यलम्बर टाइम्सलाई रमाइलो बस्तीमा स्वागत « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

यलम्बर टाइम्सलाई रमाइलो बस्तीमा स्वागत


यलम्वर टाइम्स
२८ माघ २०७७, बुधबार ०७:५१

[जानुका ढुंगाना]

समावेशी सूचना केन्द्र मातहतबाट प्रकाशित यलम्बर टाइम्स साप्ताहिक र यलम्बर टाइम्स डटकम अनलाइन पोर्टलको कार्यालय भवन निर्माणका लागि पौष २२ गते बुधबार अर्जुनधारा–७ अर्जुनधारा खेल मैदान र बिल्डकन ईण्डस्ट्रीज बिचमा पर्ने जमिनमा निजी कार्यालय भवनको शिलान्यास गरिएको समाचार सुन्दा मन अतिनै हर्षित भएको थियो ।

जब आफ्नै आँखाले उक्त कार्यलयको नव–निर्माणाधिन भवनको दृश्य देखे तब म स्तब्ध भए खुशीको सीमा नै रहेन म अझै उत्साहित हुँदै त्यो भवन तिर नै टोलाइरहे किनभने केहीदिन अघि मात्रै त्यो बाटो हिंड्दासम्म कुनै सुरसार नै थिएन एक महिना काठमाडौको बसाइँ सकेर फर्किदा घर जाने क्रममा बिल्डकन ईण्डस्ट्रीज नजिकै बाटोको पूर्वतिर अर्को एउटा भवन निर्माण हुँदै गरेको दृश्यले मलाई उतैतिर तान्यो देख्ने बित्तिकै मैले मेरो प्रश्न तेस्र्याए के को निर्माण कार्य भैरहेको छ ? त्यहीं काममा व्यस्त एक सज्जनले मुस्कुराउदै जवाफ दिनुभयो यलम्बर टाइम्स साप्ताहिकको कार्यलयको आफ्नै भवन हो, उक्त कार्यलयको लागि ३वटा कोठा निर्माण हुँदैछ भनेर ।

सुन्नासाथ मनभित्र खुसीका अनेक तरङ्गहरु उब्जिए मेरा नजरहरु चारैतिर डुल्नथाले म आफुले आफैसँग विभिन्न प्रश्नहरु गर्न थाले के साच्चिकै विकासले गति लिएकै हो त ? जसको उत्तर खोज्दै आफ्नो बाल्यकाललाई स्मरण गर्नथाले जुन बेलाका साघुरा (आलि)का बाटाहरु, फुलमती खोलाको वल्लो छेउबाट पल्लो छेउसम्मको कहाली लाग्दो बगर, बर्षायाममा घाँटीसम्मको बाढी साँच्चिकै दुःखदायी जीवन यापन गरेको रहेछौ हामीले त्यस ठाँउमा । भन्नैपर्दा शनिश्चरे बजारसम्म जान आउन निकै मुस्किल थियो । त्यो बेला खोलाको बाटो पुल बनेको थिएन, यहाँको बस्ती अहिलेको जस्तो बाक्लो थिएन । शनिश्चरे बजारबाट नजिकै भए तापनि आवश्यक सेवा सुबिधाबाट बन्चित नै थियो ।

करिब २० बर्ष अगाडी हाम्रो परिवारको बसाइ अर्जुनधारा मन्दिर भएको ठाँउ तिर थियो । त्यो बेला फुलमती खोला पारी (रमाइलो बस्ती) खेतमा जाँदाको अनुभव मेरो मस्तिष्कमा आउनथाल्यो । त्यो समयमा त्यहाँ रुख बुट्यान अहिलेको जस्तो घना थिएन घाम चर्किएको बेला गर्मीले पोल्दा शितल छहारीमा बस्नसम्म पाइन्नथियो । पिउने पानीको स्रोत पर्याप्त थिएनन् ।

खेतमा खाल्डो खनेर पानी निकालेर पानी पिएको अनुभव ताजै छ । त्यहाँ वरिपरिको जमिन पनि उत्ति उर्भरा थिएन बगरे जमिन भएको हुँदा थोरै उत्पादनमा चित्त बुझाउनु पथ्र्याे । अहिले हाम्रो ठाउँमा खेती बाली पनि मनग्ये हुन थालेको छ साथै यातायात, पिउने पानी, बाटोघाटो, विद्यालय, अस्पताल लगायतका अन्य सेवा सुविधाको पहुँच पुगिसकेको छ ।
हाल हाम्रो गाउँ रमाइलो बस्ती साच्चिकै नाम अनुसार कै रमाइलो हँुदै गएको भान हुन्छ । आफ्नो गाउँ ठाउँमा बिकासले यसरी गति लिएको देख्दा कस्को मन खुशीले गदगद नहोला र ?

बिगतमा हामीले जतिसुकै सार्हो गार्हो अवस्था झेल्दै आए तापनि बर्तमान अवस्थामा त्यसै ठाँउमा कालोपत्रे सडकमा सर्रर मोटर गुडेको, वरिपरि बक्लिदै गएको बस्ती, आधुनिक घरहरु, कलकारखाना, खेल मैदान, चारैतिर हरियाली रुखबोट बिरुवाहरुले ढकमक्क भएको देख्दा, त्यो नयाँ पुलमा (फुलमती) जसमाथि मानिसहरु सजिलोसँग हिड्डुल गरेको अनि सवारीका साधन पनि उत्तिकै दगुरीरहेको देख्दा मन प्रफुल्ल हुनु स्वभाबिक कुरा हो । यस्ता दृश्यहरु एकपछि अर्को मेरो नजरले कैद गर्दै थियो जस्तो कि, निर्माण हुँदै गरेको अर्जुनधारा रंगशाला (खेल मैदान), सञ्चालनमा आइसकेको बिल्डकन ईण्डस्ट्रीज जहाँ केही स्थानीयहरुले रोजगारिको अवसर समेत पाएका छन्, फराकिलो बन्दै गरेको बाटोहरु कतै–कतै त कालोपत्रे नै भईसकेको सडकहरु देख्दा विकास हुनलाई समय लाग्दो रहेन छ भन्ने कुराको शंका नै रहेन ।

शनिश्चरे बजारबाट नजिकै अर्जुनधारा नगरपालिका –७ स्थिति रमाइलो बस्ती जाने बाटो हुँदै फुलमती खोलाको पुल र बिल्डकन ईण्डस्ट्रीजको बिच सडक खण्डमा निर्माण भैरहेको यलम्बर टाइम्स साप्ताहिकको कार्यलय रहने भवनलाई पनि हामी त्यस क्षेत्रको एउटा उज्यालो ज्योतिको रुपमा लिन सक्छौ ।

यस यलम्बर टाइम्सले बिगत १३ बर्षदेखि हाम्रै समिप्यको अर्जुनधारा–८ स्थित शनिश्चरे बजार परिसरमा रहेर सञ्चार जगतमा सेवा पुर्याउदै आएको कुरा हामीमाझ अवगत नै छ ।

हामीलाई हाम्रै नगर परिसर लगायत अन्य विभिन्न ठाउँमा घटेका विविध घटनाहरुलाई ताजा ताजै समाचारको माध्यमबाट पस्किने यस यलम्बर टाइम्स हाम्रो नगरको अति नै छिटो छरितो तथा सत्यतत्य तरिकाले समाचार सम्प्रेषण गर्ने एक सशक्त माध्यमको रुपमा चिनिएको छ । जसकारण यसको निर्माण तथा विस्तार गर्न हामी सबैले काधमा काध साथमा, साथ मिलानु पर्दछ ।

हामी सम्पूर्ण नगरबासीको माया तथा हौसलाले आगामी दिनहरुमा यस साप्ताहिको अझै उन्नति प्रगति हुँदै जाने कुरामा दुइमत छैन । हाल अर्जुनधारा–७ स्थिति रमाइलो बस्तीमा निर्माण भइरहेको भवनलाई हाम्रो ठाँउको विकासको इटामा इटा थप्ने एक उदाहरणको रुपमा लिदै यस यलम्बर टाइम्स साप्ताहिकलाई यस ठाँउमा हार्दिक स्वागत गर्दै उत्तरोत्तर प्रगतिको शुभकामना दिन चाहन्छु ।

जानुका ढुंगाना