बिरिङ्ग खोलामा यस वर्ष छठ पूजा नगरिने « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

बिरिङ्ग खोलामा यस वर्ष छठ पूजा नगरिने


यलम्वर टाइम्स
२९ कार्तिक २०७७, शनिबार ०५:१२

बिर्तामोड । छठ समाज सेवा समिति बिर्तामोडले प्रत्येक वर्ष कनकाई–१ स्थित बिरिङ्ग खोलामा आयोजना गर्दै आएको छठ पूजा यसवर्ष नगर्ने भएको छ ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणको त्रासका कारण कनकाई –१ स्थित बिरिङ्ग खोलामा आयोजना गर्दै आएको छठ पूजा यस वर्ष नगरिने छठ समाज सेवा समिति बिर्तामोडका अध्यक्ष घनश्याम चौधरीले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारको सरुवारोग नियन्त्रण ऐन २०७७ र स्थानीय सरकारले सार्वजनिक भेला, कार्यक्रम , मेला आयोजना वा भिडभाड हुनेखालको कुनैपनि कार्यक्रम नगर्नका लागि जारी गरेको निर्देशनलाई मध्यनजर गर्दै छठ समाज सेवा समिति बिर्तामोडले बिरिङ्ग खोलामा आयोजना गर्दै आएको छठ पूजा यसवर्ष नगर्ने निर्णय गरेको उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको संयोजकत्वमा बुधवार बसेको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइरस संक्रमणको दरलाई मध्यनजर गर्दै नदी, खोला, पोखरी तालमा गई पण्डाल बनाएर छठ पूजा गर्ने कार्य यस वर्ष नगर्ने नगराउने निर्णय गरेकाले छठ समाज सेवा समिति बिर्तामोडले पनि प्रत्येक वर्ष बिरिङ्ग खोलामा आयोजना गर्दै आएको छठ पूजा यसवर्ष नगर्ने निर्णय गरेको उनले जानकारी दिए ।

छठ पूजाको लागि खोला, ताल पोखरी, नदीमा गएर स्नान गर्दा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भएको हुँदा नदी, खोला, पोखरी , तालमा गई पण्डाल बनाएर पूजाआजा नगरी यस वर्ष आ –आफ्नै घर ,आँगनमा कुण्ड बनाएर सुरक्षित तरिकाले छठ पूजा गर्न व्रतालुहरुलाई अनुरोध गरिएको छठ समाज सेवा समिति बिर्तामोडका महासचिब मनोज रौनियारले जानकारी दिए ।