अकरिलो अवस्थामा पनि सहारा नेपाल नाफामै « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

अकरिलो अवस्थामा पनि सहारा नेपाल नाफामै


यलम्वर टाइम्स
२३ मंसिर २०७७, मंगलवार ११:३६

चारपाने । सहारा नेपाल साकोसको २४ औं वार्षिक सभा २७ गते शनिबार हुने भएको छ । कोरोना कहरका कारण भव्य रुपमा नभए पनि प्रतिनिधिमूलक ढंगबाट गर्ने भएको हो ।

उक्त साधारणसभा अनलाईन तथा विभिन्न सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गरिने समेत बताइएको छ ।

मंगलबार सहाराको नयाँ भवनमा पत्रकार सम्मेलन गर्दै २४ औं वार्षिक साधारणसभाको बिस्तृत जानकारी सहाराका प्रबन्धक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

कोरोनाका कारण सहारासँग आवद्ध शेयर सदस्यहरुलाई सहयोग र विभिन्न ब्याज मिनाह गरेको समेत जानकारी दिएका थिए ।

यस्तो अवस्थामा पनि सहाराले २५ करोड ९ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको प्रबन्धक गिरीले जानकारी गराएका थिए ।

उनले २०७७ असार मसान्तसम्ममा एक लाख ४३ हजार ९ सय ८३ जना सदस्य रहेको जानकारी गराउँदै ६ वटा जिल्लामा कार्यक्षेत्र बनाई प्रदेश नं. १ का संस्थाले उत्कृष्ट कार्य गरेको समेत जानकारी दिए ।

संस्थाको वित्तीय अवस्था अत्यन्तै मजबुद रहेको बताउँदै शेयर पूँजी एक अर्ब ३४ करोड ५१ लाख, जगेडा तथा अन्य कोषमा एक अर्ब २१ करोड ५८ लाख, बचततर्फ ६ अर्ब १० करोड ९४ लाख, भौतिक सम्पत्तीतर्फ ३४ करोड ५१ लाख र बाहिर ऋण ९८ करोड ९९ लाख रहेको बताए ।

कोभिडका कारण साँवाको किस्ता तिर्न नसकेको अवस्थामा कुनै पनि हर्जना जरिवाना नलिएको, असार मसान्तसम्म ऋणमा पाकेको ब्याजको १० प्रतिशत ३ करोड ४५ लाख छुट दिएको समेत जानकारी गराए ।

कोभिडकै कारण ५७ लाख ३५ हजार २ सय ५८ विभिन्न पालिकालाई सहयोग गरेको जानकारी गराउँदै कारोबारमा त्यस्तो कुनै कठिनाई नभएको समेत उनले जानकारी गराएका थिए ।

कोभिड सहायता कार्यक्रम अन्तर्गत शेयर सदस्यमा पोजिटिभ देखिए घरमै वडा आइसोलेशनमा बस्नुपर्ने भए दैनिक ५ सय उपलब्ध गराइने समेत बताए ।

प्रबन्धक गिरीले महामारीलाई रोकथाम गर्न र शेयर सदस्यहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै २५ बेडको आइसोलेशन राख्न पहल गर्ने समेत बताए ।

कृषिको हकमा मासुबाट आत्मनिर्भर हुनका लागि विभिन्न फ्रेस सेन्टर र टनेल प्रधान गरेको समेत जानकारी दिए ।

संस्थाका उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत पवित्रा सुब्बाले गरेकी थिइन् भने सहसचिव ज्ञाननाथ मैनालीले उपस्थित सबैलाई धन्यवाद दिएका दिए ।

सहारा पत्रकारिता पुरस्कार मुखियालाई

सहारा नेपाल साकोसले २४औं वार्षिक साधारणसभामा यस वर्ष सहारा पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका झापा सम्वाददाता तथा इक्सा मिडिया ग्रुपका सम्पादक इन्द्रजीत मुखियालाई प्रदान गर्ने भएको छ ।

उक्त पुरस्कार मंसीर २७ गते शनिवारका दिन प्रदान गर्न लागिएको प्रबन्धक महेन्द्र गिरीले जानकारी दिए ।

राशी यकिन नभए पनि उनको योगदानलाई उच्च कदर गर्दै उक्त पुरस्कार मुखियालाई दिन लागिएको बताइएको थियो ।

२५ वर्षअघिबाट नेपाल टेलिभिजनमा समाचारदाताको रुपमा काम गर्दै आएका मुखिया टेलिभिजनबाट उत्कृष्ट सम्वाददाताको रुपमा पुरस्कृत भइसकेका छन् ।

उनी आदिवासी जनजाति पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघ झापाका सहसचिव रहेका छन् ।
टेलिभिजन समाचारमा पोख्त रहेका मुखिया मिजासिल र कुशल भिडियो ग्राफर पनि हुन् ।

यसरी नै संस्थाको रजत महोत्सवको अवसर पारेर सहारा नेपालले राष्ट्रिय व्यक्तित्व २०७६ बाट सहकारीका धरोहर माननीय केशव बढाललाई एक लाख एक हजार राशीसहित पुरस्कारले सम्मान गर्न लागिएको गिरीले जानकारी दिए ।