कोरोना कहरलाई वेवास्ता गर्दै म्याराथन « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

कोरोना कहरलाई वेवास्ता गर्दै म्याराथन


यलम्वर टाइम्स
६ आश्विन २०७७, मंगलवार ०९:१५

फिक्कल । शनिबार विहान लोकतन्त्र दिवसको अवसरमा सूर्योदय नगरपालिकाको पर्यटकिय गन्तव्य कन्याममा म्याराथनको लागि सयौको संख्यामा मानिसहरु भेला भएका थिए ।

म्याराथनको सुरु गनुपुर्व तयारीको लागि १० मिनेट जति समय लाग्दा झापाबाट आएका गाडीहरु र झापा तर्फ जाने गाडीको ताँती कन्याममा थियो । गाडीहरुको हुलमा एम्बुलेन्स समेत थियो ।

कोही बिरामी उपचारको लागि लग्दै थिए त कोही उपचार गराएर घर लिएर आउँदै । जस्तै सुकै अवस्था भएपनि अत्यावश्यक सवारीसाधन संचालनमा अवरोध हुनुहुँदैन् ।

त्यही हुलमा आमाको उपचारमा आर्थिक अभाव भएपछि पैसा लिन मोटरसाइकल चढेर आएका एक जनालाई रोकेर ट्राफिक प्रहरीले जान नमिल्ने बतायो ।

उनले आफनो समस्या बताए पनि ‘नियम भनेको नियम हो तपाईले पनि मान्नुपर्छ’ भन्दै ट्राफिकबाट धम्कीपुर्ण कुरा आएपछि ति व्यक्ति म्याराथन सुरु नहुन्जेल रोकिए ।

म्याराथन सुरु भएपछि एकै पटक ह्रवारह्रवारती सवारीसाधन चल्दा दुर्घटनाको जोखिम देखिन्थ्यो । राजमार्ग क्षेत्रमा म्याराथन दौडिएका धावकहरुलाई सवारीसाधनबाट तर्किर दौडन निक्कै समस्या बन्यो ।

कन्यामबाट फिक्कलसम्म करिब ४ किलोमिटर दौडको लागि तय गरिएको थियो । कोरोनाको कहरको बिचमा स्वास्थ्य सुरक्षा सम्बन्धी आधारभुत कुराहरु पुरा समेत नगरि सयौको संख्यामा भेला गराउनुले सूर्योदयमा कोरोनाको जोखिम नरहेको जस्तो देखिन्थ्यो ।

विहान ७ नबज्दै म्याराथनमा सहभागिहरुले कन्याम रंगिएको थियो । सरकारले लगाएको लकडाउनका कारण ६ महिना देखि सुनसान कन्याममा मानिसहरुको आगमनले पुरानै अवस्था झै झल्किन्थ्यो ।

८ बज्ने लाग्दा प्रतियोगिता सूरु भयो । सहभागिहरुको मध्ये धेरैले मास्क लगाएका थिएनन् । लगाएका केही सहभागिहरुले पनि स्वासप्रश्वासनमा समस्या भएपछि खोलेर नै दोडिए ।

मानिसहरुको भिडका कारण सवारी आवागमनमा समस्या सृजना भयो । भिडका बिचमा एम्बुलेन्स समेत फसेको थियो ।

म्याराथन समापनस्थल फिक्कल बजार र त्यस नजिकैको सनराइज बोडिङ स्कुल नजिकै सवारी साधनहरु रोकेर राखिएका थिए ।

करिब आधा घण्टा सवारीसाधन रोकिएर सडक जाम नै भएको थियो । एका तर्फ कोरोनाको जोखिम बढ्दै जानु र म्याराथन आयोजनाको लागि जिल्ला प्रशासन कार्यालय इलामसंग समेत समन्वय थिएन् ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले लोकतन्त्र दिवसको दिन सूर्योदय नगरपालिकामा म्याराथन आयोजनाको बारेमा अनविज्ञता प्रकट गरे ।

‘म्याराथुन आयोजनाको बारेमा हामीलाई लिखित रुपमा केही जानकारी नै छैन् त । के रहेछ म बुझ्छु है ।’ उनले भने ‘ एम्बुलेन्स जस्तो समवेदनशिल सवारी साधन संचालनमा रोकिनुहुँदैन् । बरु म्याराथनलाई रोकेर भएपनि जान दिनुप¥थ्यो ।’

यस्ता प्रतियोगिता आयोजनाको लागि जिल्ला प्रशासन कार्यालय, आयोजक र प्रहरीबिच छलफलपछि समय तोकेर आयोजना गर्न सकिने सडाईले बताए ।

‘स्थानीय सरकार आफैमा अधिकार सम्पन्न भएकाले प्रतियोगिता आयोजना गर्न र गराउन अनुमती दिन पनि सक्छ । तर कोरोनाको कहरको समयमा भिडभाड गर्नु जोखिम निम्त्याउनु हो ।’ उनले भने ।

यता आयोजनाको बारेमा जिल्ला प्रहरी कार्यालयलाई समेत ढिलो मात्र जानकारी प्राप्त भएको थियो । ‘ हामीलाई जानकारी त भयो तर निक्कै ढिलो प्रतियोगिता सुरु भइसकेपछि मात्र ।’

प्रहरी उपरिक्षक नविनराज राईले भने ‘ प्रतियोगिता आयोजनाको निम्ति प्रशासनसंग समन्वय गर्ने हो प्रहरीको काम सुरक्षाको प्रत्याभुत गराउने हो । ’

यसै सन्र्दभमा सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईलाई सम्पर्क गर्दा उनले स्थानीय सरकारले कार्यक्रम आयोजना गर्दा अन्य कुनै निकायलाई जानकारी गराइरहन आवश्यक नरहेको बताए ।

यदपी नगरले म्याराथनको बारेमा इलाका प्रहरी कार्यालय र इलाका प्रशासन कार्यालय पशुपतीनगरलाई जानकारी गराएका बताए । कोरोना सर्तकर्ताको सन्र्दभमा नगरभन्दा बाहिरका मानिसहरु दौडमा सहभागि नहुने भएकाले जोखिम नरहेको बताए ।

‘जसरी अर्थ लगाएपनि हुन्छ । हामीले म्याराथनमा नगरभन्दा बाहिरका मानिसहरुलाई सहभागि गराएका छैनौ । ’ उनले भने ‘ सूर्योदय नगरपालिकामा कोरोना संक्रमण नरहेकाले सुरक्षा अपनाएर नै म्यराथन आयोजना गरिएको हो ।’ प्रतियोगिता दौरान यातायात आवगनलाई सहज बनाइएको उनले बताए ।

राजमार्ग म्याराथन प्रतियोगिता आयोजना गर्न नहुने भन्ने होइन तर आयोजकले यातायात आवागमनको बैकल्पिक व्यवस्थापन गर्नुपर्ने हुन्छ । गत मंसिरमा भएको तेह्रौ दक्षिण एसियाली खेलकुद ( साग) समेत काठमाण्डौको सडकमा नै दौड आयोजना गरिएको थियो ।

दशरथ रङ्गशालाबाट शुरु भई टेकु, कालिमाटी, कलङ्की, बल्खु, सातदोबाटो, कोटेश्वर गठ्ठाघर, सल्लाघारी, सूर्यविनायक हुँदै पुनःफर्किएर सल्लाघारीबाट कोटेश्वर हुँदै नयाँबानेश्वर, माइतीघर, सिंहदरबार भद्रकाली वीरअस्पताल, जमल, लैनचौर, दरबारमार्ग, उत्तरढोका, नागपोखरी, दक्षिणढोका, घण्टाघर, भद्रकाली हुँदै दशरथ रङ्गशालामा पुगेर समापन भएको खेल आयोजनाको बारेमा महानगरीय ट्राफिक प्रहरीले प्रतियोगिता भन्दा एक दिन अगावै अत्यावश्यक सवारी बाहेक अन्य नचलाउन अनुरोध गरेको थियो ।

मुुलुकी अपराध संहिता ऐन (२०७४) अनुसार सार्वजनिक सडक, बाटोघाटो, रज्जु मार्ग, केबुलकार मार्ग, विमानस्थल, रेल्वे वा जल परिवहन मार्ग, हुलाक र अन्य कुनै सार्वजनिक सेवाको सञ्चालनमा अवरोध पु¥याउन पाइने छैन । अवरोध पु¥याएको खण्डका कानुन अनुसार कारवाही गरिने उल्लेख छ ।

तर नियम र कानुन बनाउने स्थानीय सरकारले नै पालना नगरेपछि कसको के लाग्छ ?