बीमा सेवाले धानेको शनिश्चरे अस्पताल « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

बीमा सेवाले धानेको शनिश्चरे अस्पताल


यलम्वर टाइम्स
१७ माघ २०७७, शनिबार ०९:१९

अर्जुनधारा / अर्जुनधारा–९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई अर्जुनधारा नगरपालिकाले शनिश्चरे अस्पतालको रुपमा रुपान्तरण गरेपछि बीमाबाट सेवा लिनेहरुको संख्या ह्वात्तै बढेको छ ।

बीमाबाट उपचार सेवा लिनेहरु दक्षिण इलाम र छिमेकी पालिकाहरुबाट समेत आउने गरेको पाइन्छ । अस्पतालमा तीन जना डाक्टरसहित ३९ जना सेवा प्रदायक कर्मचारी भएकोले बीमाबाटै उपचार लिनेहरुको संख्या बढेको अस्पतालमा कार्यरत कर्मचारीहरु बताउँछन् ।

प्राथमिक उपचार सेवा केन्द्र हुँदा प्रेसर, सुगर, थाइराइड लगायत ३८ प्रकारको औषधी प्रदान गरिन्थ्यो भने बीमा सुरु भएपछि अधिकांश मानिस सचेत भएर स्वास्थ्य बीमा बनाउँदै सेवा लिन आउनेहरुको संख्या बढी भएको कारण निःशुल्क औषधी सेवा लिनेहरुको संख्या कम हुँदै गएको अस्पतालका कर्मचारीहरुले जानकारी दिए ।

अस्पताल प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले असोज ७ गते उद्घाटन गरेका थिए ।

अस्पताल उद्घाटन भए पनि संघीय सरकारमा दर्ता हुन नसकेको कारण अस्पतालबाट प्रदान गरिने निःशुल्कका औषधीहरु भने जस्तो दिन नसकेको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले बताए ।

धेरै औषधी निःशुल्क दिने स्टोक भए पनि केही औषधी नभएकै कारण यही हप्ताभित्र अस्पतालमा औषधी खरिद गरि ल्याउने काम भएको प्रमुख बस्नेतले जानकारी दिए ।

२५ शैयाको बेड क्षमता भएको अस्पताल भए पनि बेडमा राखेर सेवा दिन सक्ने अवस्था अझै नरहेको नाम नभन्ने शर्तमा अस्पतालका एक कर्मचारीले बताए । सेवा प्रदानमा कर्मचारीको अभावका कारण सेवा दिन नसकिरहेको अवस्था छ ।

अस्पतालका एक सुरक्षाकर्मी सामान्य रोगबाट थलिदा यसबाट सेवा प्रदान गर्न सक्दा शनिश्चरेकै एक अस्पतालमा गएर उपचार गर्नुपरेको अवस्थाले कर्मचारी अभाव रहेको प्रष्ट जनाउछ ।

तर, स्वास्थ्य प्रमुख बस्नेत भन्छन्, ‘शनिश्चरे अस्पताल नाम भए पनि त्यहाँ रहेका स्वास्थ्यकर्मीहरुको काम गर्ने इच्छाशक्ति कम भएको कारण अस्पतालमा बेड हुँदाहुँदै बाहिर बसेर उपचार गनुपर्ने बाध्यता देखिएको हो ।’

अस्पतालमा स्टाफ नर्स २, डाक्टर ३, एचए ५, सिनियर अहेव २, अहेव ५ लगायत ३८ कर्मचारीहरु रहेका छन् । ती कर्मचारीबाटै रुटिङ मिलाएर अस्पतालमै राखेर सेवा प्रदान गर्ने नीति रहेको हुँदा स्वास्थ्य प्रमुखमार्फत ति कार्य गरिनुपर्ने हो तर, त्यो हुन नसकिरहेको अस्पतालका अध्यक्ष तथा वडा नं. ९ का वडाध्यक्ष पुष्प प्रसाईले प्रतिक्रिया दिए ।

अध्यक्ष प्रसाईका अनुसार अर्जुनधाराबासीहरुका लागि निःशुल्क प्रदान गरिने औषधी खरिदका लागि बजेट भए पनि यो वर्ष ७ महिना बितिसक्दा पनि औषधी खरिद हुन सकिरहेको छैन ।

गत वर्ष पनि असारमा औषधी खरिद गर्नुपर्ने बाध्यता आइपर्यो, यी सबै कुरा ढिलासुस्ती किन भइरहेको छ ? हामी वडाध्यक्षहरुले गम्भीर चासोको रुपमा लिएका छौं, अध्यक्ष प्रसाईले भने ।

शनिश्चरे अस्पतालको नाममा सेवा प्रदान गर्न थालेपछि ०७७ साउनदेखि माघ पहिलो हप्तासम्ममा ४४ हजार ८७० बिरामीहरुले सेवा लिएका छन् ।

त्यसभित्र ३ तीन हजार २२४ ले भिडियो एक्स–रे, २ हजार ४४१ ले एक्स–रे, एक हजारले आँखा, ८ सयले ईसीजी, २२५ जनाले थाइराइड र ६१ जनाले वर्थिङ सेवा लिइसकेका छन् ।

अस्पतालामा भिडियो एक्स–रे मेसिन २, एक्स–रे मेसिन एक, थाइराइडको मेसिन एक, ईसीजी मेसिन ३ वटा र सीबीसी परीक्षणका लागि पनि प्रशस्त आवश्यक सामग्री रहेको स्वास्थ्य प्रमुख बस्नेतले जानकारी दिए ।