अझ सचेत हुने दिन आउँदै « Yalambar Times
५ बैशाख २०८१, बुधबार

अझ सचेत हुने दिन आउँदै


यलम्वर टाइम्स
२९ भाद्र २०७७, सोमबार ०९:३१

कोरोना संक्रमणले मुलुकलाई सताइ रहेको छ । नजिकिदै गरेको नेपालीहरुको महान चाड र त्यसलाई मनाउन विभिन्न राष्ट्रबाट नागरिक भित्रने छन् । कोरोना सरुवा रोग जस्तै भएको हुँदा चाडवाडसँगै परदेशी नागरिक स्वदेश आउँदा आउने दिन अझ भयानक हुन सक्ने स्वास्थ्यकर्मीहरुको स्पष्ट भनाइ छ । पन्ध्र दिनअघिको राजधानीको नतिजा र त्यसपछिको बढ्दो कोरोना संक्रमण त्यसले के अर्थ लगाउँछ भने बाहिरबाट आउनेलाई पूर्ण रुपमा सजक र क्वारेन्टिनमा नराखि पीसीआर परीक्षण नगरि गाउँ वा घरमा आउन दिने हो भने त्यसले राजधानीमा देखिएको जस्तो नतिजा निम्त्याउन सक्छ ।

विशेष गरी राष्ट्रिय चाड मनाउन छिमेकी देश भारत छिरेका नेपालीहरु प्रशस्त आउने गरेको पाइन्छ । यो परम्परा यो साल पनि रहेन देखिन्छ । त्यसैले पनि स्थानीय सरकार पूर्ण तयारीमा रहनुपर्ने हुन्छ । त्यो सँगसँगै स्थानीय सरकारसँग नजिक रहेर काम गरेका स्वास्थ्यकर्मीहरु पनि अझ चनाखो हुनुपर्ने हुन जान्छ । त्यतिमात्र होइन प्रत्येक वडाका निर्वाचित जनप्रतिनिधिमार्फत टोलटोलमा सचेत रहन सन्देश दिनुपर्ने हुन्छ र आउँदै गरेका आफन्तहरुलाई गाउँवासीले अग्रीम जानकारी दिएर क्वारेन्टिनमा बसी खुला स्वास्थ्यबद्र्धक भइ चाड मनाउन पाउने छन् । त्यसो गरिए संक्रमणबाट बाच्न सकिने आधार बन्नेछ ।

संघीय सरकार हुँदै प्रदेश र स्थानीय सरकारमा चाडवाडमा हुने संक्रमणलाई छेक्न यस्तो खाले रणनीतिक अपनाइएन भने भयाभय स्थिति हुन सक्ने दिन आउने छ । अरु पालिका के कस्ता कार्यमा जुट्दै छन्, अर्जुनधाराले भने केही सजकता अपनाएको देखिन्छ । तर, त्यतिले मात्र पुग्दैन, आइसोलेसन सेन्टर थप्नुपर्ने, त्यसको लागि बेलैमा ठाउँ खोजेर तयार हुनुपर्ने दिन आएको छ । कोरोनामा खट्ने नगरका स्वास्थ्यकर्मीहरुको कमिले हो या व्यस्तताले कतिपय सम्वेदनशील अवस्था आइपर्दा फोन नउठेको गुनासो वडाबासीको छ । गुनासो आउने काम हुन नदिनका लागि नगरमा कोरोना हेल्प डेक्स राख्नुपर्ने हुन्छ । जसका कारण कोरोनालाई न्यूनिकरण र सहजतामा अतिआवश्यक काम भइ फैलनबाट बच्न सकिने भएको हुँदा नगरको ध्यान त्यसतर्फ जान जरुरी छ । गुनासामात्र रहेर पनि कसैको भलो हुन सक्दैन । साना–साना कुरालाई मध्यनजर गर्दै अगाडि बढेको खण्डमा कोरोना कहरलाई सहजै रुपमा फैलिनबाट रोक्न सकिन्छ । त्यसतर्फ सरकारको ध्यान जान जरुरी छ ।