ओझेलमा रहेको कालिका सिमसार « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

ओझेलमा रहेको कालिका सिमसार


यलम्वर टाइम्स
३ फाल्गुन २०७७, सोमबार ०८:५०

पर्यापर्यटन जोगाउने अभियानमा हलुवागढ सामुदायिक वन अग्रगतिमा रहेको त्यहाँको पर्यटन प्रवद्र्धन कार्यले प्रस्ट्याएको छ । सामुदायिक वनलाई मास्ने काम मात्र होइन पर्यापर्यटनको प्रवद्र्धन गरेर अगाडि बढाउने काम सामुदायिक वनले गर्नुपर्छ भन्ने नीति तीन वर्षअघि संघीय सरकारले उद्घोष गरेपछि त्यसैको पछि लाग्दै अर्जुनधारा नगरपालिका १ सिस्नेमा रहेको हलुवागढ सामुदायिक वनले कालिका सिमसारको नाममा आफ्नो वन क्षेत्रभित्र पर्यटन प्रवद्र्धनका लागि अगाडि बढाएको छ । उक्त सिमसारमा नौकाविहारदेखि लिएर वन्यजन्तु अवलोकन गर्नका साथै बालबालिकाका लागि उपयुक्त ठाउँ निर्माण गरेको छ ।

सिमसारमा आन्तरिक पर्यटकहरु पर्याप्त आउन थालेपछि वर्षौदेखि अपहेलित बस्तीको रुपमा रहेको सातकटेरी आसपासका बासीहरु हर्षित मुद्रामा देखिन थालेका छन् । शनिश्चरे बजारबाट ७ किलोमिटर उत्तरमा रहेको उक्त सिमसार पुग्नुअघि सातकटेरी बस्तीले स्वागत गर्ने गरेको देखिन्छ । उक्त बस्तीमा समावेशी ढंगबाट मानव बसोबास गरेको पाइन्छ । कालिका सिमसार हुँदै रोङ गाउँपालिका छिर्ने बाटो बनेकोले पनि सातकटेरी बस्ती हिजोआज निकै उज्यालो देखिन्छ ।

कालिका सिमसार पर्यापर्यटनलाई उच्च राख्न सके हलुवागढ सामुदायिक वनमात्र होइन यस क्षेत्रमा रहेको उपभोक्ताको मन पनि उज्यालो हुनेछ । सिमसारलाई आकर्षक गन्तव्य बनाएको देखिन्छ त्यसैले पनि मौसम अनुसारको मानव उपस्थितिसँगै मनोरञ्न र वनभोज खान आउनेहरुको संख्या पनि निकै बढेको पाइन्छ । सिमसारमा छिर्ने बित्तिकै धनुष चरीले आफ्नो आवाजबाट स्वागत गरेको आभास हुन्छ । रंगीबिरङ्गी चराहरुको उपस्थिति देख्न पाइन्छ । प्रकृतिमा रमाएर अनुसन्धान गर्ने जो कोहीलाई कालिका समिसार उपयुक्त ठाउँ बनेको छ ।

हालै संघीय सरकार र स्थानीय सरकारले यस क्षेत्रको विकासमा विभिन्न कार्यक्रमहरु अगाडि सारेर काम गर्ने भएको पाइन्छ । यतिका उच्च स्थानमा रहेको पर्यटन क्षेत्रलाई प्रचारप्रसारमा उल्लेखीय भूमिका खेल्न सके अर्जुनधाराको गहना हुनेमा दुईमत छैन । समितिले आफ्नो पहलबाट विभिन्न कार्य गरे पनि राज्यको निकायमा रहेको पर्यटन बोर्डको ध्यान केन्द्रीत हुन सके कालिका सिमसार उच्च स्थानमा रहन सक्छ । त्यसैले यस सिमसारको प्रचारप्रसारमा जुट्न सके यस क्षेत्रका बासिन्दालाई मात्र होइन झापा जिल्लाकै गहना बन्न सक्छ ।