जनतालाई मुक्ति र मुलुकलाई समृद्ध बनाउने एकमात्र विकल्प जनमुक्ति « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

जनतालाई मुक्ति र मुलुकलाई समृद्ध बनाउने एकमात्र विकल्प जनमुक्ति


यलम्वर टाइम्स
१८ आश्विन २०७७, आईतवार १०:३४

अर्जुनधारा । पहिचानको विषयमा स्थापनाकालदेखि नै वकालत गर्दै आएको राष्ट्रिय जनमुक्ति पार्टीको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।

शनिबार शनिश्चरे बजार स्थित दलित, महिला, आदिवासी जनजाति सामुदायिक भवनमा आयोजित अधिवेशनको उद्घाटन पार्टी केन्द्रीय उपाध्यक्ष मीना पन्धाकले गरेकी थिइन् ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी पन्धाकले जातीय मुक्ति बिना वर्गीय मुक्ति सम्भव नहुने बताइन् ।

केन्द्रीय उपाध्यक्ष पन्धाकले हाम्रो भाषा, संस्कृति हाम्रो अस्तित्व रहेको बताउँदै अहिलेको राजनीति अस्तीत्वको लडाई रहेको बताइन् ।

उनले हालको नेकपा सरकारले तमात आदिवासी, जनजाति, अल्पसंख्यकहरुको अस्तित्व समाप्त पार्ने खेलमा लागि परेको आरोप लगाइन् ।

त्यस्तै विशिष्ट अतिथि केन्द्रीय सचिव बलदीप प्रभाश्वर चाम्लिङ राईले ठूला दलहरुले रोटीको मात्र कुरा गर्ने, तर राष्ट्रिय जनमुक्ति पार्टीले रोटीसँगै जनताको हक, अधिकारको कुरा पनि उठाउँदै आएको बताए ।

केन्द्रीय सचिव राईले ठूला राजनीतिक दलहरुले पालैपालै सरकार बनाएर सञ्चालन गर्दै आए पनि नेपाली जनताले खाली भ्रष्टाचार र बेरोजगारीको मात्र सामना गर्नुपरेको बताउँदै त्यसबाट नेपाल जनतालाई मुक्ति दिलाउन र मुलुकलाई समृद्धशाली बनाउने एक मात्र विकल्प राष्ट्रिय जनमुक्ति पार्टी भएको बताए ।

कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा नेता राईले नेपालको संविधानले सम्पूर्ण नेपाली जनताको मन जित्न नसकेको पनि बताए ।

उनले अहिलेको संविधान झ्याल ढोका बिनाको घर जस्तै भएको बताउँदै अब तपाई हाम्रो कर्तव्य भनेको झ्याल ढोका लगाउँदै सबैलाई अपनत्व हुने गरिको संविधान बनाउनु भएको बताए ।

कार्यक्रममा किरात लिम्बूवान–खम्बूवान प्रदेशका अध्यक्ष पर्शुराम मगर, नेता दुर्गाबहादुर कटुवाल, जिल्ला अध्यक्ष भवानी सेलिङ, महिला नेतृ पार्वती माङ्मु लगायतले राजनीति भनेको सब्जीको व्यापार नभई विचार र आस्थाको लडाई भएको बताउँदै नेता कार्यकर्ताले धर्यतासँगै संयमता राख्नु पर्ने बताए ।

जनमुक्ति अर्जुनधाराका कार्यवाहक अध्यक्ष तेजबहादुर योङहाङको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय नेतृ शान्तिदेवी राई, राज खम्बू, प्रदेश सचिव कृष्णकुमार थेवे, जिल्ला सचिव पदम लिम्बू, भूतराज आले मगर लगायतको आतिथ्य रहेको थियो ।

क्या. शिवकुमार राईले सञ्चालन गरेको कार्यक्रममा स्वागत जिल्ला सल्लाहकार भरतसिंह राईले गरेका थिए ।

अध्यक्षमा खम्बू

खुला सत्रपछि सुरु भएको बन्दसत्रले राष्ट्रिय जनमुक्ति पार्टी अर्जुनधारा नगर समितिको अध्यक्षमा युवा समाजसेवी राज खम्बूलाई चयन गरेको छ ।

पार्टीको तेस्रो नगर अधिवेशनले खम्बूलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यसरी नै उपाध्यक्षमा तेजबहादुर योङहाङलाई पुनः चयन गरेको छ भने महिला उपाध्यक्षमा सोतीमाया कुरुम्बाङ, सचिवमा तिलबहादुर चेम्जोङ, उपसचिवमा सोमबहादुर राई र कोषाध्यक्षमा फूलमाया तामाङलाई चयन गरेको छ ।

त्यस्तै, सदस्यमा चन्द्रबहादुर रानामगर, मनबहादुर एक्तेन, लालबहादुर अस्लामी, खड्गबहादुर लावती, भगिन्द्र नेम्बाङ, सीता लिम्बू र सुकवीर लिम्बूलाई सर्वसम्मत चयन गरेको छ ।