कोरोना संक्रमण गाउँतर्फ फैलिदैं « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

कोरोना संक्रमण गाउँतर्फ फैलिदैं


यलम्वर टाइम्स
१५ आश्विन २०७७, बिहीबार १०:२३

कोरोना भाइरस हेर्दा सामान्य रोग देखिएतानि जेष्ठ तथा दीर्घरोगीहरुका लागि भने भयावह बन्न पुगेको छ । तर जवानलाई पनि कोरोना संक्रमणको लक्षण उच्च ज्वरो र निमोनिया देखिए तिनलाई पनि समस्या आइपर्ने हुन्छ । त्यसैले शरीरलाई चाहिने आवश्यक झोलिलो पदार्थ, बेसार, गुर्जो, तातोपानी खानु भन्ने स्वास्थ्यकर्मीको राय–सुझाव रहेको छ । यदि ज्वरो आयो भने पनि घरैमा बसेर सम्बन्धित वडा अध्यक्ष र स्वास्थ्यकर्मीलाई खबर गर्न राज्यले आव्हान गरेको पनि छ ।

७ महिना अघिबाट नेपालमा फैलिन शुरु गरेको कोरोना संक्रमणका कारण हालसम्म ४ सय ५० भन्दा बढीको चोलो उठीसकेको छ । प्रतिशतको हिसाबले हेर्ने हो भने ७० प्रतिशत जेष्ठ दीर्घरोगीहरु नै बितिसकेका छन् भने बाँकी अन्य । शुरुमा राज्यपक्षबाट संक्रमणलाई रोक्न धेरै प्रयास र सचेतना फैलाउने कार्य भएको थियो । पछि कोरोना संक्रमणले अझ महामारीको रुप लिएपछि राज्यले बिस्तारै आफैं सचेत रहन जनसमुदायलाई सन्देश दिन थालेको छ । राज्य कोषबाट करोडौंको रकम खर्च भइसकेको छ । तर पछिल्लो पटक राज्य तथा स्थानीय तहबाट कोरोना संक्रमणलाई सामान्य रुपमा हेर्दै जादा यो बेला समुदायमा वा ग्रामीण भेगमा फैलिन थालेको पाइन्छ ।

झापामा मात्र निकै ठाउँ समुदायमा कोरोना फैलिएको छ । त्यसलाई नियन्त्रण गर्न राज्य पक्ष अब सफल हुन सक्दैन । चैत, बैशाखमा कोरोना नियन्त्रणका लागि राज्यले गरेको जस्तो खर्च र जनशक्ति प्रयोग गर्न सक्ने अवस्था अब आगामी दिनमा देखिन्न । कोरोनाको महामारी र यसको रोकथाम सम्बन्धि जानकारी शहरीया मात्र होइन ग्रामीण भेगका जनतालाई पनि राम्ररी थाहा छ । त्यसैले गाउँ अर्थात् समुदायमा प्रवेश गर्दै गरेको महामारी नियन्त्रण गर्न आफैं सचेत हुन शिवाय अर्को कुनै उपाय देखिदैन ।
नजिकिदै गरेको चाडवाड र मनाउन आएका आफन्तहरु पनि सचेत हुनु पर्ने दिन आएको छ । मानव जाति आफैंमा सचेत वर्ग भएको हुँदा यो महामारीलाई अन्त्य गर्न छरछमेकी, आफन्तबिच सुमधुर सम्बन्ध कायम राख्दै कोरोना संक्रमणबाट हुने समस्या एकआपसमा बुझ्न, बुझाउँन जरुरी छ । स्थानीय तहले आ–आफ्नो क्षेत्रमा स्वास्थ्यकर्मी खटाएको छ । बस्नका लागि क्वारेन्टिन पनि निर्माण गरेको छ । यी सबै थोक हुँदाहुँदै संक्रमण समुदायमा ह्वातै फैलिएमा यसको पहिलो जिम्मेवार समाज नै हुनेहुँदा आफैं सचेत भई अगाडि बढ्न जरुरी छ ।