‘बगरका कणहरु’मा कविको आत्मा बोल्छ

लक्ष्मीप्रसाद सुब्बा

[लक्ष्मीप्रसाद सुब्बा]

…..सभ्यता खोज्ने मान्छेले कविता पढौं ।
कविता रस पानैले मीठो सुधा पिलाउँछ ।।
धर्म, संस्कृति, संस्कार, साहित्य भित्र मिल्दछ ।
बाँच्नको अर्थ यसले साँच्चो बोध गराउँछ ।।

माथि उद्घृत कवितांश सित मिल्दोजुल्दो पाएँ । कवि कालिबहादुर थापाद्वारा रचित कविता संग्रह ‘बगरका कणहरु’ शीर्षक कृति जो कृतिकारको बाहुलीबाट मेरो हात प¥यो । आद्योपान्त पढें । कविले कृतिको एकठाउँ ‘प्रतिक्रिया’ माग्नु भएको रहेछ । तर पुस्तकको समीक्षा गर्न तत्पर हुँदा पुस्तककै एकठाउँ डा. कर्णाखर खतिवडा ज्यूले लेख्नु भएको रहेछ, ‘समाज होइन, देश बदल्नु पर्छ ।’ म यो कुरामा टक्क अडिएँ । यस सन्दर्भमा म भन्छु, ‘डा. साहवले देश बदल्ने कुरोभन्दा पनि सर्वप्रथम उहाँले आफ्नो नाम बदल्नु पर्छ । कारण कर्णाखरको शाब्दिक अर्थ हुन्छ कर्ण (कान) खर (गधा) अर्थात् गधाको जस्तो कान हुने । जस्तैः गो (गाई), कर्ण (कान) अर्थात् गाईको जस्तो कान हुने गोकर्ण । रामायणमा वर्णित रावणका भाइ दुषणले गधाको रुप लिने हुनाले उसको नाम खर दुषण भएको हो । हुन त मेरो यसप्रति टाउको दुखाइ छैन । नेपाल देशलाई रोम, इटाली जस्तो बनाउन ईसाइहरु पनि देश बदल्ने भावना राखेर लागि परेका छन् । उनीहरु नेपालमा मन्दिरको साटो चर्च नै चर्च भएको देख्न चाहन्छन् । डा. खतिवडा ज्यूको अभिप्राय पनि त्यस्तै हो कि ?

अँ, अब कुरो गरौं कविको कृति र कृतिकारको भावनाबारे । कवि ज्यूले आफ्नो कृति बगरका कणहरु शीर्षक राखेर लेख्न शुरु गर्दा,

बगरका कणहरुसित बज्रचूर्ण मिसि ।
महलहरु धेरै बनिए, ज्यामीका आँशुले मुछि ।।

कृतिको शीर्षक अनुरुप विषय वस्तुसित मिल्ने गरी यसरी लेखे सुन त छँदैछ, त्यसमा सुगन्ध पनि थपिन्यो कि ? तर कविले लेख्न शुरु गर्दा कविको भावनाले फड्को मारेको पनि हुन सक्छ ।

कतिपय ओजनहीन कविता, काव्य, महाकाव्य हेरेर स्व. डा. पारसमणि प्रधान बालकृष्ण समको ‘चिसो चुलो’ महाकाव्यमा कविले ‘चुक घोप्टिदै जान्छ, रात गहिरिँदै जान्छ’ भन्दै भावना देखाएको गद्यकाव्य देखाउँदै भन्नु हुन्थ्यो, हेर केटा ! यो कस्तो महाकाव्य ? (त्यसबेला म उहाँकै मणि प्रेसमा कम्पोजिटर थिएँ) भन्नुहुन्थ्यो,

कविता कवि होस्, कवि कविता होस्,
कविता तब पो हुन्छ, शब्द थुपारी के हुन्छ ?
भाव भएपो हुन्छ !

यसो भन्नुको अभिप्राय गद्यमा नबुझिने गरी लेखिएको ‘महाकाव्य चिसो चुलो’ त्यस्तै त्यस्तै छ । सबैले बुझ्दैनन् । हुन त बुझाइ फरक हुनसक्छ । मेरो भन्नुको अभिप्राय कविको कृति बगरका कणहरुलाई हीयाएको चाहिँ पटक्कै होइन । कुरो के भने, चिसो चुलो महाकाव्यमा कविले आफ्नो विद्वता देखाएका हुन् । विद्वता त पाठकको नजरमा पठनीय कृति तयार पार्नमा पो छ त ।

कवि कालिबहादुर थापाको कृति ‘बगरका कणहरु’ मा सरलता, सरसता छ, मिठास छ, शिक्षा छ, धर्म–संस्कृतिका कुराहरु, नीतिका कुराहरु, गाउँ–समाजका गतिविधि उचा–निचाका कुराहरु सरल भाषामा लेखेको पाइयो ।

कवि थापा अब नानीहरुलाई पढाउन छोडेर उनीहरुका अभिभावकहरुलाई आफ्नो कृति मार्फत् पढाउन थालेका छन् । यस कृतिमा कविको आत्मा बोल्छ । अहिलेको समाजमा विकृति, विसंगति, दुर्गति, अवनति, अनाचार, दुराचार, ढोंगी, पाखण्डी, उछृङ्खल, मैमत्तापन देखेर उनि दिक्क र दुःखी हुन्छन् । उनलाई जात–पात, उच–निचको भेदभाव पटक्कै मन पर्दैन (पृष्ठ ९) । अन्धो भक्ति, अन्धो परम्परा मन पराउँदैनन् (पृष्ठ १५) । सरकारको चित्त बुझ्दो शासन नहुँदा कवि चित्त बुझाउँदैनन् (पृष्ठ २२) । सर्पको खुट्टा सर्पले नै देख्छ भने झैं गरीबको गरीबिपना गरीबले नै जान्दछ, धनीले गरीबको पीडा जान्दैन भन्छन् (पृष्ठ ३०) । आडम्बरीको खोल ओडेर भक्तिको ढोंग रच्ने भक्तले ज्यूँदो भगवान् नचिनेकोमा कवि दुःखी हुन्छन् (पृष्ठ ७०) ।

कविले बुढोकन्ये ‘दान खालिङ’ सरलाई पनि कृतिमा सम्झेका छन् । झापामा सर्वप्रथम छापाखाना आउँदा दान सरलाई छापाखानामा कम्पोजिटरको लागि भारतको सिलगडीबाट झापाको बिर्तामोड ल्याइएको थियो । दान सर कविताको छन्द विद्याका दिग्गज हुनुहुन्थ्यो । उहाँका परिवार भनेका हामीहरु नै थियौं । कवि भन्नु हुन्छ, ‘लालुपाते पूmल्दा मात्रै वसन्त नाच्दथ्यो ।’ कवि ज्यू ! बसन्तमा लालुपाते नाच्दैन, अपितु बसन्तमा लालुपाते पूmल झरिसकेको हुन्छ (पृष्ठ १२४) । जाँगर मरुवाहरु निदाइ रहेकोबेला उनीहरु जिन्दावाद, मुर्दावाद जान्दैनन् (१२६ पृष्ठ) । आमालाई नरुवाएर हँसाउनु पर्छ भन्छन् (पृष्ठ १४१) । तब आमाको दशधारा दूध खाएको ऋण कम गर्न सकिएला कि ?, ऋणै त चुक्ता गर्न सकिंदैन । आमालाई दासी बनाउनु होइन सेवा गर्नुपर्छ । किनभने मातापीता भनेका ज्यूँदा देवता हुन् भन्छन् कवि (पृष्ठ १४९) ।

आध्यात्मतिर लम्किदै कवि लेख्छन्, ‘मेटिएका छैनन नि, चट्टानमा खोपेका छन्, अरनिकोले जनकका ज्ञान र बुद्धका अमर वाणीहरु (पृष्ठ १५१) । हो, हामीले ज्ञानका मार्गदर्शक जनक र ज्ञान तथा शान्ति दूत बुद्धका दिव्य उपदेश पालन गर्न सके हामी सत्यतिर लम्कन सक्छौं । कवि थापाले गम्भीर हुँदै लेखेका छन्, ‘उघारौं मनका ढोकाहरु ! निकालौं आँखाका कसिङ्गरहरु (पृष्ठ १५३) । हो, आँखामा कसिङ्गर प¥यो भने हामी राम्रोसित देख्न सक्तैनौं । अनुमानको भरमा हेर्दा सेतोलाई पनि कालो, धमिलो देख्छौं । अर्थात् राम्रो नराम्रो छुट्याउन नसकेर अलमल्ल पर्छौं । तसर्थ स्पष्ट देख्ने आँखाको लागि ती कसिङ्गर अर्थात् हामीमा भएका विकृति हटाउनु पर्छ । अझ अगाडि भन्छन्, ‘पुजौं हामी जस्तै मान्छेहरु (पृष्ठ १५३) । ज्ञानी, गुणी, तपस्वीहरुको आदर सहित पूजा ग¥यौं भने उनीहरुबाट सतगुण, सतज्ञान प्राप्त गर्न सक्छौं । कविले आफ्नै माटोमा शरणार्थी जिइ रहेछौं (पृष्ठ १५४) मा हामी बसेको माटो त हाम्रै हो तर त्यो माटो मेरो, हाम्रो हो भन्ने कुनै प्रमाण नहुनाले हामी आफ्नै माटोमा शरणार्थी सहर बाँचेका छौैं, बसेका छौै । यस्तै यस्तै कुरामा सरकारको कमी कमजोरी देखेर साथै गाउँ–ठाउँ, समाजमा पनि कता कता होचो अर्गेलो देखेर कवि कालिबहादुर दुःखी हुन्छन् ।

समग्रमा भन्न पर्दा कवि कालिबहादुर थापा नजिकै बग्ने बिरिङ खोलाको बगरमा हिउँद, वर्षामा के के कसो कसो हुन्छ त्यो सबै बारेमा हेर्दै सोच्दै सम्झिदै लेख्छन्, मलिलो माटोमा परेको बीज सजिलै उम्रन्छ, बढ्छ अनि पूmल्छ, फल्छ जो मानिसको लागि प्रयोगमा आउँछ तर त्यही बीज बगरको बालुवामा प¥यो भने त्यो उम्रिदैन अनि मानिसले सोचेको, कल्पना गरेको सपना जस्तो भताभुङ्ग हुन्छ अर्थात् त्यो बीज खेर जान्छ, बालुवामै विलिन हुन्छ । कुनै बीज झोडीमा, बालुवामा, ढुङ्गामा प¥यो भने पनि खेर जान्छ । किनभने त्यो बीजले धर्तीको स्पर्श, माया, ममता पाउँदैन । बरु बालुवाले तताएर, रपाएर मृत्यु गराउँछ । तर त्यहि बीज बगरदेखि बाहिर मलिलो माटो पानीले भेट्ने ठाउँमा प¥यो भने उसै उसै लहलहाउँदै हलक्क बड्छ । त्यो देखेर कृषक रमाउँछ र भन्छ, ‘आहा ! मेरो परिश्रम सफल भयो, जति रोपेको बीज सबै उमिैयो, हुर्कियो, अब त पूmल्छ, फल्छ र मानिसले प्रयोगमा ल्याउँछ । यसरी कृषकको सपना साकार हुन्छ । तर खोलाको बगरका कणहरुमा रोदन हुन्छ, चित्कार हुन्छ, नैराश्य हुन्छ, आँशु बग्छ, त्यहाँ मानवको अस्तित्व बिलाउँछ ।

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd