स्काभेटरसहित ८० ट्याक्टर विरिङ खोलामा, पाङ्ग्रे बाँध फुट्ने खतरा « Yalambar Times
८ बैशाख २०८१, शनिबार

स्काभेटरसहित ८० ट्याक्टर विरिङ खोलामा, पाङ्ग्रे बाँध फुट्ने खतरा


यलम्वर टाइम्स
१० आश्विन २०७७, शनिबार ०४:११

बिन्दुली । अविरल वर्षाका कारण विरिङ खोलाले पाङ्ग्रे बाँधलाई धक्का दिइ नारायण चोक क्षेत्र हुँदै शनिश्चरे बजार प्रवेश गर्न लागेको बेला सोही ठाउँमा अनाधिकृत खोलाजन्य सामग्री निकालेर अर्जुनधाराबासीलाई दुःख दिएको स्थानीयको आरोप छ ।

आज शनिबार बुद्धशान्ति–२ बाट एक स्काभेटर र ८० भन्दा बढी ट्याक्टर प्रवेश गरि जताततै खोलाजन्य सामग्री उत्खनन् गर्दा खोलाको बहाव पाङ्ग्रेतर्फ लाग्दा अर्जुनधारालाई क्षति पुग्ने अर्जुनधाराका एक जनप्रतिनिधिले बताए ।

विरिङ खोलाको केही भाग बुद्धशान्ति गाउँपालिका परे पनि भू–गर्वविद्ले सीमाङ्कन गरेको ठाउँमा उत्खनन् गर्दा आपत्ति नपर्ने तर, जताततै उत्खनन् मात्र होइन खोला छेक्नका लागि केही वर्षअघि लगाइएको तार जालीबाट पनि ढुंगा निकालिएको हुँदा सम्बन्धित प्रशासनको ध्यान जानुपर्ने ति प्रतिनिधिले बताए ।

बिहान जनप्रतिनिधिसहित केही स्थानीय मानिसहरु विरिङ खोला पुग्दा स्काभेटर भगाएको नाम नछाप्ने शर्तमा बुद्धशान्तिका पीडित एक युवाले यलम्वर टाइम्सलाई जानकारी दिए ।

अर्जुनधारा क्षेत्रमा पर्ने खोलाजन्य सामग्री निकाल्न नहुने सर्वोच्चमा रिट रहेको कारण हाल खोलाबाट खोलाजन्य सामग्री ननिकालिएको तर रातारात ट्याक्टरहरु पसि सामग्री निकालेको हुँदा सम्बन्धित निकायको ध्यान पुग्नुपर्नेसमेत स्थानीयहरुले बताए ।