अर्जुनधाराको प्रमुख प्रशासकीय अधिकृतमा खाम्याहाङ आउँदै « Yalambar Times
१३ चैत्र २०८०, मंगलवार

अर्जुनधाराको प्रमुख प्रशासकीय अधिकृतमा खाम्याहाङ आउँदै


यलम्वर टाइम्स
२ आश्विन २०७७, शुक्रबार ०७:१३

अर्जुनधारा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार विभिन्न स्थानीय तह तथा प्रदेशमा कार्यरत उपसचिवहरूलाई सरुवा गरेको छ ।

अर्जुनधारा नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलको पनि सरुवा भएको छ ।

भुर्तेलको स्थानमा स्थानीय तहको काम, कर्तव्यका विषयमा अनुभव प्राप्त गरिसकेका महेन्द्रकुमार खाम्याहाङको आगमन हुने निश्चय भईसकेको छ ।

उनी यसअघि इलाम नगरपालिका हुँदै मेचीनगर नगरपालिकामा कार्यरत थिए । स्पष्ट वक्ता र नियम परिधिमा रहेर काम गर्दै जनतासँग नजिक भएका खाम्याहाङ कुशल प्रशासकको रुपमा परिचत रहेको उनका सहपाटी बताउँछन् ।

त्यसो त भुर्तेल पनि प्रस्ट विचारका अनुभवी प्रशासक हुन् । जिल्ला विकास रहँदा पनि उनले गरेको काममा दोष लगाउने ठाउँ नरहेको ठहरिन्छ । यसअघि शिवसताक्षी नगरपालिका हुँदै अर्जुनधारा नगरपालिका आएका हुन् ।

अर्जुनधाराको लामो बसाईमा निकै महत्वपूर्ण काम भएको उनी बताउँछन् । शनिश्चरे बजारलाई झापाकै सुन्दर बजार बनाउन उनको प्रयास थियो । रै पनि बजेट विनियोजन भएकै छ, सुन्दर बनाउने काम अर्जुनधाराबासीको जिम्मा भएको बताउँछन् ।

भुर्तेलको सरुवा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ मा गरिएको छ ।

त्यस्तै, माई नगरपालिका इलामका दिनानाथ लम्साललाई मेचीनगर नगरपालिका झापा, रतुवा माई नगरपालिका मोरङका राजेन्द्र भट्टराईलाई गौरादह नगरपालिका झापा, गौरादह नगरपालिकाका खेमराज ओझालाई रतुवा माई नगरपालिकामा सरुवा गरेको छ ।

त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ मा कार्यरत गणेशप्रसाद दाहाललाई बिर्तामोड नगरपालिका झापा, जिरी नगरपालिका दोलखाका शिवप्रसाद रिजाललाई बागलुङ नगरपालिका बागलुङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका ध्रुवकुमार कोइरालालाई भेरी नगरपालिका जाजरकोट सरुवा गरिएको छ ।

मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशका उपसचिव गणेशसिंह ऐरीलाई अमरगढी नगरपालिका डडेलधुरामा सरुवा गरेको छ ।