स्वास्थ्य केन्द्रबाट सेवा प्रवाहमा ढिलासुस्ती: सरोकारवाला « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

स्वास्थ्य केन्द्रबाट सेवा प्रवाहमा ढिलासुस्ती: सरोकारवाला


यलम्वर टाइम्स
२८ पुष २०७७, मंगलवार १२:२६

बुधबारे । सरकारी स्वास्थ्य केन्द्रबाट प्रवाह हुने सेवामा ढिलासुस्ती हुने गरेको सरोकारवालाहरुले बताएका छन् ।

मंगलवार बुधवारेमा मानव अधिकार समूह बुद्धशान्तिको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय विराटनगरको सहयोगमा ‘स्वास्थ्यको अधिकार सम्वन्धि सरोकारवालाहरु विचको एक दिने अन्तरक्रिया कार्यक्रम’ मा सहभागीहरुले सरकारी स्वास्थ्य केन्द्रवाट प्रदान गरिने सेवा ढिलो हुने गरेको गुनासो गरे ।

बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखाले गाउँवासीका निम्ती स्वास्थ्यका विभिन्न प्याकेज ल्याए पनि सेवाग्राहीले थाहा नपाउने गरेको सहभागिहरुको भनाई छ ।

गाउँपालिकाको ७ वटै वडामा एक स्वास्थ्य चौकी सहित प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन गरिएको छ । सामान्य बिरामी हुँदा बुधवारे, चारआली, बिर्तामोड जाने झन्झटबाट मुक्ति पाउन स्थानीयलाई सहज उपचार गर्न सहयोगी बनेको छ ।

तर स्थानीयको सरकारी स्वास्थ्य संस्थामा विश्वास नहुँदा नीजि अस्पतालमा जानेको संख्या उच्च रहेको छ । अन्तरक्रिया कार्यक्रममा बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भोला अधिकारीले सहभागिले उठाएका प्रश्नको जवाफ दिए ।

बुद्धशान्ति गाउँपालिकाले स्वास्थ्यको पहुँच सबैमा पुर्याउने उद्देश्यले ५ वेडको स्वीकृत लिई विशेषज्ञ चिकित्सक सहित बुद्धशान्ति अस्पताल सञ्चालनमा ल्याए पनि बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मात्र सेवा प्रवाह गर्दै आएको छ ।

तर, गाउँपालिकाले ठूलो लगानी गरी सञ्चालनमा ल्याएको अस्पताल आठ घण्टा मात्र खुला रहँदा स्थानीय अन्यन्त्र जान बाध्य भएको सरोकारवालाहरु बताउँछन् ।

सरकारी स्वास्थ्य संस्था आठ घण्ठा मात्र खुल्दा सेवाग्राही मारमा पर्ने गरेको सहभागि पत्रकार रोशन भट्टराईले बताए ।

उनले उठाएको प्रश्नको जवाफ दिँदै स्वास्थ्य प्रमुख अधिकारीले स्वास्थ्य जनशक्ति र भवन अभावका कारण पुरा सेवा दिन नसकेको बताए ।

उनले भने, ‘अस्पतालका लागि आवश्यक जग्गा भेटियो अब १० वेडको स्वीकृती लिई बर्थिङ सेन्टरसहितको भवन निर्माण गरी २४ सै घण्टा सेवा प्रवाह गर्नेछौ ।’

कार्यक्रममा दृष्टिविहिन नरेन्द्र मेन्याड्वो, शान्ति अपाड्ग संघका अध्यक्ष सावित्रा ढुड्गेल, खगेन्द्र आचार्य, बालकृष्ण पौड्याल, ज्ञानु थापा, गीतादेवी विष्ट लगायतले स्वास्थ्य केन्द्रले प्रवाह गर्ने गरेको सेवाको विषयमा आ–आफ्नो जिज्ञासा राखेका थिए ।

उनीहरुले राखेका जिज्ञासाका बारेमा गाउँपालिका स्वास्थ्य प्रमुख अधिकारीले स्वास्थ्य क्षेत्रमा भएका कमिकमजोरी सुधार गरेर जाने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बोल्दै प्रमुख अधिकारीले स्वास्थ्य केन्द्रबाट प्रवाह हुने सेवालाई उपचारात्मक ढंगले अगाडी बढाउने बताए । बुद्धशान्ति अस्पतालमा आउने जटिल बिरामीलाई भरपर्दो स्वास्थ्य संस्था रेफर गर्ने गरेको बताए ।

यससँगै स्वास्थ्य विमा गरेका सेवाग्राहीलाई बुद्धशान्ति अस्पतालबाट निःशूल्क औषधि उपचार गर्ने गरेको बताए ।

यससँगै बुद्धशान्तिबासीको स्वास्थ्यबारे गाउँपालिका गम्भिर रहेको भन्दै यहाँबाट प्रदान गरिने सेवा चुस्त र भरपर्दो बनाउन लागि पर्ने बताए ।

उनले गाउँपालिकाभित्र ९२ जना कोरोना सक्रमित भएको र ३ जनाको ज्यान गए पनि बाँकी ८९ जना रोगलाई जितेर निको भएको समेत जानकारी दिए ।

भौगोलिक हिसाबले विकट मानिएको बुद्धशान्ति गाउँपालिकाका स्वास्थ्य संस्थामा २७ जना स्वास्थ्यकर्मी खटिएको उनले जनाए ।

गाउँपालिकाको स्वास्थ्य केन्द्रबाट सुत्केरी महिला, जेष्ठ नागरिक, विपन्न, अतिविपन्न विरामीहरुको निःशूल्क उपचार र औषधि वितरण भइरहेको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले हाललाई ३८ प्रकारको औषधिमात्र वितरण गर्ने स्वीकृति दिए पनि आगामी दिनमा ७० प्रकारकै औषधि निःशूल्क वितरण गरिने उनले बताए ।

मानव अधिकारको मुल्य र मान्यतालाई स्थापित गराउने उद्देश्यले स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन सो कार्यक्रमको आयोजना गरिएको हो ।

मानव अधिकार समूह बुद्धशान्तिका अध्यक्ष देवकुमारी सेर्माको अध्यक्षतामा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।