सत्ता र अधिकारमा हुनेहरु नै आन्दोलनमा आउनु अनिष्टताको संकेतः महासचिव सूर्यवंशी « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

सत्ता र अधिकारमा हुनेहरु नै आन्दोलनमा आउनु अनिष्टताको संकेतः महासचिव सूर्यवंशी


यलम्वर टाइम्स
८ फाल्गुन २०७७, शनिबार ११:२९

अर्जुनधारा । राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशीले सत्ता चलाउने र अधिकारमा हुनेहरु नै आन्दोलनमा उत्रनुले देशमा अनिष्टताको प्रवल सम्भावना रहेको बताउँदै त्यस्तो हुन नदिन आम जनताले खबरदारी गर्नुपर्ने बताएका छन् ।

महासचिव सूर्यवंशीले प्रधानमन्त्री केपी शर्मा ओली प्रति लक्षित गर्दै सारा आन्दोलन सत्ता र अधिकार प्राप्तिका लागि हुने तर जो सरकार र अधिकारमा छ उही आन्दोलनमा उत्रनु देश र जनताको हित विपरित रहेको बताउँदै खबरदारी गर्नु आवश्यक रहेको बताए ।

शनिबार राष्ट्रिय जनमुक्ति पार्टी अर्जुनधारा नगर परिषदले आयोजना गरेको अन्तरक्रिया तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव सूर्यवंशीले प्रधानमन्त्री ओलीले संसद विगठन गर्नु संविधान बमोजिम ठीक बेठीकभन्दा पनि जनताले विश्वास गरि ५ वर्षका लागि दिएको म्याण्डेड कुनै प्रधानमन्त्रीले अगाडि नै भंग गर्नु स्वतः बेठीक भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सूर्यवंशीले अगाडी भने, ‘यो कदम एकदमै गलत भयो । राजनीतिक रुपमा यो कदम संवैधानिक, असंवैधानि भन्दा पनि प्रधानमन्त्रीको राजनैतिक कदम हो । जुन गलत छ । यसले नेपाली जनतालाई कुनै पनि हालतमा नाफा हुनेवाला छैन ।’

कार्यक्रममा महासचिव सूर्यवंशीले राष्ट्रिय जनमुक्ति पार्टी शान्तिपूर्ण चरित्र, प्रजातान्त्रिक प्रक्रियामा जाने, संघीयता, धर्म निरपेक्षता, समानुपातिक र भ्रष्टाचार विरुद्ध हिंड्नु र भ्रष्टाचार नगर्नु भन्दै आएको पार्टी भएको पनि बताए ।

उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीबाट जीत हासिल गरेको ठाउँमा भ्रष्टाचार नभएको भन्दै अनुशासन र इमान्दारीतामा अघि बढेको बताए ।

कार्यक्रममा बोल्दै उनले राष्ट्रिय जनमुक्ति पार्टीले विदेशमा रहेका नेपालीहरुले पनि उतैबाट भोट लगाउन पाउनुपर्ने मुद्दा उठाउँदै आएकोमा पनि जोड दिए ।

उनले अगाडि भने, ‘६०–७० लाख नेपाली युवा, विद्यार्थीहरु विदेशमा छन् । एक मतका लागि छुट्टी लिएर हजारौं रुपैयाँ खर्च गरेर आउन सक्ने वातावरण हुँदैन । तसर्थ उतैबाट पनि राष्ट्रिय चुनावमा मत हाल्न पाउने व्यवस्था गरिनुपर्छ ।’

सोही अवसरमा महासचिव सूर्यवंशीले संघीयताको सपना देख्ने पहिलो पार्टी जनमुक्ति रहेकोे पनि बताएका छन् ।

महासचिव सूर्यवंशीले पार्टीले स्थापनाकालदेखि नै मुलुकमा राष्ट्रिय एकता, स्थायी शान्ति र दिगो विकासका लागि संघीयता अतिआवश्यक रहेको औल्याउँदै स्थापना समयदेखि नै आवाज बुलन्द पार्दै आएको बताएका थिए । महासचिव सूर्यवंशीले राष्ट्रिय जनमुक्ति पार्टीले महिलालाई ५० प्रतिशत आरक्षणसहित अगाडि बढेको पनि उद्घोष गरे ।

पार्टी नगर परिषद् अध्यक्ष राज खम्बूको सभापतित्वमा भएको अन्तरक्रिया तथा कार्यकर्ता भेटघाट कार्यक्रममा संगठन विभाग उपप्रमुख केभी पुन, केन्द्रीय उपाध्यक्ष मीना पन्धाक, केन्द्रीय सचिव पदम जवेगु लगायतले मन्तव्य राखेका थिए भने  केन्द्रीय सदस्य शन्तिदेवी राई, प्रदेश नं. १का अध्यक्ष पर्शुराम मगर, सचिव कृष्णकुमार थेवे, दुर्गाबहादुर राई, जिल्लाका नेता दिलीप राई, भुपाल राना मगर, सुमन मगर, केदार घले, विद्यार्थी मोर्चा केन्द्रीय सदस्य सोनी चेम्जोङ लगायतको आतिथ्य रहेको थियो ।

परिषदका उपाध्यक्षका तेजबहादुर योङहाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन क्या. शिवकुमार राईले गरेका थिए । कार्यक्रममा एक सय ५० बढी कार्यकर्ताको सहभागिता रहेको थियो ।