म अनि, मेरो दशैं

[सन्तोष नेम्वाङ]

यसलाई चाड सम्झौं या उसको नामको पुण्यतिथी । तर पनि त्यो दशैं सम्झनलायक चाहिं थियो ।

मेरो पछिल्लो पूर्खा पाँचथर जिल्लाको फाक्तेपबाट २०१८÷०१९ साल ताका आफ्नो कर्मको खोजीमा (साविक पाराखोपी) हालको अर्जुनधारा नगरपालिका वडा नं. ७ मा आएर आफ्नो कर्मको भारी बिसाउनु भएको रहेछ । अनि यहि खनीखोस्री गरी दिन बिताउने क्रममा हामी २ भाइ र २ दिदी बहिनीको यस धर्तिमा आगमन भयो ।

आज यसो सोंच्दा हामी केहि हुने खाने परिवार नै रहेछौं जस्तो लाग्छ । किनकी मलाई आफैं थाहा छ, आमा र बुबाको हातमा एच एम टी घडी थियो । बलेंसीमा ढिकी जाँतो थियो । उता गोठमा गाई, बाच्छा पनि थियो । आँगन केही ठूलै थियो । जहाँ हामी एक फन्को मार्दा थाक्थ्यौं । फन्को मात्र होइन, बिहान आँगनमा झाडु (मेरो भागमा) लगाउँदा एक प्राण नै जान्थ्यो ।

भदौ, असोज लागेपछि आँगनभरी सनपाट सुकाउँदा एउटा अर्कै उमंग आउँथ्यो । कारण अब दशैंको सुरुवात् भएछ भन्ने छनक पाइन्थ्यो । किनकि त्यो सनपाट सुकेपछि बेचेर हाम्रो लागि दशैंको नाना आउँथ्यो । दशैंको आगमनको अनुभूति नै बेग्लै हुन्थ्यो । वर्षा सकिएर हिलो(मैलो सबै हट्थ्यो । वातावरण सफा देखिन्थ्यो । बिहान(बेलुकी केही चिसोको अनुभव हुन्थ्यो । भनौं मनमा केही उमंग छाउँथ्यो । दशैं आउँन एक महिना अघि देखि नै हाम्रो घरदेखि मास्तिर तत्कालिन ठकुरी गाउँमा सतार जातिहरुको आफ्नो परम्परा अनुसारको नृत्य सुरु हुन्थ्यो । प्रायः बेलुकी पख उनिहरुको पारम्पारिक बाजा बज्दा लु….अब पक्कै दशैं लाग्यो झैं भान हुन्थ्यो ।

यस्तै कौतुहल बिच दशैंको आगमन हुन्थ्यो । टीकाको दिन बिहान हतार(हतार नयाँ कपडा निकालेर लगाउन खोज्दा बुबाआमाले हकार्दै, “जाओ पहिला नुहाएर आओ, अनि लगाउँनु” भन्दा केहि न्यास्रो अनुहार लगाउँदै बाह्रदशी खोलामा गएर डुबुल्की मारेर आएपछि नयाँ लुगा लगाइन्थ्यो । त्यसपछिका क्रियाकलाप सम्झँदा अहिले पनि हाँसो उठ्छ । त्यो के भने नयाँ कपडा लगाएर छिमेकीको घरमा गएर आफ्नो दौंतारीलाई देखाउँदै ‘तेरो लुगा राम्रो कि हाम्रो लुगा राम्रो’ भन्दै फूई लगाएको शब्दले आजपनि मेरो ओठबाट हाँसो फुस्कन्छ ।

आफ्नो मान्यजनको हातबाट रातो अक्षताको टीका र कानभरी जमरा सिउँरिदा अनि हातमा २५ पंैसा र ५० पैंसाको ढक्की पाउँदाको क्षण सम्झँदा “के त्यो दिन पनि थियो र ?” भन्ने प्रश्न मनमा उब्जिरहन्छ । झोलामा रक्सी र पेरुङ्गोमा मासु बोकेर बोतलको रक्सी छछल्काउँदै आमासँग मावल जाँदा रक्सी पोखिएर कपडाभरी लागेर कस्तो नमिठो गन्हाउँदाको क्षण बिर्सी नसक्नुको छ । १० पैंसामा एउटा कोकिस र पाँच पैंसामा एउटा रातो मिठाई आउने समयमा मावलमा टीका थापेपछि दक्षीणाका रुपमा १ रुपैयाँको नोट पाउँदा रक्सीले भिजेको लुगाको पिर सबै भूल्थ्यौं ।

एवं रितले दशैं मनाउँदा(मनाउँदै समय बितेको पत्तै भएन । यदि सक्ने भए समयलाई भन्थें, “हे ! समय … त्यो समय र त्यो क्षण केही समयको लागि फर्काई देऊ ।” तर सबै दिवास्वप्न हो । न समय रोकिन्छ, न बितेका पल फर्केर आउँछ । समयसँगै म पनि वयस्क भएँ । मैले पनि जीवन संगिनी पाएँ । अरु जस्तै म पनि खुशी हुनु स्वभाविक नै हो । तर खुशी कति समयको लागि भन्ने मलाई के थाहा ? दैवले यस्तो क्रुर अवस्था पनि देखाउँदो रहेछ ।

२०४७ साल कार्तिक महिनाको १ गते विजयदशमी परेको थियो । मेरो श्रीमतिलाई प्रसव वेदनाले च्याप्यो । त्यस समयमा अहिले जस्तो सवारी साधनको सहज थिएन । छिमेकीलाई भनेर गोरु गाडामा हालेर हस्पिटल ल्यायौं । डाक्टर सावले सहजै बच्चा निकाली दिनुभयो । छोरी भएछ, म लजाएँ । पहिलो पटक बाबु बन्न पाएकोमा म हर्षित पनि भएँ । जब बिरामी लिएर घर फिर्दै थिएँ । अचानक श्रीमतिलाई खै के भयो ? आँखा नचाउन र मुख बटार्न थाल्यो । फेरि डाक्टर बोलाएँ । त्यसबेला हाम्रो छिमेकी कम्पाउण्डर छविलाल गिरी (कम्पाउण्डर बडा) आउँनु भयो । ‘हामीबाट केही हुँदैन’ भन्ने उहाँको जवाफ पाएपछि म हरेश खाएँ । के गर्ने के नगर्ने भन्ने अवस्थामा पुगें । त्यस समयमा सुविधा सम्पन्न हस्पिटल कहिं थिएन ।

रातभर मेरै बडाबाको बरण्डामा राखेर झारफुक गरियो । तर बिसको उन्नाइस भएन । भोलिपल्ट बिहान उज्यालो भएपछि हस्पिटल लिएर जाँदै गर्दा बाटैमा उसले संसार छाडी । काखमा २ दिनको छोरी, अगाडी श्रीमतिको मृत शरीर । म बेहोस भएँ या भइन, काखको नवजात शिशु कति रोइ होली ? मलाई केही थाहै भएन । जब उसको पार्थिव शरीर चित्तामा राखेर मेरो हातमा राँको समाउन दिंदा मात्र मलाई थाहा भयो, म चित्तामा राखिएको मेरो श्रीमतिलाई आगो लगाउँन लागेको रहेछु । छोरी अरुकै काखमा रुँदै रहिछ ।

मैले यताउता नजर दौडाएँ । मलामीहरु निकै आएका रहेछन् । उनिहरुको निधारमा रातो अक्षताको टीका अनि कानमा जमरा सिउँरेको देखें । सोचें, ‘जीवन यहि हो रहेछ क्यार ! कसैको भागमा खुशी पर्दा कसैको भागमा वेदना पर्दो रहेछ । मेरो भाग्य कस्तो ? यो खुशीको चाडमा पनि रमाउन पाइएन । तर म स्वार्थी रहेछु । किनभने त्यो नाबालक शिशुले आफ्नो अधिकार पनि पाएन । आफ्नो आमाको स्तनबाट एक घुट्को दूध पनि चुस्न पाएन । त्यो नवजात शिशुको त भाग खोस्दो रहेछ, त्यो निर्दयी दैवले भने म त सक्षम छु । अझै मेरो समय छ, उमेर छ । यसरी आफ्नो चित्त बुझाउँने प्रयास गरें । त्यसपछि केहि महिनासम्म कष्टले दिन बिताएँ । ५ महिनापछि छोरीले पनि संसार छाडी । संसार त के मलाई पनि छाडी । तर चट्टान सरह यो छाती कहाँ कमजोर छ र ? सानोतिनो ठक्करले टुट्ने छैन ।

खैर ! आज म मेरा परिवार सहित खुशीसाथ जीवन व्यतित गरिरहेको छु । यदि भाग्यले दुःख नदिए यसपालिको दशैं पनि खुशी र उमंगका साथ मनाउने प्रयास गर्नेछु । तर पनि दशैं आउनासाथ आउने मेरो दिवङ्गत पत्निको पुण्यतिथीमा यो मनको कुनाबाट उनलाई हार्दिक श्रद्धाञ्जलि दिन चाहन्छु । साथै सम्पूर्ण नगरबासीहरुमा नेपालीहरुको महान् चाड विजयादशमी, दीपावली र छठ पर्वको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना !

सन्तोष नेम्वाङ

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd