संविधान रचनात्मक रुपमा सच्याउँदै जाने कि ! « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

संविधान रचनात्मक रुपमा सच्याउँदै जाने कि !


यलम्वर टाइम्स
३ आश्विन २०७७, शनिबार ०३:३५

जनताको बलिदानीपूर्वक ल्याइएको संविधान २०७२ असोज ३ गते ५ वर्ष पूरा टेकेर ६ वर्ष प्रवेश हुँदैछ । यस बीचमा संविधानलाई सार्थकता प्रदान गर्न राज्य पक्षबाट विभिन्न कसरत नभएको पनि होइन । सबैको मनमा संविधान र सबै क्षेत्रबाट बनेको संविधान सफलता बनाउनका लागि तामझाम साथ सरकारले मनाउँदै आएको थियो । तर पनि रचनात्मक रुपमा बनाइएको संविधान सच्याउनका लागि केही राजनीतिक दलहरु सक्रिय रुपमा आवाज बुलन्द गरिरहेका छन् । २०७२ को संविधान बन्नका लागि थुप्रै मानिसले आफ्नो जीवन कुर्बानी गरेका थिए । कति अङ्गभङ्ग भएर बाँचेका छन् । कतिका सिउँदो पुच्छिएको छ, कति टुहुरा भएका छन् । यतिका बलिदानीबाट बनेको संविधान बीचबीचमा सरकार पक्षबाट बहस र छलफलसँगै सत्ता बाहिरका दलहरुबाट दिएका सुझाव सुन्न नसक्दा आज २०७२ को संविधान रचनात्मक रुपमा केही बुँदाहरु सच्याउनुपर्ने र थप्नुपर्ने बहस छ ।

२०७२ ले ल्याएको निर्वाचन प्रणालीले अल्पमतमा रहेको आवाजहरुलाई सम्मान गर्न सकेन । त्यसले के अर्थ लगाउँछ भने लोकतन्त्रमा राजा नरहे पनि छोटे रजौटाहरुको दाहिँ भएको प्रष्टिन्छ । त्यसो त निर्वाचन प्रणालीले ल्याएको थ्रेसहोल्ड आफैमा साँघुरो सोच हो । थ्रेसहोल्ड शब्द लोकतन्त्रमा पच्न नसक्ने शब्द हो । सानै भए पनि विचारको धनी भएको दलहरुलाई तह लगाउने अस्त्र थ्रेसहोल्ड भएको हुँदा साना राजनीतिक दलहरुले भन्ने गरेका छन्, ‘विचारको सम्मान गर्ने हो भने निर्वाचन प्रणालीबाट थे्रसहोल्ड हटाउनुपर्ने माग छ ।’ राज्यले ल्याएको सात प्रदेश र त्यसभित्र बसेका जनताले उठाएको आवाज सरकार पक्षबाट सुन्न नसक्नु संविधान विपरित नै हो । सात प्रदेशलाई प्रदेशभित्रका जनताले अपनत्व गर्न दिनका लागि सरकारले संविधानका केही धाराहरुलाई सहजतामा ल्याउन सक्नुपर्छ ।

विविधताले बनेको हाम्रो नेपाल प्राकृतिक सौन्दर्यताको अनुपम ठाउँ हो । जो कोही मानिस नेपालमा पाइला टेक्ने बित्तिकै हिम श्रृङ्खलाले स्वागत गरेको नेपालमा रहेका देवी देउरालीहरुले आशिर्वाद प्रदान गरेको र यहाँका नदीनालाहरुले प्यास मेटाएको उच्च ठाउँ भए पनि नेपाली मनबाटै बनेका दलहरुका अगुवाबाट नेपाली मनहरुलाई महत्वपूर्ण रुपमा सुन्न र बुझ्न नसक्नु आफैमा बिडम्बना बनेको छ । सरकार दुइतिहाइको छ । सुन्दर भावना र सोझो मन बोकेको नेपालीहरुको आत्मालाई राज्य पक्षबाट सम्मान नगर्नु दुःख पूर्ण छ । यहाँका तमाम आदिवासी जनजाति, मधेसी, अल्पसंख्यकहरुले भन्ने गरेका छन्, लोकतन्त्रमा अझै पनि गोला बारुद नपड्कियोस् । यसअघि भए गरेका जस्ता दुःखदायी घटनाहरु नदोहोरिउन । त्यसैले पनि सरकारले संविधानलाई रचनात्मक रुपमा सच्याउँदै जान सकोस् । यस अर्थ लोकतन्त्र आफैमा पनि स्वतन्त्रता र तानाशाही विचार बिहिन भएको शब्द हो । त्यसमा पनि गणतन्त्रको संज्ञा छ । सत्ता आफ्नो पक्षमा छ भन्दैमा हिजोकै जस्तो तानाशाही, हुकुमी, हैकमी र ठालु पल्टेकाहरुलाई सम्मान गर्ने हो भने २०७२ को संविधान र दुइतिहाइको सरकारको आयु लामो हुन सक्दैन । त्यसैले जनताको भावना र साना दलहरुका विचारलाई बुझ्न र सुझाउन संविधानको मर्म र दुइतिहाइ सरकारको धर्म पनि हो ।