टंक सरप्रति श्रद्धाञ्जली

[पुण्य सुवेदी]

कार्तिक २१ गते दिउँसो सवा चार बजेतिर खबर टंक बस्नेत सर रहनुभएन भन्ने खबर आयो । वहाँ तीन साता भन्दा अघिदेखि बिराटनगरको न्युरो अस्पतालमा भेन्टिलेटरमा रहेर मृत्युसँग अत्यन्तै कष्टसाध्य संघर्ष गरिरहनुभएको थियो । वहाँको निधनको खबर धेरै अपत्यारिलो त लागेन । तर उपचारको क्रममा वहाँको स्वास्थ्यमा कहिेलेकाहीं सुधार भएको, कहिले अवस्था चिन्ताजनक रहेको खबर आइरहन्थ्यो । पछिल्लो पिसिआर टेष्टको रिपोर्ट नेगेटिभ आइसकेको थियो । त्यसकारण वहाँले मृत्युसँगको यो निकै लामो लडाइँ जितेर फर्कनुहुन्छ भन्ने हामी सबैको विश्वास थियो । हाम्रो विश्वास गलत सावित भयो । मृत्युसँग पराजय हामी सबैको अन्तिम नियति हो । जीवनभर हामी मृत्युसँग लुकामारी नै खेलिरहेका हुन्छौं । यो लुकामारीमा टंक सरलाई मृत्युले यति चाँडै झ्याप्पा मार्छ भन्ने हामी कसैलाई लागेको थिएन ।

अर्जुनधारा मावि, अर्जुनधारा– ४ का प्रधानाध्यापक टंक बस्नेत सोही विद्यालयका दीर्घसेवी शिक्षक हुनुहुन्थ्यो । २०१८ साल माघ १२ गते इलामको चमैतामा जन्मनुभएका वहाँले शनिश्चरे माविबाट एसएलसी र कक्षा १२ उत्तीर्ण गर्नुभएको थियो । २०४६ भाद्र १ गतेदेखि शिक्षण सेवामा प्रवेश गर्नुभएका वहाँ २०४८ मंसिर १मा सोही विद्यालयको स्थायी शिक्षक बन्नुभयो । २०७३ भाद्र २४ गतेदेखि वहाँले सोही विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । अर्जुनधारा प्राविलाई निमावि हुँदै मावि बनाउन वहाँको महत्वपूर्ण योगदान रहेको थियो । हजारौं विद्यार्थीहरुले वहाँलाई एउटा अन्यन्तै मेहनती, योग्य र असल शिक्षकको रुपमा स्मरण गरिरहेका छन् ।

मैले २०५८ सालदेखि शनिश्चरे माविमा शिक्षण सेवा शुरु गरें । केही सालपछि टंक सरको एक मात्र सुपुत्र सन्देशलाई वहाँले दीपज्योति अंग्रेजी स्कुलबाट छुटाएर शनिश्चरे माविमा कक्षा ८ मा भर्ना गराउनु भएको थियो । म उक्त कक्षाको गणित शिक्षक थिएँ । टंक सर आफ्नो छोराको अध्ययनको बारेमा चासो राख्दै विद्यालय आइरहनुहुन्थ्यो । त्यसबेला एउटा सचेत अभिभावकका रुपमा मैले वहाँलाई चिनें । वहाँ पनि शिक्षक नै हुनुहुन्छ भनेर सोही बेला थाहा पाएँ । बस्नेत परिवार शैक्षिक, सामाजिक, राजनीतिक र व्यवसायिक क्षेत्रमा समेत प्रतिष्ठित परिवार रहेछ । टंक सरका पिताजी कुमार बस्नेत शनिश्चरे माविमै सेवारत हुनुहुन्थ्यो । पहिलो चिनजानमै मैले टंक सरलाई असल पिताका असल पुत्रका रुपमा पाएँ । वहाँको विनयी र मिलनसार व्यवहारले मलाई पहिलो भेटदेखि नै प्रभावित तुल्याएको थियो । त्यसपछि एउटै स्रोत केन्द्रका दुईवटा छिमेकी विद्यालयका शिक्षकका रुपमा हाम्रो सम्पर्क र सङ्गत बढ्दै गयो ।

२०६७ सालमा मैले विवाह गरें । सुष्मा टंक सर कार्यरत विद्यालयकै शिक्षक हुन् । मेरो स्कुल छुट्टी भएपछि सुष्मालाई लिन भाङ्गबारी जाँदा अर्जुनधारा माविका सबै शिक्षकहरु हिंडिसक्नुभएको हुन्थ्यो तर टंक सरलाई स्कुलका सबै कोठाका झ्यालहरु बन्द गर्दै ढोकामा ताला लगाउँदै गरेको देख्थें । विद्यालय विदा हुँदा समेत वहाँ दैनिक विद्यालय परिसरमा आएर विद्यालय सामग्रीहरुको सुरक्षाको अवस्था अध्ययन गर्नुहुन्थ्यो । विद्यालयमा घेराबारा थिएन, अहिले आंशिक घेराबार छ । विद्यालयका झ्याल, ढोका, तालाचावी, धारा, शौचालय, फर्निचर लगायत हरेक सम्पत्तिहरुको ख्याल राख्नुहुन्थ्यो । आफ्नो घरलाई जस्तै विद्यालयलाई माया र स्याहार गर्ने वहाँको बानी थियो । परीक्षा हुँदा नानीहरुले लेखेको उत्तरपुस्तिका संकलन भएपछि वहाँ उत्तरपुस्तिकाका खाली पानाहरु च्यात्न थाल्नुहुन्थ्यो ताकि ती पानाहरु अर्को दिनको परीक्षामा उपयोग गर्न सकियोस् । विद्यालयको सम्पत्तिको यति धेरै माया र जतन गर्ने शिक्षक हामी मध्येबाट पाउन मुश्किल छ । एउटा शिक्षक मात्र रहँदा विद्यालयलाई यति धेरै माया गर्ने वहाँ जीवनको उत्तरार्धमा विद्यालयको मुख्य जिम्मेवार समेत बन्नु अर्जुनधारा माविको सौभाग्य थियो ।

मसिना नानीहरुलाई आफ्ना छोराछोरीहरुलाई जस्तै माया गर्ने वहाँको अर्को स्वभाव थियो । ससाना नानीहरु पनि आफ्नो परिवारकै अभिभावक सरह वहाँसँग झुम्मिन्थे । स्कुल आएका थुप्रै बच्चाहरुलाई वहाँले आमाले जस्तो स्याहार गर्नुभएको छ । विद्यार्थीहरुलाई छोराछोरी जस्तो र सहकर्मीहरुलाई दाजुभाइ, दिदीबहिनी जस्तो व्यहार गर्ने स्वभावका कारण वहाँ सबैको प्रिय हुनुहुन्थ्यो ।

शिक्षकहरुका अनेक आस्था अनुसारका पेशागत संस्थाहरु छन् । टंक सर र म फरक संस्थाका सदस्य थियौं । तर हाम्रो साझा संस्था शिक्षक महासंघप्रति वहाँको निकै ठूलो लगाव थियो । भाङ्गबारीतिरै भेट हुँदा मलाई ज्वाइँ भनेर सम्बोधन गर्ने टंक सर बाहिर भेट्दा अध्यक्षज्यू भन्नुहुन्थ्यो । शिक्षक महासंघका हरेका प्रयासहरुमा वहाँले दिलोज्यान दिएर सहयोग गर्नुहुन्थ्यो । उमेरले वहाँ मेरो पितातुल्य भए पनि अत्यन्तै मित्रवत् व्यवहार गर्नुहुन्थ्यो ।संस्थाको नेतृत्वको रुपमा सम्मान गर्नुहुन्थ्यो । विद्यालयका कार्यक्रमहरुमा निमन्त्रणा गर्नुहुन्थ्यो । यसकारण वहाँप्रतिको मेरो सम्मान पनि उँचो थियो । शिक्षक महासंघ र शिक्षकहरुका तालुक निकायहरुका बीचमा कहिलेकाहीं अन्तरविरोध देखापर्दा महासंघलाई वहाँले दह्रो साथ दिएका उदाहरणहरु छन् ।

टंक सर विद्यालयको प्रधानाध्यपक बन्दा अर्जुनधारा माविमा सिकाइ पुर्वाधारहरुको अत्यन्तै ठूलो अभाव थियो । वहाँले नेतृत्व सम्हालेपछि विद्यालयले आइसिटी ल्याव, साइन्स ल्याव, पुस्तकालय प्राप्त ग¥यो । नगरपालिकाकै सबैभन्दा कान्छो माविले माध्यमिक तहमा विज्ञान र अंग्रेजी विषयका शिक्षकहरु प्राप्त ग¥यो । चालु आर्थिक वर्षमा विद्यालयले चार कोठे भवनको योजना प्राप्त गरेको छ । अफसोच ! टंक सर भवनको शिलान्यास गराउन नपाई विदा हुनुभयो । यसरी एउटा प्रधानाध्यापकका रुपमा वहाँको अधुरो कार्यकाल सफल रह्यो । शैक्षिक उपलब्धिका हिसाबले पनि वहाँले विद्यालयलाई औसत भन्दा माथिको दर्जामा पु¥याउनुभएको थियो । आफ्नो कार्यकालमा विद्यालयको घेराबारा सम्पन्न गर्ने वहाँको योजना पूरा हुन सकेन । यस्ता अधुरा योजना र सपनाहरुलाई हामी बाँचेकाहरुले आफ्नो जिम्मेवारीका रुपमा बुझ्नुपर्छ  ।

गणेश आधारभूत विद्यालयका प्रधानाध्यापक रामकुमार अछामीलाई गुमाएको १ वर्ष ७ महिना र १२ दिनपछि हामीले टंक सरलाई गुमायौं । दुबैजना अर्जुनधारा–४ निवासी हुनुहुन्थ्यो । यसरी एकपछि अर्को हस्तीहरुलाई गुमाउँदा अर्जुनधाराका शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको छ । रामसरको शोकबाट राम्ररी तङ्ग्रिन नपाउँदै हामीले अर्को शोक बेहोर्नु परेको छ । जसरी गणेश आधारभूत विद्यालयमा राम सरको अभावलाई खड्किन नदिन साथीहरुले सफल सामुहिक प्रयास गर्दै हुनुहुन्छ, त्यसरी नै अर्जुनधारा मावि परिवारले पनि यो रिक्तता र सन्नाटालाई जित्ने धैर्य र साहस जुटाउनुपर्छ । शैक्षिक क्षेत्रका अगुवा मात्र नभएर सामाजिक नेतृत्व समेत एक पछि अर्को गरी गुमाएको भाङ्गबारीले यो अभावलाई पूरा गर्ने आँट गर्नैपर्छ ।

विश्वव्यापि कोरोना महामारीको कारण शिक्षण सिकाइ क्रियाकलाप नराम्रोसँग प्रभावित बनेको छ । महामारीकै कारण हामीले सहकर्मी गुमाउन समेत थालेका छौं । टंक सरको वियोगले यो महामारीलाई हलुका रुपमा नलिन र सावधानी अपनाइरहन हामी सबैलाई पाठ पनि पढाएको छ । आफूले मृत्यु स्वीकारेर टंक सरले समुदायलाई कोरोनाबाट बच्न र बचाउन सचेत गराउनुभएको छ । आफू बच्न र समुदायलाई बचाउन हाम्रो दायित्व सम्झाएर जानुभएको छ । हामी विद्यालय चौघेरा भित्रका मात्र नभएर आफू बसेको समुदायका समेत शिक्षक हौं ।

टंक सर अब भौतिक रुपमा हामी माझ नरहे पनि हामी सबैको प्रेरणा र स्मरणको रुपमा वहाँ बाँचिरहनुहुनेछ । टंक सरप्रति भावपूर्ण श्रद्धाञ्जली एवम् शोकाकुल बस्नेत परिवारमा गहिरो समवेदना ।

पुण्य सुवेदी

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd