संस्कार संस्कृति र लोकबाजाको संरक्षण गर्न मुकारुङ्गको आग्रह « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

संस्कार संस्कृति र लोकबाजाको संरक्षण गर्न मुकारुङ्गको आग्रह


यलम्वर टाइम्स
१९ माघ २०७७, सोमबार ११:५१

बिर्तामोड । बरिष्ठ गीतकार, संगीतकार, गायक तथा लोक साहित्य, संगीत, कला संस्कृति अन्वेषक (अनुसन्धान कर्ता) बुलु मुकारुङ्गले लोक साहित्य, संगीत, कला, संस्कृति, लोकबाजाको संरक्षण, सम्वद्र्धन गर्न एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

साहित्य चौतारी बिर्तामोड झापाले आयोजना गरेको कार्यक्रममा बरिष्ठ गीतकार, संगीतकार, गायक मुकारुङ्गले मौलिक संस्कृतिभन्दा पाश्चात्य संस्कृतिमा रमाउने गर्दा पछिल्लो समय लोक साहित्य, संगीत, कला, संस्कृति, लोकबाजा लोप हुने क्रम बढ्दो रहेकोले त्यसको संरक्षण, सम्वद्र्धन गर्न एकजुट हुनुपर्नेमा जोड दिएका हुन् ।

नेपालका बिविध जातजाति, धर्म, संस्कृति, संस्कार, चाडपर्व नै नेपालको पहिचान र सम्पत्ति भएकाले त्यससँग जोडिएका साहित्य, संगीत, कला, संस्कृति, लोकबाजाहरुको बिशेष महत्व रहेकाले त्यसको संरक्षण सम्वद्र्धन गर्न आफू लागीपरेको बताउँदै उनले लोकबाजाहरुबारे सोधखोज गरी पुस्तक नै प्रकाशन गर्ने लक्ष्यका साथ अभियानमा आफू जुटेको जानकारी दिए ।

सबै जातजातिको भाषा, धर्म, संस्कार, संस्कृति ,लोकबाजाहरुको संरक्षण र सम्बद्र्धन गर्नेतर्फ नलागेमा पुरै लोप हुने प्रति उनले सचेत गराउँदै उनले साहित्य चौतारी बिर्तामोड झापाले साहित्य, कला, संगीतको क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गरे ।

कार्यक्रममा साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठले बरिष्ठ गीतकार, संगीतकार, गायक तथा लोक साहित्य, संगीत, कला संस्कृति अन्वेषक (अनुसन्धान कर्ता) बुलु मुकारुङ्गलाई स्वागत सम्मान गर्दै संस्थाले गरेको गतिविधीबारे जानकारी गराएका थिए ।

साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष हस्त परियारको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार शिवशंकर थापा, कोषाध्यक्ष भवानी गौतम, सदस्य टीका भट्टराई नेपाल, पूर्व उपाध्यक्ष कृष्ण योञ्जन, चलचित्र निर्देशक दिनेशराज ढुंगाना, गायकहरु युवराज पोर्तेल, मनिका चुडाल लगायतले जिज्ञासा राखेका थिए ।

कार्यक्रमको सञ्चालन साहित्य चौतारी बिर्तामोड झापाकी सदस्य सुनिता तामाङले गरेकी थिइन् ।