आर्थिक अवस्था नाजुक भएको झापाली व्यवसायीहरुको भनाइ « Yalambar Times
६ बैशाख २०८१, बिहीबार

आर्थिक अवस्था नाजुक भएको झापाली व्यवसायीहरुको भनाइ


यलम्वर टाइम्स
३ आश्विन २०७७, शनिबार ०३:१५

बिर्तामोड । झापाका उद्योगी तथा नीजि क्षेत्रका प्रतिनिधिले सरकारलाई नागरिक आचारसंहित तत्काल जारी गर्न सुझाव दिएका छन् ।

अब कुनै पनि व्यपार व्यवसाय बन्द गर्ने अवस्था नरहेको भन्दै यस्तो अवस्थामा नागरिकले पालना गर्नुपर्ने नियम सम्बन्धि आचारसंहित तत्काल लागू गर्नुपर्नेमा जोड दिएका हुन् ।

संवाद समूह भापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रका व्यवसायीले अब बन्दको विकल्प खोज्न जरुरी रहेको बताए ।

कोभिड–१९ ले व्यपार व्यवसायमा पारेको प्रभाव, समाधानका उपाय र आम नागरिकको स्वास्थ्य सुरक्षा विषयक छलफल कार्यक्रममा बोल्दै मेची डिस्ट्ब्युटर एशोसिएसनका अध्यक्ष राजेन्द्रकुमार थापाले अब कोरोना भाईरसबाट बच्ने र अप्नाउनुपर्ने सावधानी अप्नाउँदै ब्यपार ब्यवसाय सञ्चालन गर्नुपर्ने बताए ।

कोरोना भन्दा आत्महत्या र डिप्रेसनको समस्या भयावह बनेका भन्दै यो विषयमा सरकारले बेलैमा सोच्नुपर्नेमा जोड दिए ।

झापा उद्योग संघका अध्यक्ष टिकराज ढकालले कोरोनाका कारण व्यपार व्यवसाय बन्द हुँदा आर्थिक मन्दि शुरु भएको बताए ।

यो अवस्थामा सरकारले आर्थिक सहयोग गरेर व्यवसायीहरुलाई आफ्नो व्यवसायमा प्रोत्सहान गर्नुपर्नेमा जोड दिए । अब क्रेता र बिक्रेता आफैं सचेत बन्दै व्यवसाय सञ्चालन गर्नुको विकल्प नरहेको उनको भनाई छ ।

उनले आवश्यक सावधानी अपनाउन ठाँउ–ठाँउमा हात धुने ब्यवस्था गर्नुपर्नेमा जोड दिए । नेपाल चेम्बर केन्द्रिय सदस्य राजेन्द्र घिमिरेले उद्योग व्यवसाय खोल्दा आवश्यक सुरक्षा मापदण्डको पालना गर्नुपर्ने बताए ।

नागरिक आफैंले आचारसंहिता बनाएर पालना गर्नुपर्ने भन्दै उनले नीजि क्षेत्रले आफैं आवश्यक सावधानी अप्नाएर उद्योग ब्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

बिर्तामोड उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष बलराम कार्कीले व्यापार व्यवसाय ठप्प भएको ६ महिनाभन्दा धेरै भएकाले अब आवश्यक सुरक्षा मापदण्ड अप्नाएर व्यवसाय सञ्चालनको विकल्प नरहेको धारणा व्यक्त गरे ।

ब्यापार व्यवसाय ठप्प हुँदा धेरैले रोजगारी समेत गुमाउनु परेको र केहि व्यवसायी आफ्नो व्यवसायबाटै पलायन हुनुपर्ने अवस्थामा पुगेकाले राज्यले यस तर्फ तत्काल ध्यान दिनुपर्नेमा जोड दिए ।

नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीले श्रमिक, मजदुरहरुको स्वास्थ्यको विषयमा उद्यागीहरु सचेत बन्नुपर्नेमा जोड दिए ।

उनले बन्दको विकल्प खोजेर सुरक्षित रुपमा व्यपार व्यवसाय सञ्चालन गर्नु भन्दै आवश्यक सावधानी अप्नाएर अघि नबढे मजदुरहरु झनै समस्यामा पर्ने बताए ।

ट्राभल एजेन्टका शेखर ढकालले असोज ५ गतेबाट आन्तरिक रुपमा हवाई उडान गर्ने भएकाले ट्राभल व्यवसायीले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर सेवा सञ्चालन गर्ने बताए ।

उनले बालबालिका र वृद्धवृद्धाहरुलाई यात्रा नगर्न आग्रह गर्दै आवश्यक काम बाहेक नहिंड्न अनुरोध गरे ।

महिला चेम्बर झापा झापाकी अध्यक्ष प्रेमा भट्टराईले कोरोनाका कारण व्यवसायीहरु समस्यामा परेको उल्लेख गरिन् ।

उनले विशेष गरेर महिलाहरुले सञ्चालन गरेको व्यवसाय झनै धरासायी बनेको र यो समयमा घरधनी र बैंकको ब्याजका कारण कसरी रकम जोहो गर्ने समस्यामा महिलाहरु पुगेको बताइन् ।

उनले सरकारले महिलाले सञ्चारन गरेको ब्यपार ब्यवसायलाई प्रर्वधन गर्न विशेष नीति ल्याउनुपर्नेमा जोड दिइन् ।

आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाएर व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने र अब बन्द गरेर बस्न नसक्ने होटल व्यवसायी संघ झापाका महासचिव शिवराज पौडेलको भनाई छ ।

लामो समयसम्म होटल व्यवसाय बन्दहुदाँ धेरै व्यवसायीहरु व्यवसायबाटै पलायन हुने अवस्थामा पुगेको र झापाका २० हजारबन्दा बढी मजदुरुहरु बेरोजगार अवस्थामा बस्नुपरेको जनाए ।

प्याव्सन झापाका हरिकृष्ण पाठकले लामो समयसम्म शैक्षिक क्षेत्र बन्द हुँदा शिक्षक र विद्यार्थी दुवैलाई समस्या भएको बताए ।

पठनपाठन बन्द हुँदा झापाका मात्रै ४० हजारभन्दा बढी विद्यार्थी अन्योलमा रहेको र कसरी शैक्षिक सत्रलाई अघि बढाउने भन्ने विषयमा छलफल जारी रहेको जनाए ।

उनले यो अवस्थामा अभिभावकलाई पनि शुल्क तिर भन्ने अवस्था नरहेको र नतिरे शिक्षक पनि समस्यामा परेकाले अब कसरी अघि बढ्ने भन्ने अन्यौल रहेको विचार व्यक्त गरे ।

अनलाइन मार्फत केहि विद्यालयले कक्षा सञ्चालन गरे पनि सबै विद्यार्थीलाई समेट्न नसकिएको बताइएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सचिव देवी भट्टराईले कोरोनाको सबैभन्दा धेरै मार यातायात क्षेत्रमा परेको बताए ।

उनले अब यातायात व्यवसायीहरुले आवश्यक स्वास्थ्य सुरक्षा अप्नाएर यातायात सञ्चालन गर्ने बताए । उनले यात्रुको सम्पूर्ण विवरण टिपोट गरिने र आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर मात्रै यात्रा गराउने बताए । लामो समय यातायात बन्द हुँदा चालक र सहचालक समस्यामा परेको उल्लेख गरे ।

मेची बस ब्यवसायी संघका अध्यक्ष विष्णुकमार श्रेष्ठले लामो समयको यातायात बन्दले समस्या सिर्जना भएको बताए ।

उनले हालसम्म कोही पनि चालक तथा सहचालक संक्रमित नभएको र आवश्यक स्वास्थ्य सुरक्षामा आफुहरु सचेत रहेको बताए ।

उनले यातायातमा कर छुट हुनुपर्ने र सरकारले राहत दिनुपर्नेमा जोड दिए । महिला उद्यमी संघ झापाकी अध्यक्ष गोमा भट्टराईले आवश्यक सुरक्षा सर्तकता अपनाएर आ–आफ्नो व्यापार व्यवसाय सञ्चालनको विकल्प नरहेको धारणा व्यक्त गरिन् ।

कोरोनाका कारण व्यापार व्यवसाय ठप्प हुँदा धेरैको रोजगारी गुमेको भन्दै अब सरकारले विशेष सहुलियत कर्जा दिनुपर्ने बताइन् ।

हार्डवेयर व्यवसायी संघ झापाका अध्यक्ष मातृका कोइरालाले अब सबै व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने तर, सुरक्षा भने अपनाउनु पर्नेमा जोड दिए ।

९९ प्रतिशत हार्डवेयर व्यवसायीले बैंकबाट ऋण लिएर व्यवासय गरिरहेको र अहिले बन्द रहेको अवस्थामा समेत बैंकको ध्यान भने ब्याज असुल्ने र नाफा कमाउने मै केन्द्रित भएको आरोप लगाए ।

बैंकहरुले सहुलियत कर्जा दिने बहानामा व्याज असुल्ने काम गरिरहेकाले बैंकहरुको नियमन गर्न सरकारलाई आग्रह गरे ।

सामूहिक छलफलबाट ८ बुँदे साझा प्रतिबद्धता जनाउदैं आवश्यक स्वास्थ्य सावधानी अप्नाउन सबैसँग आग्रह गरिएको छ ।

छलफलको सहजिकरण सम्वाद समूहका अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।