तेक्वान्दोको हब बन्दै अर्जुनधारा « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

तेक्वान्दोको हब बन्दै अर्जुनधारा


यलम्वर टाइम्स
८ मंसिर २०७७, सोमबार ११:०९

अर्जुनधारा । एउटा दुब्लो, होचो कदको मान्छे दौडिदै शनिश्चरे माध्यमिक विद्यालयमा आउँछन् र दुईचार युवाहरुलाई तेक्वान्दो सम्बन्धि प्रवचनसँगै यस खेलका विशेषताबारे दर्शाउँदा दर्शाउँदै आज झापा जिल्लाकै नाम उच्च राख्न सफल भएका छन् ।

कुरा २०४९ सालको हो । त्यसबेला शनिश्चरे गाविसको लक्ष्मीपुरबाट गुरु जितेन मेचेले यसरी हामीलाई प्रशिक्षण नदिँदो हो त आज तेक्वान्दो संस्थाको नाम हराएर जाने थियो । आइतबार अर्जुनधाराका तेक्वान्दो खेलाडीहरुलाई डोजाङको प्रमाणपत्र वितरण गर्दै शनिश्चरे तेक्वान्दो डोजाङका प्रशिक्षक तथा जिल्ला सचिव कुमार भट्टराईले स्मरण गर्दै कार्यक्रम सञ्चालन गरे ।

उसबेलाबाट शनिश्चरेमा तेक्वान्दो स्थापना भएपछि आज यस नगरका विभिन्न स्थानमा डोजाङ सञ्चालन हुँदै आएको छ ।

उद्घोषणका क्रममा प्रशिक्षक भट्टराईले अञ्जली श्रेष्ठ र अनिस तामाङ हालै नेपाली सेनामा भर्ती भई रोजगारमा होमिएका छन् भने दिपेन्द्र धिमालले सिङ्गापुरमा उत्कृष्ट कला प्रदर्शन गरेर अर्जुनधाराको नाम उच्च राखेका छन् ।

दिपेन दनुवार, लक्ष्मी राजवंशी, आशिष लुङ्गेली जस्ता उत्कृष्ठ प्रशिक्षक गाउँगाउँमा खेलसँगै अनुशासनका पाठ सिकाइरहेका छन् । आज अर्जुनधारा नगरभरि १० वटा तेक्वान्दो डोजाङ दर्ता गरि सञ्चालन भइरहेको छ भने ६ वटा दर्ताको प्रक्रियामा छ ।

खुदुनाबारीका होम दुलाल (नगरपालिका सदस्य) ले पनि खुदुनाबारी क्षेत्रलाई मात्र हेरेका छैनन्, इलामको शान्तिपुर, माई नगरपालिकासम्मलाई प्रशिक्षण प्रदान गर्दै आएका छन् ।

उसबेला गुरु जितेन मेचेले यसरी हामीलाई प्रशिक्षण नदिने हो त हामी के भइसक्थ्यौ ? कार्यक्रममा तेक्वान्दो डोजाङको आध्योपान्त दर्शाए ।

हाल निर्माण हुँदै आएको शनिश्चरे तेक्वान्दो भवनमा आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा तीन जनालाई फस्ट डान, एक जनालाई फस्ट पुम, दुई जनालाई सेकेन्ड डान र एक जनालाई सेकेन्ड पुमको प्रमाणपत्र प्रदान गरिएको थियो ।

फस्ट डान प्रमाणपत्र प्राप्त गर्नेहरुमा अभय कटुवाल, निश्चल भूजेल र मौसम चौलागाईं, फस्ट पुम प्रमाणपत्र प्राप्त गर्नेमा विशेष कार्की, सेकेन्ड डान प्रमाणपत्र प्राप्त गर्नेहरुमा अन्जु श्रेष्ठ र अनिस तामाङसँगै सेकेन्ड पुम प्रमाणपत्र प्राप्त गर्नेमा अभ्युदय वीरविक्रम भट्टराई रहेका छन् ।

डोजाङका अध्यक्ष समाजसेवी मदन बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाको बाहुल्यबाट प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रमाणपत्र वितरण पश्चात अध्यक्ष बुढाथोकीले अधुरो भवनलाई पूरा गर्न नगर प्रमुख हरिकुमार रानालाई अनुरोध गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशिक्षक कुमार भट्टराईले झापाकै नाम राख्न तेक्वान्दो डोजाङ अर्जुनधारा नगरपालिका उत्कृष्ट भएको दर्शाउँदै भवनको छानो निर्माणमा तीन लाख रकम लाग्ने भए पनि ट्रष्ट निर्माणमा एक लाख ८० हजार लाग्ने भएको हुँदा त्यसतर्फ नगरको ध्यान जान अनुरोध गरे ।

महिला नेतृ पुनम सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा नगर प्रमुखका निजी सचिव एवम् स्वास्थ्य शाखा संयोजक मुकुन्द बस्नेत, पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखा प्रमुख पदमलाल राईलगायतको आतिथ्यता रहेको थियो ।

सोही दिन मेरो रेडियो १०५ मेगाहर्जले दीपावलीको अवसर पारेर सञ्चालन गरेको अनलाइन देउसी भैलो प्रतियोगितामा उत्कृष्ट हुने समूहलाई पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको छ ।

जीनियस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित मेरो रेडियो १०५ मेगाहर्जको आयोजनामा गत तिहारमा सञ्चालन भएको खुल्ला अनलाइन देउसीभैलो प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने समूहलाई प्रमाण पत्र वितरण गरेको हो ।

प्रालिका अध्यक्ष शंकर सुवेदीको सभापतित्व र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा देउसीभैलो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सरगम संगीतालय सीनीयर समूह (बिर्तामोड), सरगम संगीतालय जुनियर समूह (बिर्तामोड) र प्रगती महिला समूह (अर्जुनधारा)लाई क्रमश नगद पुरस्कार पाँच हजार, तीन हजार र दुई हजारसहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

दुवै कार्यक्रम संयुक्त रुपमा सञ्चालन गरि निर्धारित समयमा सम्पन्न मेरो रेडियोका तेजकुमार आचार्यले यलम्वर टाइम्सलाई जानकारी दिए ।