जातिको महलमा राई लेखौंः यायोक्खा « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

जातिको महलमा राई लेखौंः यायोक्खा


यलम्वर टाइम्स
२० पुष २०७७, सोमबार १०:०५

अर्जुनधारा । किरात राई यायोक्खाले आगामी वर्ष हुन लागेको १२ औं राष्ट्रिय जनगणनामा जात÷जातिको महलमा राई लेख्न अनुरोध गर्दै गाउँ–गाउँमा अभियान सञ्चालन गर्ने भएको छ ।

शुक्रबार किरात राई यायोक्खा अर्जुनधारा नगर समितिले शनिश्चरेमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै २०७८ साल जेठ र असारमा हुने भनिएको राष्ट्रिय जनगणनामा अर्जुनधाराका सम्पूर्ण राई समूदायलाई सक्रिय र अनिवार्य रुपमा सहभागि गराउन अभियान सञ्चालन गर्ने भएको यायोक्खा अर्जुनधाराका उपाध्यक्ष क्या. शिवकुमार राईले बताए ।

राष्ट्रिय जनगणनाको तथ्याङ्कले आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिकमा प्रभाव पार्ने भएको बताउँदै केन्द्रको पनि सोही निर्देशन रहेको उनले जनाए ।

छलफल तथा अन्तरक्रिया कार्यक्रममा जात÷जातिको महलमा राई, पूर्खाको भाषाको महलमा आफ्नो थरगत भाषा, मातृभाषाको महलमा आफ्नो थरगत भाषा र दोस्रो भाषाको महलमा नजिकको कुनै एक राई भाषा वा किरातीहरुको कुनै एक भाषा र धर्मको महलमा किरात लेख्न सबै राई बन्धुहरुलाई आग्रह गरिएको थियो ।

समिति उपाध्यक्ष जमुना राईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि यायोक्खा क्षेत्र नं. २ संयोजक चिजा राई रहेकी थिइन् ।

कार्यक्रममा जिल्ला सदस्य अर्जुनकुमार राई, समन्ता साम्पाङ राई, रामप्रसाद वान्तावा राई लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सहजीकरण क्या. शिवकुमार राईले गरेका थिए ।

यस वर्ष यले सम्वत ५०८१ भव्य नमनाउने

किरात राई यायोक्खा अर्जुनधारा नगर समितिले किरातीहको नयाँ वर्ष यले दोङ ५०८१ भव्य रुपमा नमनाउने भएको छ ।

कोरोना प्रकोपले जनजीवनमा असर पारिरहेको हुँदा यस्तो निष्कर्ष निकालेको सचिव सरीता राईले यलम्वर टाइम्सलाई जानकारी दिइन् ।

किरातीहरुको यलम्वर सम्वत माघ १ गतेबाट सुरु हुने गर्छ । विगतका वर्षहरुमा यायोक्खाले विविध सांस्कृतिक कार्यक्रमहरुसहित परम्परागत खानपानसँगै परम्परागत खेल अन्तर्गत बाघ चाल, छेलो, डण्डीबियो, थलामारी लगायतका खेलहरुको आयोजना गर्दै मनाउँदै आएको थियो ।

यस वर्ष भने कार्यसमितिका पदाधिकारीहरु मात्र भेला भई यायोक्खा भवन अगाडि रहेको यलम्वर हाङको प्रतिमामा माल्यार्पण गर्दै साधारण रुपमा यलम्वर सम्वत मनाउन लागिएको सचिव राईले बताइन् ।