मुख्यमन्त्रीले जनमुक्तिको कुरा सुन्न सकेनन्ः अध्यक्ष पालुङ्वा « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

मुख्यमन्त्रीले जनमुक्तिको कुरा सुन्न सकेनन्ः अध्यक्ष पालुङ्वा


यलम्वर टाइम्स
२० मंसिर २०७७, शनिबार ०३:५४

बिराटनगर । राष्ट्रिय जनमुक्ति पार्टी का अध्यक्ष केपी पालुङ्वाले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जनमुक्तिको कुरा सुन्न आँट नगरेको बताएका छन् ।

विहीबार ज्ञापनपत्र बुझाएपछि गरिएको कोणसभामा अध्यक्ष पालुङ्वाले किरात लिम्बूवान–खम्बूवान एकमात्र प्रदेशको नाम भएको हुँदा यसलाई सहमति गरेर लैजान मुख्यमन्त्री राईलाई आग्रह गरे ।

अध्यक्ष पालुङ्वाले वैकल्पिक शक्तिको रुपमा उभिएको जनमुक्ति र यसले उठाएका विचार नेपाली जनताको भावनासँग मिल्ने भएको हुँदा जनमुक्तिका विचारलाई स्मरण गर्न आग्रह गरे ।

ज्ञापनपत्र बुझाउन गएका पार्टी कार्यकर्तासहितको टोली मुख्यमन्त्रीको कार्यालयमा पुग्दा उनी नभएको कारण उनका सचिव दिनेश उप्रेतीलाई बुझाइएको थियो ।

कोणसभामा पार्टीका केन्द्रीय सचिव बलदीप राईले पहिचानसहितको राज्य निर्माणमा कुनै शक्तिले पनि रोक्न नसक्ने दाबी गरे । मोटरसाईकलको र्यालीसहित बिराटनगर पुगेको टोलीले महेन्द्र चौकमा एक घण्टा कोणसभाको आयोजना गरेको थियो ।

कोणसभामा पार्टी केन्द्रीय सचिव विष्णु थाम्देन, पार्टी केन्द्रीय उपाध्यक्ष प्रकाश येङदेन, महिला नेतृ मीना पन्धाक, संघीयसभा सदस्य शान्तिदेवी राई, राजेन्द्र माखिम, राज खम्बू, युवा संयोजक चित्रहाङ मगर, झापा जिल्ला अध्यक्ष भवनी सेलिङ, लगायतको उपस्थिति रहेको थियो ।

पर्शुराम मगरको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन विष्णु थाम्देनले गरेका थिए ।