शनिश्चरेमा कालो पोशाक लगाएर हिंसा विरुद्ध प्रदर्शन « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

शनिश्चरेमा कालो पोशाक लगाएर हिंसा विरुद्ध प्रदर्शन


यलम्वर टाइम्स
२२ आश्विन २०७७, बिहीबार १०:२०

अर्जुनधारा । जुनसुकै प्रकारका महिला हिंसाविरुद्ध झापा अर्जुनधाराका किशोरीहरुले प्रदर्शन गरेका छन् । स्वस्फूर्तरुपमा सहभागिता जनाएका उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

अर्जुनधारा जलेश्वरधाम परिसरबाट सुरु भएको प्रदर्शनले शनिश्चरे बजारहुँदै, शनिश्चरे मावि, खानेपानी रोड, नगरपालिकाको कार्यालयहुँदै पुनः शनिश्चरे बजार पुगेर देवकोटा चौकमा चर्का नाराबाजी गरेका थिए ।के नारीको स्वतन्त्रता खोसिएकै हो त ? भन्ने नारा लेखिएको व्यानर बोकेका युवतीहरुले घरभित्र र बाहिर हुने सबै प्रकारका महिला हिंसा, बलत्कार, एसिड प्रहारलगायतका हिंसाविरुद्ध प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

स्थानीय ओसिन राज्यलक्ष्मी भट्टराई नेतृत्वको किशोरीहरुको समूहले महिला हिंसाका विषयमा सरकार मौन बसेको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

उनीहरुले विभिन्न हिंसाका घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा मैन बत्ती बालेका थिए । प्रदर्शनमा सहभागी प्रजिता बिक र तनुजा बाँस्तोलाले महिला हिंसाविरुद्धमा कविता बाचन गरिन् ।

केही सहभागीहरुले एसिड आक्रमणमा परेको डरलाग्दो आकृतिलाई अनुहारमा लिएर आएका थिए ।सबै किशोरीहरूले विरोधस्वरूप कालो पोशाक लगाएर प्रदर्शनमा सहभागी भएका थिए ।

किशोरीहरूको प्रदर्शन अवधिभर शनिश्चरे प्रहरी चौकी र अस्थायी ट्राफिक पोस्टका सुरक्षाकर्मीले साथ दिएका थिए । न्यूजसञ्जालबाट