आन्तरिक पर्यटकलाई लक्षित गर्दै बुद्धशान्तिमा होमस्टे « Yalambar Times
८ बैशाख २०८१, शनिबार

आन्तरिक पर्यटकलाई लक्षित गर्दै बुद्धशान्तिमा होमस्टे


यलम्वर टाइम्स
१६ पुष २०७७, बिहीबार १०:०६

[दिपेन लावती]

बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिका–२ मा चन्द्र विष्णु होमस्टे सञ्चालनमा आएको छ । बुधबारे चौकबाट जयपुर जाने सडक–खण्डबाट १ किलोमिटर पश्चिम दक्षिणमा अवस्थित सो होमस्टे सुन्दर शान्त वातावरणमा रहेको छ ।

सामाजिक तथा युवा व्यक्तित्व संजिल प्रसाईले सञ्चालनमा ल्याएको होमस्टे काठमाडौंका आगन्तुकलाई लक्षित गरी खोलिएको उनले बताए ।

काठमाडौंबाट झापा हुँदै इलाम, पाँचथर, ताप्लेजुड जाने पर्यटकलाई बिसाउने चौतारीको रुपमा होमस्टे सञ्चालनमा आएको उनले बताए ।

मेची राजमार्गबाट अलि टाढा रहेकाले शान्त र पारिवारिक वातावरण मन पराउने पाहुनाका लागि उपयुक्त हुनेछ ।

काठमाडौंबाट ताप्लेजुडको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने तीर्थालुले एक दिन यहाँ बस्ने र भोली पल्ट ताप्लेजुड पठाउने र त्यहाँ बस्ने समेत व्यवस्था यहाँबाटै मिलाइ दिने सञ्चालक प्रसाईले जानकारी दिए ।

आफ्नो हजुरबुवा र हजुरआमाको नाममा सञ्चालनमा आएको होमस्टेमा करिब ८० लाख रुपैयाँ लगानी गरिएको सञ्चालक प्रसाईले जानकारी दिए ।

हेर्दा चिटिक्क र आकर्षण ढंगले सिंगारिएको होमस्टे तेजपत्ता र दालचिनीको रुखलाई समेटेर ट्रि हाउस बनाइएको छ । यसका साथै मिनी माउण्टेन, धराहरा, वाटरफल, शिवलिंग लगायत वरिपरी हेरिरहुँ जस्तो आकर्षक ढंगले रंगाइएको छ ।

विभिन्न म्युजिक भिडियो र चलचित्रको छायाड्कन गर्न उपयुक्त स्थानको रुपमा समेत चिनाउने उनको भनाई छ । उनका अनुसार केही म्यूजिक भिडियोको छायांकन समेत गरिएको छ ।

१२ कठ्ठा क्षेत्रमा फैलिएको उक्त होमस्टे परिषरमा आउने आगन्तुकलाई खान बस्नका निम्ती सहुलियत दरमा मेनु व्यवस्था गरिएको छ ।

बुद्धशान्तिमा होटल, होमस्टे, रेष्टुरेन्ट र वार खुल्ने क्रम बढेपछि चन्द्र विष्णु होमस्टे पनि थपिएको छ । पाहुनाको रुची र माग अनुसारको खान खुवाउने होमस्टे परिवारले जनाएको छ ।

यसका साथै होमस्टेमा विषादीरहित खाना खुवाउने व्यवस्था गरिएको सञ्चालक प्रसाईले बताए ।

उनका अनुसार होमस्टे परिषरमा अग्र्यानिक तरकारी खेती र माछा, मासु खानेका लागि पनि बाहिरबाट नल्याई आफ्नै उत्पादन खुवाइने छ ।

होमस्टे सञ्चालक प्रसाइले बुद्धशान्ति भरी खुलेका होटलहरुभन्दा सस्तो दरमा खानाको व्यवस्था गरिएको दावी गरे ।

होमस्टेमा बस्न आउने पाहुनालाई सुविधा सम्पन्न कोठाको व्यवस्था गरिएको छ । हाल तीन वटा कोठा सञ्चालनमा आएको र समूहमा बस्न चाहनेहरुका लागि करिव १० जनासम्म अट्ने कोठाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

यसका साथै विभिन्न सभा समारोह सञ्चालन गर्न सकिने सभाहलको पनि व्यवस्था गरिएको छ । बुद्धशान्ति गाउँपालिकाभित्र विभिन्न पर्यटकीय क्षेत्र रहेकाले देशका विभिन्न स्थानबाट घुम्न आउने र यहाँबाट कतिपय इलाम, पाँचथर हुदै ताप्लेजुड जानेको संख्या बढ्न थालेपछि होटल, रेष्टुरेन्ट ब्यवसायमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ ।