वाणिज्य संघको निर्वाचनः शिवाकोटी र भट्टराई बीच कसको पल्ला भारी ? « Yalambar Times
३० चैत्र २०८०, शुक्रबार

वाणिज्य संघको निर्वाचनः शिवाकोटी र भट्टराई बीच कसको पल्ला भारी ?


यलम्वर टाइम्स
६ फाल्गुन २०७७, बिहीबार १०:३१

[राजन साम्पाङ]

बिर्तामोड । मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्र बिर्तामोडका व्यवसायीहरु चुनावी अभियानमा जुटेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि यति बेला बिर्तामोडका व्यवसायीहरु चुनावी माहोलमा होमिएका हुन् ।

बिर्तामोड बजारलाई व्यवस्थित र व्यवसायीहरुको हितका लागि काम गर्नेभन्दै उद्योग वाणिज्य संघको नेतृत्वका लागि दुई युवा व्यवसायी चुनावी प्रतिस्पर्धामा उत्रेको पत्रकार सम्मेलन गर्दै बताए ।

नेकपा र राप्रपाको सहकार्यमा गठित संयुक्त व्यवसायीक प्यानलबाट अध्यक्षका लागि युवा व्यवसायी सुवास भट्टराई चुनावी रणमैदानमा देखिएका छन् भने नेपाली कांग्रेस निकट लोकतान्त्रिक व्यवसायीक प्यानलको नेतृत्व गर्दै युवा व्यवसायी प्रकाश शिवाकोटी मैदानमा उत्रेका छन् ।

आसन्न निर्वाचनमा अध्यक्षका लागि भिड्दै गरेका भट्टराई र शिवाकोटी दुवैको व्यवसायीहरुमाझ आ–आफ्नो पहिचान र छवि छ । बिर्तामोड उद्योग वाणिज्य संघमा सधै एकछत्र राज गर्दै आएको लोकतान्त्रिक व्यवसायीक प्यानल र संयुक्त व्यवसायीक प्यानल बीच यस पटक भने कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

नेपाली कांग्रेस निकट लोकतान्त्रिक व्यवसायीक प्यानल पुरानै इतिहासलाई दोहोर्याउने दाउमा रहेको छ भने नेकपा–राप्रपा निकट संयुक्त व्यवसायीक प्यानल त्यसलाई तोड्दै नयाँ इतिहास बनाउने रणनीतिमा उभिएको छ ।

उनीहरुले बिर्तामोडसँगै व्यापारीहरुको हितका लागि विभिन्न प्रतिवद्धतासहित बुधबार फरक फरक समयमा उम्मेद्वारी घोषणा गरे । कुनै आरोप प्रत्यारोप बिना उम्मेद्वारी घोषणा गर्दै अगाडि बढेका अध्यक्ष पदका दुवै प्रत्यासी उम्मेद्वारहरुको बिर्तामोडका व्यवसायीहरुबीच आफ्नै लोकप्रियता छ ।

उनीहरु दुवै चुनावमा आफू र आफ्नो प्यानल नै विजय हुनेमा विश्वस्त छन् । यद्यपी व्यपारी–व्यवसायीहरु बीच कसको पल्ला भारी छ ? को निर्वाचनबाट विजेता बन्नेछन् ? को उपविजेता ? त्यो हेर्न त फाल्गुन १६ गते नै पर्खनु पर्ला ।

दुवै प्यानल आ–आफ्नो एजेण्डासहित निर्वाचनका लागि अगाडि बढे पनि साना दल निकट व्यवसायीहरुलाई समेट्न नसकेको देखिन्छ । राष्ट्रिय जनमुक्ति पार्टी, जनता समाजवादी पार्टी लगायत अन्य साना दलसँग नजिक रहेका व्यवसायीहरु बिर्तामोडमा थुप्रै छन् ।

निर्णायक मतको रुपमा रहेका साना दलसँग आवद्ध व्यापारी व्यवसायीहरुलाई दुवै प्यानलले नसमेट्नु आश्चर्यजनक छ । जितको एउटा बलियो आधार साना दल पनि भएको हुँदा तिनलाई समेटेर अगाडि बढ्नु दुवै प्यालनका लागि फाइदाजनक छ ।

लोकतान्त्रिक प्यानलका उम्मेद्वार शिवाकोटी बिर्तामोड क्षेत्रमा रहेर विभिन्न संघसंस्थामा जोडिएका व्यक्ति हुन् । बिर्तामोड जेसीज जस्तो गरिमामय संस्थाले व्यापारीहरुलाई समेट्दै आएको ठाउँ हो ।

त्यसमा शिवाकोटी जेसीजसँग नजिक भएर काम गरेको व्यक्तिको हिसाब र कांग्रेसबाट वाणिज्य संघको प्रतिनिधित्वमा बिरासत थामेको हुनाले लोकतान्त्रिक प्यानल बलियो भएको केही बुद्धिजीविहरुको आंकडा छ भने यता संयुक्त प्यानलबाट अगाडि बढेका भट्टराई पनि सहकारी संस्थाबाट प्रत्येक व्यापारी–व्यवसायीसँग पहिचान बनाएको हुनाले एक थरी व्यापारीबाट उनलाई मनग्यै साथ रहने पनि स्थानीय व्यापारीहरु भन्ने गर्छन् ।

दुवै स्वस्थ प्रतिस्पर्धामा देखिएका हुनाले साना दलका रुपमा उभिएका जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीका केही व्यापारीहरुलाई आफ्नो पक्षमा पार्न सके थोरै मतले तलमाथि हुने अर्को थरीको अनुमान छ ।

बिर्तामोड उद्योग वाणिज्य संघलाई अगाडि बढाउनका लागि नेकपा–राप्रपाको संयुक्त गठबन्धनले नेकपाका तर्फबाट अध्यक्षमा युवा व्यवसायी भट्टराईसँगै वरिष्ठ उपाध्यक्षमा नारायण चिमरिया, वाणिज्य उपाध्यक्ष रामकृष्ण अधिकारी, जनसम्पर्क उपाध्यक्षमा उर्मिला बिमली खरेल, महासचिवमा अर्जुन मैनाली, उद्योग सचिवमा धनबहादुर डाँगी र कोषाध्यक्षमा दुर्गा थपलियाको उम्मेदवारी सार्वजनिक गरेको छ ।

त्यस्तै, नेकपाबाट सदस्य पदमा बिसन लिम्बू, गुञ्जन प्रसाईं, गौरीशंकर गुप्ता (टिंकु) भगिरथ लुइँटेल, उदय शाह तथा महिला सदस्यमा रुचि शिवाकोटीको उम्मेदवारी रहने भएको छ ।

राप्रपाकातर्फबाट उद्योग उपाध्यक्षमा प्रकाश घिमिरे, वाणिज्य सचिवमा कृष्ण पौडेल, सहकोषाध्यक्षमा रञ्जु प्याकुरेल, महिला सदस्यमा सोनी अग्रवाल, खुल्ला सदस्यमा सूर्यकुमार खतिवडा र गोविन्द कार्कीले उम्मेदवारी दिनेछन् ।

त्यस्तै लोकतान्त्रिक व्यवसायीको प्यानलबाट संघको वर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी अध्यक्षमा, वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने, उद्योग उपाध्यक्षमा सञ्जीव घिमिरे, वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), जनसम्पर्क महिला उपध्यक्षमा नैनकला भट्टराई, महासचिवमा रविन्द्र भट्टराई, उद्योग सचिवमा कुशल खतिवडा, वाणिज्य सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा दिपेन्द्र राउत र सहकोषाध्यक्षमा राधिका चुँडाल हुमागाईंको उम्मेद्वारी रहेको छ ।

यसैगरी, सदस्यको उम्मेद्वारमा विशाल थापा, सनी गोयल, विकास बस्नेत, दिपक मित्तल, मनोज रौनियार, पुकार बराल, बलराम सिटौला (राम), महिला सदस्यद्वयमा तिलोत्तमा खत्री र तुलसा ढकाल रहेका छन् ।

निर्वाचन समितिले फागुन ६ गते उम्मेदवारको मनोनयन दर्ताका लागि मिति तय गरेको छ । यसपालिको निर्वाचनमा चार हजार ५३९ मतदाता रहेका छन् । यसबाहेक ११ जना पूर्वअध्यक्षहरु मतदाता रहने छन् ।