कोरोना भाइरस (कोभिड–१९)को लकडाउनमा वृद्ध भत्ता

[लक्ष्मीप्रसाद सुब्बा]

अहिले कोरोना भाइरस (कोभिड(१९) को कारण देशमा सबै ठाउँ, सबै कुरा बन्दाबन्दी, लकडाउन भयो । कोही पनि बाहिर कतै घुमपिर नगर्नु, वृद्धावृद्धाहरु त धेरै बस्नु, बाहिर ननिस्कनु, एक अर्कामा सम्पर्क नगर्नु भन्ने नियम सरकारले लागू गर्यो, उर्दी गर्यो । बाहिर ननिस्की कसरी व्यवहार चल्छ ? घरिघरि साबुन पानीले हात धुनु पनि पर्ने यो कुरो कहाँ कहाँ सम्भव हुन्छ ? फेरि स्यानिटाइजर कस्तो हुन्छ ? के जता ततै पाइन्छ ? कि सरकारले वितरण गर्छ ? गरिबले त देखेको पनि हुँदैन । यी सबै कुरा सबैलाई सहजै उपलब्ध हुन्छ र ? कि वृद्धवृद्धालाई चाहिं बाटामा, गाडीमा, सुरक्षा भत्ता लिन जाँदा लु तपाईलाई चाहिं भनेर वितरण गर्छन् ? कसरी जोगिएर वृद्धवृद्धा आफ्नो सुरक्षा भत्ता (वृद्ध भत्ता) लिन सम्बन्धित ठाउँमा पुग्ने ? आफूले भोट दिएर जिताएको नेताले आफूलाई जिताउने चाँजोपाँजो मिलाएर घरघरमा पुगेर वृद्धवृद्धाको हातहातमा दिने भन्ने कुरो थियो तर, आज भन्छन्, वृद्ध भत्ता लिन फलानो मितिमा, फलानो ठाउँको, फलानो बैंकमा जानु है भनेर उम्किन्छन् ।

गाउँमा केही राम्रो काम गर्लान्, वृद्धवृद्धाको सुरक्षा बारे विचार गर्लान्, गरिब जनतालाई हेर्लान, गाउँ ठाउँको विकास गर्लान् भनेर जितायो, जितेपछि ति आफूले जिताएका नेताहरुको भूईमा खुट्टा हुँदैन, अनि हेर्छन् वृद्धावृद्धाको पीर मार्का ? वृद्धवृद्धाको पीर मार्का बुझेर सरकारले घरघरमा, हातहातमा सुरक्षा भत्ता दिनुपर्ने हो तर दुःख कष्ट जे परोस् भनि दिन्छन् भत्ता लिन जाइहाल, सुनाई दिएको छ है !

जसले देश बनायो, समाज सजायो, हरियाली सजायो, बाटो बनायो, खेत बिरायो, बारी बिरायो, फूलबारी बनायो, बगैंचा लगायो, स्कुल बनायो, अस्पताल बनायो, महल बनायो, अरुहरुका लागि पसिना बगायो, कथा पुराण सुनायो, भजन गाएर मान्छेलाई भगवानको सम्झाना गरायो, गीत गाएर, नाचेर मानिसलाई खुसी बनायो, प्रवचन सुनाएर मानिसको विवेक जगायो, कवि, लेखक, पत्रकार भएर सत्यतथ्यको बोध गरायो, खेलाडी भएर खेल खेलेर देशको नाम फैलियो, रेमिटेन्स भित्र्यायो, डाक्टर भएर रोगीलाई बचायो, शिक्षक भएर मानिसलाई साक्षर बनायो, अक्षर चिनेर मानिसहरु विद्वान भए ।

देश रक्षाका लागि बन्दुक समाएर सीमा सुरक्षामा तैनाथ रह्यो, देशको लागि मरिहत्ते गर्यो । एउटा गरिबले धनीको जीवनभरि हलो जोत्यो, पकाएर, बनाएर खुवायो, धनीलाई धन बटुल्न सघायो, धनीको दास भएर पाऊ मुसार्यो, तेल लगायो, गोडा मिच्यो । लेखक साहित्यकार भएर मानिसलाई जागरुक बनायो, जसलाई देखेर सबैले नमस्कार गर्थे, आज यस्तो काम गर्ने मानिसहरु वृद्धवृद्धा भएर खाटमा टुलुटुलु हेर्दै यताउता आँखा डुलाउँदै आशाको नजरले हेर्छ । तर, उसलाई विचरा भन्ने कोही आउँदैन । घरमा भएका सबै परिवार आफ्नै काममा व्यस्त हुन्छन् । जो चाहिं समयमा सबैको अगुवा थियो, सबैलाई असल बाटो देखाउँथ्यो । आज उसले बोलेका कुरा सुन्ने कथाझैं भएको छ । उदाहरणको लागि भन्नपर्दा, बिर्तामोडका स्व. पत्रकार मदन ढकालका पिता पर्शुराम ढकाल वि.सं. २००१ सालमा ताप्लेजुङको कटहरेबाट झापाको बिर्तामोडमा आउँदा उसबेला बाघ, भालु, स्याल लुक्ने झोडी जंगल थियो अरे । त्यस्तो ठाउँमा अरु उपाय नभएपछि आँटैले झोडी जंगल फाँडेर स्याउले झुप्रो हालेर लालाबालासहित थन्किएको इतिहास पर्शुरामले सुनाउनु हुन्छ । उहाँहरुकै आशापिछामा क्रमैसँग अरुहरु पनि त्यसरी नै आउँदै, बस्दै गरेपछि बाघ, भालु भागे, स्याल कराउन पनि छाडे । परिणाम स्वरुप आज बिर्तामोड एउटा व्यापार केन्द्र साथै झापाको मुटु गनिन्छ ।

बिर्तामोड शहर आकाशबाट ब्वाङ झरेन, पतालबाट फुत्त निस्किएन । श्री ५ को सरकारको शाही हुकुमले पनि बनिएको होइन । बिर्तामोड शहरका निर्माताहरु आज लौरो टेक्दै आँखामा चस्मा भिरेर पालकपुलुक हेर्ने भएका छन् । त्यस्ता थुप्रै शहरहरु समयमा आजका वृद्धवृद्धाले बसाएका हुन् । झापाको शनिश्चरे बजारकै कुरा गर्ने हो भने, शंकर अस्पतालका डा. शंकर उप्रेतीले बनाए, जो आज पनि चालु छ तर, डा. उप्रेती त्यहाँ छैनन् । वृद्ध अवस्थामा स्याहारसुसार गर्ने कोही पनि नभएपछि उहाँ अहिले कुनै वृद्धआश्रममा बस्न बाध्य हुनुभयो । शंकर अस्पतालमा थुप्रै प्रसुति आमाहरुको जीवन रक्षा भयो, साथै त्यहाँ थुप्रै बालबालिकाको जन्म भयो । कहाँ जन्मिएको भनेर सोधे धेरै जसोले शनिश्चरेको शंकर अस्पतालमा भन्छन्, तर आज त्यहाँ प्रसुति गराईदैन । त्यहाँ कुनै बालक जन्मिदैनन् । यो कुरो पनि इतिहासको एउटा पृष्ठ नै हो जो पठनीय छ ।

ठूलाठूला शहर बसाउने, स्कुल बनाउने, उद्योग, कलकारखाना बसाउने, बाटो निकाल्ने, पाटीपौवा बनाउन जस्ता पौरखीहरुको जीवनीबाट मानिसले धेरै कुरो सिक्छन्, जान्दछन् । तर, सरकारले त्यस्ता निर्माता वृद्धवृद्धाको बारेमा विचार गर्दैनन् । खाई नखाई, आराम नगरि देश बनाए, देश सजाए, जसलाई आज हामी सुन्दर नेपाल भन्छौं । सुन्दर नेपाल कसरी भयो ? निर्जन वनलाई सुन्दर फूलबारी त वृद्धवृद्धाले नै बनाए । त्यस्ता वृद्धवृद्धाहरु बुढेउलीले गर्दा उनीहरुलाई खोकी लाग्छ, हात खुट्टा लुलिन्छन्, शरीर थरथर काम्छ, दम बढ्छ, दिसापिसाब घरिघरि आउँछ, खाएको कुरा पच्दैन, आँखाले भर दिँदैन । हुनेका स्याहार सुसार गर्ने होलान् तर सबैका त हुँदैनन् । जसोतसो उ भित्र बाहिर गर्छ । हिजोआज कोरोना भाइरसको डरले जोगिनु पनि पर्ने तर वृद्धवद्धालाई कसले जोगाउने ? आफ्नो सुरक्षा भत्ता कहिले देलान् भनेर सोध्दै गर्छन् तर, कतिका छोराछोरी बुहारी आमाबुवाको भत्ता आए त दोकानको ऋण तिरेर फेरि अरु सौदा ल्याउन पाए अलिक दिनलाई त ढुक्क हुन्थ्यो भन्दै पर्खिरका हुन्छन् । बुढाबुढीलाई खान लगाउन दिएकै छौं किन चाहियो पैसा भनेर सुटुक्कै गएर भत्ता थापेर खर्च गर्छन् ।

यता सरकारले वृद्ध भत्ता दिन पनि कन्जुस्याँई गर्यो । जति दिएको छ त्यो पनि अहिले कोरोनाको कारण डराउँदै भत्ता कहाँबाट पाइन्छ भनेर पत्तो लगाउँदै मुखमा टालो टालेर खोजी हिंड्नुपर्छ । यही हो सरकारले वृद्धवृद्धाको भलाई गरेको ? कहाँ त वृद्धवृद्धालाई उनीहरुको सुरक्षा भत्ता घरघरमा गएर हातहातमा दिने भन्ने सरकारको घोषणा थियो तर त्यो घोषणा अनुसार काम नगरेर बैंकमार्फत भत्ता दिने भनेपछि वृद्धवृद्धालाई दुःख दिने काम सरकारले गर्यो । जसोतसो गरेर बैंक पुग्यो अनि लाम लाग्यो, उभिदाउभिदा थाकिन्छ गलिन्छ, तिर्खा लाग्छ, शौच लाग्छ, लामबाट निस्केर गए पालो काटिन्छ । उता कोरोना सर्ला की भन्ने पनि डर । डर मानी मानी भए पनि प्रतिमहिना रु ५ हजारको दरले भत्ता पाए त वृद्धवृद्धाले अलिक सजिलै जीवन धान्ने थिए होला । अभावै अभावमा बाँच्न गाह्रो भयो ।

लक्ष्मीप्रसाद सुब्बा

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd