सिस्नेमा वडा नं. १ को सिंहदरबार बन्दै « Yalambar Times
६ बैशाख २०८१, बिहीबार

सिस्नेमा वडा नं. १ को सिंहदरबार बन्दै


यलम्वर टाइम्स
२० मंसिर २०७७, शनिबार ०३:२१

सिस्ने । स्थानीय सरकार निर्माण भएसँगै स्थानीयहरुको दरबार पनि जरुरी छ । त्यसको खाति आज शिलान्यास भएको दरबारमा सबैको सहयोग हुन उत्तिकै जरुरी छ ।

विहीबार अर्जुनधारा नगरपालिका वडा नं. १ को भवन शिलान्यास कार्यक्रममा वडाध्यक्ष गजाधर खतिवडाले उत्साहित रुपमा आफ्नो भनाई राखिरहँदा भवन निर्माण समितिका अध्यक्ष नैन अधिकारीले सबै थोकको चाजो मिले ४ महिनामा भवन पूरा गरिदिने प्रतिवद्धता प्रकट गरे ।

अध्यक्ष खतिवडाले सिंहदरबार अब वडामा आइपुगेको छ । उक्त भवन निर्माणका लागि वडा नं. १ का ट्याक्टर व्यवसायीहरुको सहयोग जरुरी रहेको सार्वजनिक रुपमा आव्हान पनि गरे ।

निर्माण समितिका अध्यक्ष नैन अधिकारीले आफ्ना भनाइमा उत्साह त थियो नै नगरपालिकाले पनि भवन निर्माणमा आर्थिक पाटोबाट सक्दो सहयोग हुनुपर्ने भनाई राखे ।

प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ र इन्जीनियर निरज अधिकारी समेत उपस्थित रहेको उद्घाटन कार्यक्रममा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले कामलाई प्राथमिकताका साथ अगाडि बढाउन सुझाव दिए ।

बिहान ८ बजे भवन शिलान्यास सुरु हुने भनेपछि त्यस क्षेत्रका सचेत नागरिक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

करिब ८ बजेर २० मिटेनमा नगर प्रमुख हरिकुमार राना निर्माण स्थलमा उपस्थित भएपछि साधुटारका धर्म गुरु लक्ष्मी खतिवडाले भूमि पूजन गर्न सुरु गरे । करिब ९ बजे भवन निर्माण हुने स्थलको नगर प्रमुख रानाले शिलान्यास गरेका थिए ।

भवन निर्माणका लागि ठूलो छाती र फराकिला मन भएका स्थानीय नरमाया खड्का, छोरा रामबहादुर खड्का र टंक न्यौपाने र हेमबहादुर न्यौपानेले संयुक्त रुपमा ५ कठ्ठा एक धुर जग्गा प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख रानाले जग्गादाताहरुलाई पुष्पमाला अर्पण गरि सम्मान गरेका थिए । उक्त भवन ६१ लाख ९९ हजार ८ सय ४९ रुपैयाँ ९२ पैसामा निर्माण हुने भएको छ ।

कार्यक्रममा आफ्ना भनाई राख्दै नगर प्रमुख रानाले विकास र न्यायिकताका विषयमा आफ्ना धारणा राखेका थिए । उनले अगाडि भने कानून, कार्यविधि र विकास निर्माणका चरणबारे प्रष्ट्याएका थिए ।

शनिश्चरे–खुदुनाबारी सडकका विषयलाई लिएर प्रमुख रानाले अगाडि भने, संघले प्रदेशमार्फत प्रदान गर्नुपर्ने रकम नदिएका कारण बाटो अवरोध भएको जानकारी गराए ।

बुधबारमात्र न्यायधिवक्ता अग्नी खरेल, प्रदेश सांसद बृख प्रधान र आफू स्वयम् खुदुनाबारी–शनिश्चरे खण्डको सडकलाई लिएर मुख्यमन्त्री र अर्थमन्त्रीसँग बस्दा संघले दिनुपर्ने रकम रोकेपछि बाटो निर्माण कार्यमा ढिला भएको जानकारी गराए ।

बाटो निर्माण समितिका ठेकेदार फुर्तेम्बाले डेढ करोड बराबरको काम गरे पनि रकम प्राप्त नभएको कारण रोकेको जानकारी दिएका थिए ।

मुख्यमन्त्रीसँगको भेटमा सडकका विषयमा आफ्ना भनाई राख्दा बाटो निर्माणका लागि संघबाट प्रदेश हुँदै रकम उपलब्ध गराईदिने वचन दिएको समेत रनगर प्रमुख रानाले बताए ।