शहरमा हिंसा विरुद्ध बहस गाउँमा छैन « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

शहरमा हिंसा विरुद्ध बहस गाउँमा छैन


यलम्वर टाइम्स
२१ मंसिर २०७७, आईतवार ०६:१२

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । उक्त अभियान विशेष गरी शहरमुखीसँगै प्रचारमुखी भएका कारण गाउँलाई छुन सकेको छैन । शहर केन्द्रित संघसंस्थाले शहरका होटलहरुमा भव्यरुपमा छलफल र अन्तरक्रिया गरेतापनि त्यसको राप गाउँमा नपर्दा हिंसा विरुद्धको १६ दिने अभियानले गाउँलाई छुन नसकेको हो । विशेष गरी हिंसा गाउँमै हुन्छ । जहाँ अशिक्षित हुन्छन्, जहाँ पुरातनवादी सोच जकडिएको हुन्छ, त्यहाँ हिंसाको जरो गाडिएको पाइन्छ ।

२९औं लैङ्गिक हिंसा विरुद्धको अभियान अखबारतिर छायो तर गाउँ देहातमा रहेका सर्वसाधारण जनतामा ती सन्देश पुग्न सकेन । ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता–व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ राष्टिूय नारा भएतापनि ४ महिना यता ४० भन्दा बढी हिंसा झापामा भएको पाइन्छ । केटाले केटीलाई जिस्क्याउने मात्र हिंसा होइन महिलाले पुरुषलाई गरेको दुव्र्यवहार पनि गाउँघरमा त्यतिकै व्यप्त छ । गाउँघरमा बाबुबाट छोरी बलत्कृत जस्ता जघन्य अपराध पनि यही ४ महिना भित्रै देखिए ।

महिला र पुरुषबिच भएको पीडा हिंसा हो भने पुरुषले विदेशमा आर्जन गरेको सम्पत्ति स्वदेशमा रहेका आफन्तले राम्रो सदुपयोग नगर्ने र आफ्नो खुशी मजमोस्ती गर्ने जस्ता क्रियाकलाप पनि हिंसामै पर्न जान्छ । त्यतिमात्र होइन उमेर पुगेका पाकाहरुलाई घरपरिवारमा गरिने अभद्र व्यवहार पनि हिंसामै पर्छ । यस्ता अनगिन्ति समस्याहरु गाउँमा नै हुने भएको हुँदा शहर केन्द्रित लैङ्गिक हिंसाको बहसले कसरी हिंसा न्यूनिकरण हुन सक्ला त ?

२५ गते समापन हुँदै गरेको अभियान प्रत्येक वडाका टोलटोलमा पु¥याउँन र बहससँगै कानुनी उपचारका कुराहरु दर्शाउन सके अभियानले सार्थकता प्राप्त गर्नमा दुईमत रहदैन थियो । कतिपयलाई कुन अपराधमा कानुनले कस्तो दण्ड सजाय दिन्छ भन्ने कुरा स्पष्ट नभएका कारण ठूलाठालुबाट महिलामाथि भएका दुव्र्यवहार गाउँमा नै मिलाउने गरेको पाइन्छ । त्यसलाई निरुत्साहित पार्न र हिंसा बढ्न नदिन उक्त अभियान टोलटोलमा पु¥याउन स्थानीय सरकार पछि हट्नु हुन्न । बजेट भएर पनि हिंसा विरुद्धको अभियान सञ्चालन नगर्नु भनेको अपराधीक क्रियाकलापलाई मलजल गर्नु हो ।

हिंसा विरुद्धको अभियान जस्ता क्रियाकलापलाई मौनता साधी बस्ने हो भने स्थानीय क्षेत्रमा हिंसा बढ्ने सुनिश्चित देखिन्छ । एकले अर्कालाई पीडा दिनुमात्र हिंसा नभइ नेपालको कानुनलाई कुल्चिएर गरिने अन्य दुव्र्यवहारले स्थानीय सरकारलाई नै पीडा दिने भएको हुँदा विभिन्न संघसंस्थासँग नगरले सहकार्य गरेर प्रत्येक वडाका टोलटोलमा १६ दिने अभियानलाई पु¥याएको खण्डमा हिंसा न्यूनिकरण तर्फ उन्मुख हुन्थ्यो ।