नेताहरुमा राजनीतिक इमान्दारिता नहुँदा नागरिकले दुःख पाएः जनमुक्ति « Yalambar Times
६ बैशाख २०८१, बिहीबार

नेताहरुमा राजनीतिक इमान्दारिता नहुँदा नागरिकले दुःख पाएः जनमुक्ति


यलम्वर टाइम्स
६ माघ २०७७, मंगलवार १२:२६

अर्जुनधारा । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सचिव बलदीप चाम्लिङ राईले ठूला राजनीतिक दलका नेताहरुमा राजनीतिक इमान्दारिता नहुँदा नागरिकले पाइरहेको बताएका छन् ।

पार्टीको ३० औं स्थापना दिवसको अवसरमा सालबारी स्थित किरात राई यायोक्खाको साकेला थान परिषरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै केन्द्रीय सचिव राईले सत्तासिन दलका नेताहरु जनताको हितका लागि नभई व्यक्तिगत हितका लागि तछाडमछाड गरेको आरोप लगाए ।

उनले सडक आन्दोलनमा रहेका नेकपा दाहाल–नेपाल समूहले गर्दै आएको आन्दोलन केवल कुर्सीका लागि मात्र भएको बताए ।

‘नेकपा दाहाल–नेपाल समूहसँगै अन्य दलहरुले पनि आन्दोलन गरिरहनुभएको छ, यो आन्दोलन जनताको हितमा नभई कुर्सीको लागि मात्र हो’ सचिव राईले भने, ‘बरु यो आन्दोलन एकात्मक जातिवादीको रुपमा रहेको संविधानको संशोधनका लागि हुनुपर्ने थियो ।’

उनले नेकपा सरकारको बेला मुलुकमा भ्रष्टाचारसँगै बेतिथि मौलाएको भन्दै अब मुलुकको समृद्धि र विकासका लागि राष्ट्रिय जनमुक्तिमा लाग्नुपर्ने बताए ।

उनले अन्य दलले खाली रोटीको मात्र कुरा गर्ने र त्यो पनि पुरा नगरेको बताउँदै राष्ट्रिय जनमुक्ति पार्टीले रोटीसँगै जनताको अधिकार र विकासका लागि काम गर्ने बताए ।

पार्टीको नगर कार्यालयमा ३० वटा दीप प्रज्वलन गर्दै स्थापना दिवसको उद्घाटन गरिएको थियो भने सालबारी स्थित साकेला थान परिसरमा अन्तरक्रिया गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय उपाध्यक्ष मीना पन्धाक रहेकी थिइन् । कार्यक्रममा किरात लिम्बूवान–खम्बूवान परिचालन समिति प्रदेश नं. १ अध्यक्ष पर्शुराम मगर, उपाध्यक्ष तिलसिंह माङ्मु, सचिव कृष्णकुमार थेवे, जनमुक्ति नेता दुर्गाबहादुर कटुवाल, भरतसिंह राई, झलक याम्फू लगायतको आतिथ्य रहेको थियो ।

नगर अध्यक्ष राज खम्बूको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष तेजबहादुर योङहाङले स्वागतसँगै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रमका सञ्चालन सल्लाहकार क्या. शिवकुमार राईले गरेका थिए । पार्टीले अन्तरक्रियासँगै वनभोज कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो ।

सोही अवसरमा २२ जना पार्टी प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई केन्द्रीय सचिव बलदीप चाम्लिङ राई, केन्द्रीय उपाध्यक्ष मीना पन्धक लगायतका नेताहरुले अविर लगाएर स्वागत गरेका थिए ।