जलेश्वरधामको ३८ औं अनुष्ठान भव्य नहुने « Yalambar Times
१ बैशाख २०८१, शनिबार

जलेश्वरधामको ३८ औं अनुष्ठान भव्य नहुने


यलम्वर टाइम्स
६ मंसिर २०७७, शनिबार ०४:४०

पुराणको सन्देश अनलाईनमार्फत, बालाचतुर्दशी आ–आफ्नै घरआँगनमा मनाउन आग्रह

अर्जुनधारा । बढ्दो संक्रमणका कारण यस वर्ष अर्जुनधारा जलेश्वर धामको ३८ औं धार्मिक अनुष्ठान भव्य नहुने भएको छ ।

कोरोना कहरले राष्ट्रलाई नै शोकाकूल र गाउँघरमा संक्रमण फैलने भएको हुँदा अनुष्ठानलाई भव्य नगर्ने भएको हो । अर्जुनधारा जलेश्वरधामको प्राङ्गणमा स्थानीय संघसंस्था जनप्रतिनिधि र नगरका प्रतिनिधिबीच भएको छलफलले अनुष्ठानलाई भव्य नमनाउने निचोड निकालेको हो । तर, ३८ औं अनुष्ठानलाई भने नरोक्ने भएको छ ।

छलफलमा ३८ औं अनुष्ठानलाई निरन्तरता दिनका लागि पुराण वाचक, उपवाचक र कर्ता बीच पुराणका पाठ हुने उक्त पाठ स्थानीय मिडियामार्फत घरैमा बसी सुन्न र हेर्न सक्ने व्यवस्था मिलाउने विषयमा छलफल भएको धामका सचिव शिवलाल खतिवडाले यलम्वर टाइम्सलाई बताए ।

आर्थिक अवस्थाले खस्किदै गरेको जलेश्वरधाममा अनलाईनमार्फत नै आर्थिक सहयोगको सन्देश दिने समेत छलफलमा उठेको थियो ।

छलफलमा अर्जुनधारा वडा नं. ७ का वडाध्यक्ष नविन ढुंगानाले सार्वजनिक ठाउँबाट गरिएका अनलाईन पुराणमा मन्दिरको दर्शन गर्न आउने भएको हुँदा समितिले उपयुक्त समयमा पुराणको सन्देश भएको दर्शाउन व्यवस्था मिलाउनुपर्ने बताए ।

अध्यक्ष ढुंगानाले भिडभाड र तामझाम, मनोरञ्जनलाई प्राथमिकता नदिन सुझाव दिएका थिए । छलफलमा नगरपालिकाका प्रतिनिधि योजना अधिकृत हिमराज सेढाईंले संयमता अपनाएर अनुष्ठान गर्न सुझाव दिँदै भिडभाड नदर्शाउन आग्रह गरे ।

अधिकृत सेढाईले बढ्दो संक्रमणले मानिसलाई असर पारिरहेको बेला बुद्धी पुर्याउनु नै उपयुक्त हुने सुझाव दिए । कार्यक्रममा खानेपानीका अध्यक्ष शंकर सुवेदीले पुराण भनेपछि आस्थावान मानवहरुको उपस्थिति हुने गर्छ नै त्यस्ता भिड तथा उपस्थितिलाई ख्याल गर्नुपर्ने सुझाव दिए ।

उद्योग वाणिज्य संघका सचिव चतुर्भुज काफ्लेले पुराण वाचक, उपवाचक, कर्ता र भजन गायक मात्र राखेर पनि अनुष्ठान गर्न सकिन्छ तर, सतर्कता जरुरी रहेको बताए ।

चेम्वर अफ कमर्शका सदस्य रञ्जन देवकोटाले चर्च तथा अन्य धार्मिक आस्था राखेका मान्छेहरु भिडका बीच पनि अनुष्ठान गरिरहेको अवस्थामा अर्जुनधाराले पनि संक्रमणलाई मध्यनजर गर्दै धार्मिक अनुष्ठान गर्दा फरक नहुने सुझाव दिए ।

छलफलमा मूल अर्चक अग्नीप्रसाद सिग्देलले भव्य रुपमा पुराणलाई नलगि अनलाईनमार्फत कोठामा लगाएको पुराण पनि प्रभावकारी हुने भएको हुँदा निमन्त्रणा कसैलाई नगर्न सुझाव पेशेका थिए ।

धामको आर्थिक अवस्थालाई मध्यनजर गर्दै आर्थिक समितिमार्फत धामको उन्नतिको लागि आव्हान गर्न सकिने सुझाव समेत राखेका थिए ।

धामका अध्यक्ष नविन गट्टानीको सभापतित्वमा भएको छलफलमा सल्लाहकार समितिका सदस्य उद्धव थापाले तामझामकामाझ पुराण नलगाउन सुझाव दिँदै एउटा कोठामा रहेर अनुष्ठान मनाउन सकिने सन्देश दिएको अध्यक्ष गट्टानीले बताए ।

करिब २ घण्टा शिव मन्दिर अगाडि दूरी कायम गर्दै बसेको छलफलमा अनलाईनमार्फत दिनको २ घण्टा पुराण भनिने निचोड निकालिएको थियो ।

उक्त पुराणको सन्देश अनलाईनमार्फत आम धार्मिक आस्था बोकका सबै नेपालीहरुमा जानकारी गराइने भएको छ ।

मंसीर २१ गतेबाट अनुष्ठान सुरु गरिए पनि २८ गते बालाचतुर्दशीका दिन पितृ मोक्षका लागि आ–आफ्नो घरआँगनमै दीप प्रज्वलन गरि आफ्ना करेसाबारी वा तुलसीको वरिपरी सत्बीज छर्न धाम समितिले आग्रह गर्ने भएको छ ।

पुराणभरि कसैले स्वइच्छा द्रव्य दिनेहरुको नाम मिडियामार्फत भनिने, धान्यचलका लागि भण्डारा खुला राखिने समेत छलफल भएको छ ।