३ करोड २८ लाखको लागतमा सुखानी खोलामा पुल बन्ने « Yalambar Times
८ बैशाख २०८१, शनिबार

३ करोड २८ लाखको लागतमा सुखानी खोलामा पुल बन्ने


यलम्वर टाइम्स
१० मंसिर २०७७, बुधबार ०८:१०

जुकेखाडी । बर्खाको समयमा वर्षौदेखि बाढीको समस्या भोग्दै आएका जुकेखाडीका बासिन्दाहरुले अब त्यस्तो समस्या भोग्नु नपर्ने भएको छ ।

बर्खाको बेला सुखानी खोलामा बाढी आउँदा जुकेखाडी क्षेत्रका बासिन्दाहरुलाई खुदुनाबारी बजार आउजाउमा समस्या रहे पनि जुकेखाडी र कैदले जोड्ने पक्की पुल बन्ने भएपछि त्यो समस्या नरहने भएको हो ।

बहुवर्षीय योजना अन्तर्गत निर्माण हुन लागेको उक्त पुलको शिलान्यास प्रतिनिधि सभा सदस्य माननीय पवित्रा खरेल निरौला, संविधान सभा सदस्य माननीय प्रेमबहादुर गिरी, प्रदेश सांसद माननीय बृख प्रधान र नगर प्रमुख हरिकुमार रानाले संयुक्त रुपमा गरेका थिए ।

अर्जुनधारा नगरपालिका वडा नं. ३ का अध्यक्ष जीवन भण्डारीको सभापतित्वमा भएको शिलान्यास कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय पवित्रा खरेल निरौलाले दुर्गमतालाई सुगमतातर्फ लैजानु जनप्रतिनिधिको कर्तव्य भएको बताइन् ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी माननीय निरौलाले विकास निर्माणका लागि बजेट विनियोजन गरिन्छ, शिलान्यास गरिन्छ तर समयमा काम सम्पन्न नहुनु पीडादयी भएको बताइन् । उनले तोकिएको समयमै काम सम्पन्न गर्न आग्रह गरिन् ।

कार्यक्रममा बोल्दै माननीय निरौलाले काम राम्रो होस् भन्नका लागि अनुगमन समितिको भूमिका महत्वपूर्ण हुने बताउँदै अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गरिन् । उनले कामलाई परिणाममुखि बनाउन स्थानीय बासिन्दाले पनि घचघच्याउनुपर्ने बताइन् ।

कार्यक्रममा माननीय प्रेमबहादुर गिरी, प्रदेश सांसद माननीय बृख प्रधान, नगर प्रमुख हरिकुमार राना लगायतले बोलेका थिए भने आयोजनाको विषयमा नगरपालिकाका इन्जीनियर निरज अधिकारीले प्रस्ष्ट्याएका थिए ।

३ करोड २८ लाख ४१ हजार ३२२ रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त पुल ७ मिटर चौडाइ र ५० मिटर लम्बाईको हुने इन्जीनियर अधिकारीले जानकारी गराए ।

२ वर्षभित्र आयोजना सम्पन्न गर्ने गरि एल्टि कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङले बताए ।

नगरका योजना अधिकृत हिमराज सेढाईले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङले गरेका थिए ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र अर्जुनधारा नगरपालिकाको साझेदारीमा पुल बन्न लागेको हो ।