सरकार परम्परागत संस्कृतिलाई सम्मान गर « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

सरकार परम्परागत संस्कृतिलाई सम्मान गर


यलम्वर टाइम्स
३० भाद्र २०७७, मंगलवार १०:३४

पौराणिक संस्कारलाई वर्तमानमा इतिहास भनिएको हो । पौराणिक गाथालाई सम्मान गर्दै अहिले हामी बाँचिरहेका छौं । हामी भन्ने गर्छौं इतिहासको रक्षा गर्न हामी तयार हुनुपर्छ । हामीले सिक्दै आएको अनोकौं ज्ञानमध्ये इतिहासको रक्षा भन्ने शब्द पनि एक हो । राम्रो काम इतिहाससँगै जीवित रहन्छ । नराम्रो काम भए जीवित रहन सक्दैन थियो । परापूर्वकालदेखि काठमाण्डौ, ललितपुर र भक्तपुरका नेवार जातिले थाम्दै र मनाउँदै आएको एउटा इतिहासलाई हेलचेक्राई गरेर कोभिडको नाममा मौन बस्दा आज रक्तपात हुन पुग्यो । सरकारमाथि प्रश्नमात्र उठेन एक जातिमाथिको ठाडो दमनको संज्ञा उपत्यकाका नेवार जातिले भन्न पुगे । जाति र संस्कृति एक आपसको नङ मासु भएको हुनाले उपत्यकाभित्र रातो मच्छिन्द्रनाथको रथ यात्राको विषयलाई लिएर उपत्यका बाहिर रहेका आदिवासी जनजातिको मन दुखेको देखिन्छ ।

कोरोना कहरले उपत्यका लकडाउन छ । राज्यलाई जनता जोगाउन धाउधाउ नै छ । तर पनि यस्तो अवस्थामा मच्छिन्द्रनाथ रथ यात्रा कसरी गर्न सकिन्छ ? भन्ने विषयलाई लिएर छलफल र निकासको बाटो खोजिनुपर्ने थियो तर बेवास्थाका कारण रातो मच्छिन्द्रनाथ यात्रा निकाल्न तयार भएको बेला प्रशासनको अवरोधका बाबजुद घुम्साघुम्सी नै हुन पुग्यो । रथ यात्राका संयोजक (पुजारी) किर्तिमदन जोशीका अनुसार रथ यात्रामात्र हाम्रो कल्पना थियो, जात्रा थिएन । परापूर्वकालदेखि मान्दै आएको यस यात्रामा सहभागि हुँदा पुण्य प्राप्त हुन्छ भन्ने उद्देश्यले यात्रासँग जोडिएर आएका मानिसहरुमाथि आक्रमण गर्नु निन्दनीय भएको बताउँछन् । मच्छिन्द्रनाथलाई बुङमति पुर्याउने भन्ने विषयमा धेरै छलफल भएको थियो । सम्बन्धित निकायले त्यस विषयमा चासो नदेखाएपछि जात्रा नगरी यात्रासम्म गराउने हुँदा एक्कासी प्रहरी दमन निन्दनीय भएको पुजारी जोशीको भनाइ छ ।

संकटकाल होस् या आपत् आफ्नो संस्कार, संस्कृति मनाउने सबैको इच्छा आकंक्षा हुन्छ नै तर त्यसलाई कसरी कति हदसम्म मनाउने भन्ने विषयमा छलफल हुन जरुरी छ । छलफल नै नगरि मानिदै आएको परम्परालाई बिचैमा छेक्नु निन्दनीय छ । यसअघि पनि राज्यले गुठी काण्डलाई लिएर पछिसरेको घटना आलो हुँदाहुँदै एउटा जाति विशेषको संस्कृतिमाथि अवरोध गर्नु दुःखको कुरा हो । यस्ता खाले अवरोधले राज्यमा आतंक सृजना हुनमा मद्दत पुर्याउँछ । त्यसैले जाति, धर्म, संस्कृति र संस्कारका विषयमा संकटकाल आइपरे ति वर्ग, समुदायसँग छलफल गरेर शान्ति प्रक्रियाको निकास खोज्नु जरुरी ठानिन्छ । त्यस्ता खाले छलफल र वार्ताले शान्ति अमनचयनलाई ठोस रुपमा उभ्याउँछ । तर बेवास्ता गरे वा दमन नीतिमा अगाडि बढे भुसको आगो झैं सल्कने हुँदा त्यस्ता घटना हुन नदिन संघीय सरकार चनाखो हुन जरुरी छ ।