खुशी र पीडाको क्षण बन्दै दशैं « Yalambar Times
८ बैशाख २०८१, शनिबार

खुशी र पीडाको क्षण बन्दै दशैं


यलम्वर टाइम्स
८ कार्तिक २०७७, शनिबार ०६:१६

मीठो खाने राम्रो लगाउने र आफूभन्दा माथिका मान्यवरको आशिर्वाद थाप्ने प्रथा बडादशैं पर्वमा पर्छ । त्यसलाई आम नेपालीले मान्दै आएका पनि छन् । त्यसैले दशैं भनेपछि जो कोहीको मन फुरुङ्ग हुन्छ नै । यो पर्व नेपालमा रहेका सबै जातिले आत्मा सम्मानका साथ हाम्रो पर्व हो भनेर पूर्ण रुपमा नस्वीकारे पनि राज्य एकीकरणसँगै राष्ट्र एकताको बिन्दूमा बडादशैंलाई मनाउँदै ल्याइएको र यसै पर्वमा लामो समय बिदा गरिदिएपछि यो पर्व सबैको हो भन्ने प्रकट गराइयो ।

शासक वर्गले एकताको लागि ल्याइएको यो पर्वमै कर्मचारीहरुका लागि एक महिनाको दशैं बोनस पनि तलबमा वृद्धि गरिदिएपछि अझ उत्साह हुँदै आएको देखिन्छ । हाम्रो समाज हुने खाने र हुँदा खाने दुई प्रकारले चलेको छ । हुँदा खानेले पनि साहुसँग ऋण काडेर भए पनि दशैंमा रमाउने गर्छन् । नेपालभित्रकै केही जातिले टीका ग्रहण नगरे पनि दशैं पर्वमा आफ्नै ढंगबाट मनाउने गरेको देख्न पाउँछौं । अर्थात् फजुल खर्च पनि यही पर्वमा हुने गरेको छ । नेपाल सरकारको अर्थ मन्त्रालयले निकालेको तथ्याङ्कले दशैंमा नेपालीहरुले बढी पुँजी चलाएको देखाएको छ ।

बडादशैंको उत्सवसँगै विगत ८ महिनादेखि हामीमाझ देखिएको संक्रमण रोग अर्थात् कोरोना भाइरस पनि उत्तिकै आक्रामणकारी भएर समुदायमा देखिनुले गरिब निमुखा होस् या हुनेखानेका लागि बडादशैं खुशी भए पनि कोरोनाका भाइरसका कारणले पीडा त्यति नै थपिएको छ । हामीमाझ आएको पर्व र संक्रमणका रुपमा आएको कोरोना संत्रास भएको हुँदा यो वर्षको पर्व खुशीसँगै पीडाको क्षण भएको कारण फजुल खर्चको अन्त्य र संक्रमण कालिन अवस्थाका कारण आशिर्वाद थाप्ने कार्यमा टाढा टाढाको यात्रा र समूहगत भेटघाट रमाइलो परिपाटी अन्त्य गर्नु नै मानव स्वास्थ्यका लागि हितकर देखिन्छ । सरकारले पनि सचेत भएर हिंड्न र पर्व मनाउन अनुरोध गर्दा पनि हामीले लापरवाही गरेको खण्डमा नसोचेको दशा आफ्नै घरआँगनमा आइपर्ने निश्चित छ । अझ यो संक्रमणले दीर्घरोगी र ज्येष्ठ नागरिकहरुका लागि कष्टकर बनेर आएको देखिन्छ । त्यसैले यो वर्षको राष्ट्रिय पर्व दशैं र कोरोना संक्रमणको अन्त्य नभइन्जेलसम्म जथाभावी हिंडडुल, जथाभावी खानपीन, आशिर्वाद थाप्ने कार्यमा टाढा टाढाको यात्रालाई बन्द गर्नु नै उचित हुने देखिन्छ । त्यसतर्फ सबैको चेतना भया ।