमेर समूहका ७३४ महिला पीडित भएको देखिन्छ । त्यसपछि ३० देखि ४५ वर्षका ४१० जना बलात्कृत भएको देखिन्छ । १७ देखि १८ वर्षका ३२८, १० वर्षमुनिका १६ र ११ देखि १६ वर्षका ९२ जना बलात्कृत भएको प्रहरी तथ्यांकले देखाउँछ । सातै प्रदेशको अभिलेखअनुसार अपहरणपछि ४१ जना बलात्कृत भएको, १० जनाको बलात्कार गरी हत्या र २ जनाको बलात्कारपछि हत्या प्रयास भएको जानकारी प्रतिवेदनले देखाउँदछ । प्रहरीको तथ्यांक अनुसार दैनिक औसत ६.४६ जनाको बलात्कृत हुने गरेको देखिन्छ । पीडित हुनेमा भने केही बालकहरू पनि रहेको पाइन्छ । यसैगरी बलात्कार मात्र नभई सबैखाले अपराधको जोखिममा बालबालिका र युवाहरू नै धेरै मात्रामा पर्नेगरेको देखिन्छ । अढाइ महिने शिशु देखि १० वर्ष मुनिका बालिकाहरु पनि बलात्कारपछि हत्याको झोखिममा पर्ने गरेको खबरले नेपाली समाज अछुतो छैन ।

२०७१ फागुनमा राजधानीको मुटु बसन्तपुरमा ट्युसन पढ्न गएका दुई किशोरीमाथि एसिड आक्रमण भएको थियो । यसरी ७ वर्षभित्र देशभरमै १९ युवतीयुवती एसिड प्रहारको सिकार भएका देखिन्छ भने ३ जना पुरुष समेत एसिड प्रहारको पीडित भएको तथ्यांकले देखाउँदछ । एसिड आक्रमणका घटना प्रायः प्रेम प्रतिशोधमा बदलिएपछि भएका देखिन्छ । प्रेम प्रस्ताव अस्वीकार गर्दा, विवाह गर्न नमान्दा र असमझदारी बढेपछि प्रेमीले प्रेमिकामाथि एसिड आक्रमण गर्ने गरेको पाइएको प्रहरी अनुसन्धानले देखाउँछ ।

अपहरण, बलात्कार भने कतै एसिड प्रहार विभिन्न बहानामा लुटिनु, काटिनु वा लुछिनु पर्ने नारीले विवाह पश्चात भने दाइजो नल्याएको कारण शारीरिक, मानसिक यातनासँगै मर्नुपर्ने पनि हुन्छ । कतै बोक्सीको आरोपमा नारी नै जीउँदै जल्नुपर्छ भने आमाको गर्भमा रहँदा गर्भपतनको सिकार बन्नुपर्छ । बिगतमा श्रीमानको चितासँगै सती जानुपर्ने कुरितिलाइ हटाइ स्वतन्त्र भै बाच्ने अधिकार सुनिश्चित गरेको भएता पनि अहिलेको परिस्थितिमा आफ्नै श्रीमानले विभिन्न बहनामा श्रीमतीको हत्या गरेको दर्दनाक घटनाहरुले समाज दुखिरहेकोछ । ‘खोइ कहा छ सुरक्षा नारीको ?’ जसको उत्तर एक जटिल प्रश्नमै सिमित रहेको देखिन्छ । सरोकारवाला पक्षहरुले जतिसुकै नारीवादको भाषण गरे पनि, महिला हकहित र अधिकारको कुरा गरे पनि, महिला शिक्षा, सहभागिताका कुरा गर्दै हिंडे तापनि, कानुनको पन्नामा कडा दण्ड सजाय दिने व्यवस्था भए तापनि अकाल मृत्यु खेप्न बाध्य छन् नारीहरु । आफ्नी आमाको गर्भदेखि नै गर्भपतनको समस्याबाट असुरक्षित हुँदै एक अबोध शिशुले यो धरामा पाइला टेकेदेखि नै अनेक किसिमका हिंसाको शिकार हँुदै मृत्युवरण गर्नुपर्नेसम्मको परिस्थिति झेल्नुपर्छ । तसर्थ समस्त नारीहरुको हित र सुरक्षा कहाँ र कसरी खोज्ने भनि एक गम्भीर प्रश्न आज सारा नेपालीको एक साझा सवाल बनिरहेकोछ । हाँस्दै खेल्दै विद्यालय जाने उमेरका सम्पूर्ण हाम्रा छोरीहरुलाई निर्मला र भागरथी जस्तो अनुसन्धानमै अल्झिएको घटनाको पात्र हुनबाट बचाऔं ।

अपराधीलाई दण्ड सजायमा कडाइ नहुँदा यस्तो घट्ना बढने क्रम जारी छ । विद्यालय जस्तो सम्वेदनशील ठाउँमा शिक्षकमा पनि विद्यार्थीहरु असुरक्षित छन् । सुरक्षाको कुरा गर्दा घर, समाज, बजार, मठ्मन्दिर, बाटोघाटो कहिँ कतै पनि सुरक्षित महशुस गर्ने अवस्था देखिदैन । आफ्नो बुवाबाट बलात्कारमा परेका कयौं बालिकाको चित्कारबाट पीडित छ हाम्रो समाज । काका, मामा दाजु, भाइ लगायतका हाड्नाताभित्र यस्तो अपराधमा पर्नेहरुको संख्या कूल सख्याको आधाभन्दा बढी नै रहेको प्रतिवेदनले देखाउँदछ । आफ्नो परिवार र सम्बन्धभित्र घटना भइसकेपछि ढाकछोप गरी पीडितको आवाजलाई दवाउने प्रवृत्तिले गर्दा प्रतिदिन अपराध बढीरहेको आकलन गरिन्छ । पहुचवाला र पदको दाबेदारबाट अथवा उनीहरुको नजिकका मान्छेहरुबाट हुने अपराधिक घटनामा राजनीतिक हस्तक्षेप भइ दोषीलाई लुकाइ पीडित पक्षलाई नै दोष दिने परिपाटीले ग्रसित हाम्रो समाजमा आज नारी अस्मिता लुटिन रत्तिभर समय लाग्दैन । हामी हरेक व्यक्ति, समाज, सम्बन्धित निकाय लगायत सिङ्गो राष्टूले नै यस्ता अपराधिक गतिविधि के कस्ता कारणबाट भइरहेको छ ? यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ ? भन्ने कुराको मनोवैज्ञानिक ढंगबाट अध्ययन, अनुसन्धान तथा विश्लेषण गरी समाधानको उपाय नखोज्ने हो भने कुनै पनि छोरी आफ्नै घर, विधालय, हाटबजार, मठमन्दिर कहिँकतै पनि सुरक्षित भइ हियुल गर्ने अवस्था देखिन्न । तसर्थ हामी सबै सरोकारवाला व्यक्ति, निकाय, प्रशासन, राजनीति दल र नेता लगायत सिङ्गो राष्टूले नै यो समस्यालाई गहन रुपमा बुझी सुरक्षित वातावरण सिर्जनाको लागि जुट्नु आजको आवश्यकता देखिन्छ ।

जानुका ढुंगाना