हराएको त्यो फोटो…

 

आज अतितको चिहान कोट्याएर त्यसमा रहेको अस्थिरपञ्जर केलाउन मन लागेर आयो । आफ्नो गहरुङ्गो दुई पाइला जबर्जस्ती चालेर अगाडि रहेको ऐनाको छेऊमा उभिएँ । औलाले आफ्नो गाला मुसारे । आँखाको लोती तानेर हेरें । सबै तन्दुरुस्त देख्छु । आँखा धुमिल भएर हो या मेरो शरीरको बनावट बिग्रीएर हो केही अनौठो देख्दैछु ।

दुवै हातले आफ्नो शरीर छामे । सबै सही लाग्छ । स्पर्शमा र हेराईमा धेरै अन्तर लाग्यो । कपाल छामे, सदाझै लाग्यो । कान छामे उस्तै छ । विश्वास नलागेर फेरि शरीर छामे, उस्तै छ । विश्वास के को गरौं । सायद मेरो हेराई नै परिवर्तन भए जस्तो लाग्यो । कि ऐनाले मलाई झुक्याइ रहेछ ? तर मलाई झुक्याउँदा त्यसलाई के फाइदा ? अनायासै भित्तामा नजर पुग्यो । केही पुराना र नयाँ फोटोहरु झुण्डिएको थियो । नियालेर हेरें । केही त परिवर्तन भएको रहेछ । उमेर अनुसार परिवर्तन भएको देखे । परिवर्तन हुनु पनि स्वाभाविक नै हो । कुनैमा आँखा नशालु देखे, कुनैमा आँखा केही मधुरो र कलेरी परेको देखें । नाक त जस्ताको त्यस्तै रहेछ । नाकको छेउमा सानो कालो कोठी । पहिलाको फोटोमा र अहिलेको फोटोमा कालो कोठी त जस्ताको त्यस्तै रहेछ । समयअनुसार कोठी परिवर्तन भएन रहेछ ।

एक दिन उसले भनेकी थिई, ‘तपाईको फोटो दिनुन’ । त्यसबेला न फोन न त मोवाईल । कुरा गर्नुपरे आमने–सामने मैले पनि ‘हुन्छ मेरो एक्लो फोटो छैन खिचेर दिन्छु ल’ भने । उसले हुन्छ भनेर मुन्टो हल्लाई मात्र । त्यो समय, किशोर अवस्था । कुनै युवती छेउमा आएर बोल्दा पनि लाज लागेर आउँथ्यो । थाहै भएन कतिबेला कहाँ कसरी उनीसँग आँखा जुधेको थियो । न साइकल न गाडी । आवत–जावत त्यति हुन्थ्येन । चिठ्ठी लेख्नुमात्र एक उपाय थियो । चिठ्ठी लेख्नु त ठिकै हो तर पुर्याई दिने को ? अझै धेरै टाढा हुँदा त झन समस्या । काँधमा क्यामेरा भिरेर दिनभर गाउँ घुम्ने फोटोग्राफरहरुलाई बोलाएर आफूले आफैलाई मज्जाले सजाएर फोटो खिचाउन लगाएँ । कस्तो आयो ? अहिलेको जस्तो डिजिटल क्यामेरामा खिचेको जस्तो हेर्न नमिल्ने । एक पटक फोटो खिच्यो त्यसको एक हप्तापछिमात्र फोटो धुलाएर आउने । मनमा खुल्दुलीले डेरा जमायो । कस्तो आउने हो ? उसले मन पराउला कि नपराउला ? गोरो आयो कि कालो ? मोटो आयो कि दुब्लो ? राम्रो आयो की नराम्रो ? यस्ता प्रश्नले एक हप्ता मथिङ्गल हल्लाई रह्यो ।
एक हप्तापछि फोटो आयो । कौतुहल साथ फोटो लिएर हेरें, ठीकठीकै आएछ । किशोर अवस्था केही मोटो मोटो तर केही कालो पो देखिदो रहेछु । मलाई त आफ्नै फोटो त्यति मन परेन । तर मलाईमात्र मन नपरेर के भयो र ? साथीहरुले फोटो हेरेर ‘क्या दामी आएछ’ भनिदिएको मत फुरुङ्ग ।

फोटो त खिचाएर प्राप्त गरियो तर, समस्या पठाउने कसरी ? कोही आउने जाने मान्छे भए पो हात लगाई दिनु । त्यो फोटो धेरै दिनसम्म त्यतिकै रहिरह्यो । आफू आफ्नै काममा व्यस्त भइयो । कार्य व्यस्ततामा रहँदा माया प्रेम त गौण हुँदो रहेछ । केवल आफ्नो कर्ममा व्यस्त । उताबाट एक दुई शब्द प्रेमको आउँदा पो आफूलाई पनि कौतुहल हुन्छ । तर, त्यो सबैमा पूर्णबिराम लागिसकेको थियो । न उ आउन सक्ने न त म त्यता जान सक्ने । त्यसबेला इलाम भनेको मेरो कल्पनाभन्दा धेरै टाढाको ठाउँ पथ्र्यो ।

यसरी नै दिनहरु बितिरह्यो । समय बित्नु न मेरो बसमा थियो न त मलाई सोधेर नै समय बित्थ्यो । त्यसैले समय बित्नु थियो बित्यो । किशोर अवस्थाबाट अहिले प्रौढ उमेरको भइयो । उनी कहाँ छिन् अहिलेसम्म थाहा छैन । सोध्ने कसलाई ? त्यो फोटो पनि कता हरायो पत्तै भएन । पठाउन पनि पाइएन । राखेको त घरैमा हो, तर कुन कुनामा धन्किएको छ । बा पानी र चिसोले सबै मेटियो होला भनेर खोजबिन पनि गरिएन । धेरै बेर भित्ताका फोटोहरु निहारीरहें । त्यो बेलादेखिको यो बेलासम्मको फोटो हेरें । केही त परिवर्तन भएकै रहेछ । कतै कपाल पालेको, कतै छोटो कपालमा । कतै कतै त दाह्री पनि पलाएको रहेछ । कुनै बिहेको फोटो, कुनै पिकनिकको फोटो कुनै श्रीमतीसँग बसेको त कुनै साथीहरुसँग रमाइलो गरेको फाटो । अतितका रमाइला क्षणहरुको सम्झना आयो । दिन यति चाँडो बितेछ नउम्रेको जुँगाको रेखीबाट दाह्री फुलेकोसम्म फोटो खिचाउन भ्याइएछ । केही बेरमा एउटा फोटो उठाएर नजिकबाट हेर्न मन लागेर आयो । फोटो उठाउन लागेको, अर्का छेउको फोटो भुँईमा झर्यो र सीसा फुट्यो । ‘ओहो ! बर्बाद भयो’ भनेर निहुरिएर फोटो र सीसा अनि सीसा फुटेर खाली भएको फ्रेम उठाउन थाले । अचानक त्यो फोटोको पछाडी पट्टी अर्को फोटो देखें । अनि फुत्त निकालेर हेरेको त्यही हराएको फोटो रहेछ । म आश्चर्य चकित भएँ । नियालेर हेरें, त्यही फोटो रहेछ । त्यहाँ रहेको फोटोभन्दा केही अलग्गै लाग्यो ।

हातले त्यसमा भएको धुलो पुछें । अरु फोटोभन्दा केही धेरै माया लागेर आयो । किनकी अरु फोटोहरु स्वतःस्फुर्त खिचिएका थिए । तर, त्यो फोटो भने कसैको अनुरोधमा केही सजिएर खिचिएको थियो । त्यही भएर होला अरु फोटोभन्दा केही अपनत्व बढेर आएको । भुँईमा छरिएको सीसा उठाएर फ्याँले र त्यो फोटो निकै बेर हेरेपछि छेउमा राखेको बक्सा उघारेर राखे । किनकी त्यतिका वर्ष हराएको फोटो फेरि पनि नहराओस् भन्ने मेरो सोचाईले त्यो गर्न बाध्य बनायो ।

त्यसैले आज अतितको चिहान कोट्याउन खोज्दा सिङ्गो अस्थिरपञ्जर भएको पुरानो यादहरुसँगै हराएको फोटो पनि भेटियो । लाग्छ, त्यो अस्थिरपञ्जरमा हिजोको त्यो याद अझै रहिरहने छ । र आउने दिनहरुमा पनि सायद त्यो यादले केही मन चञ्चल अनि भावुक बनाउला । त्यो समयले नै बताउने छ ।

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd