नाटक घरलाई सहयोग जुट्दै « Yalambar Times
६ चैत्र २०८०, मंगलवार

नाटक घरलाई सहयोग जुट्दै


यलम्वर टाइम्स
२९ भाद्र २०७७, सोमबार ०७:५७

बिर्तामोड ।  क्षितिज नाट्य समूह झापाको अगुवाईमा झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरका लागि  शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडले ५१ हजार रुपैयाँ प्रदान गरेको छ ।
 

क्षितिज साहित्य प्रतिष्ठान झापाको आयोजनामा भएको प्रथम  काव्य सभा कार्यक्रममा संस्थाको आठौं वार्षिक उत्सवका अवसर पारेर निर्माणाधिन झापा नाटक घरमा आयोजित कार्यक्रमका वीच उक्त रकम प्रदान गरिएको हो ।

क्षितिज साहित्य प्रतिष्ठान झापाका अध्यक्ष तुलसीप्रसाद भट्टराईको अध्यक्षता तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा क्षितिज साहित्य प्रतिष्ठान झापाका सचिव डिल्लीराम परदेशीले स्वागत गरेका थिए ।

कार्यक्रममा शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडका अध्यक्ष सुब्रत न्यौपाने , सचिव दिपेश धौराली, लेखा समितिका सदस्य यामनाथ खरेल, सञ्चालक सदस्यहरु हेमराज मिश्र र भगिरथा थापा लगायतले उक्त रकमको चेक झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाई , क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितलाई हस्तान्तरण गरेका थिए ।  

सोही कार्यक्रममा स्थानीय कमलसरी राजवंशीले झापा नाटकघर निर्माणका लागि पाँच हजार एक सय रुपैयाँ झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाई , क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितलाई प्रदान गरेकी थिइन् ।

उनले ५१ हजार रुपैयाँ सहयोगको घोषणा गर्दै किस्ताबन्दी रुपमा सहयोग रकम हस्तान्तरण गर्ने बताइन् ।

कार्यक्रममा शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडका अध्यक्ष सुब्रत न्यौपानेले क्षितिज नाट्य समूह झापाको अगुवाईमा प्रदेश नं. १ कै ऐतिहासिक धरोहरका रुपमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरको निर्माण गरिएकाले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरिएको वताए ।

कार्यक्रममा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईले सवैको साथ र सहयोगविना बहुजाति, बहुभाषी, बहुसांस्कृतिक संग्राहलयसहितको झापा नाटक घर निर्माण सम्पन्न नहुने भएकाले सवैलाई उक्त कार्यका सहयोग गर्न अपिल गरे ।

कार्यक्रममा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितले दुई करोड रुपैयाँको लागतमा एक वर्ष अगाडि निर्माण कार्यको थालनी गरिएको बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरको निर्माण अन्तिम चरणमा पुगेको बताए ।  

उनले आर्थिक वर्ष २०७७ ÷०७८ का लागि जग्गादाता मनोज निरौलाको अध्यक्षतामा ११ सदस्यीय झापा नाटक घर निर्माण उपभोक्ता समिति र नचानु विष्णु श्रीजङ्घा टोल विकास संस्थाका अध्यक्ष भोजकुमार मास्केको अध्यक्षतामा तीन सदस्यीय झापा नाटक घर निर्माण अनुगमन समिति गठन गरिएको बताए ।

त्यस्तै क्षितिज साहित्य प्रतिष्ठानका अध्यक्ष तुलसीप्रसाद भट्टराईले भाषा, कला र साहित्यको संरक्षण र विकासका लागि काव्यसभा शुरु गरेको जानकारी दिए ।  

कार्यक्रममा अंन्चु सुवेदी , बिबेक निशानी ,डिल्लीराम  परदेशी, निरज पोखरेल, देबीमाया प्रसाईं , दुर्गा ओली, ताराप्रकाश भट्टराई ,माधबप्रसाद  सिटौला, सिताराम भट्टराई लगायतले साहित्यिक रचना वाचन गरेका थिए ।

कार्यक्रममा झापा नाटक घरका जग्गादाता मनोज निरौला , समाजसेवी दिननाथ सिग्देल ,   नचानु विष्णु श्रीजङ्घा टोल विकास संस्थाका अध्यक्ष भोजकुमार मास्के , क्षितिज नाट्य समूहका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारी , राष्ट्रिय वाल अधिकार संरक्षण समितिका केन्द्रीय अध्यक्ष सन्देश रम्तेल , सिम्रिक फिल्मस् प्रालिका म्यानेजिङ डाइरेक्टर लक्ष्मण गजुरेललगायतले शुभकामना दिएका थिए ।

कार्यक्रमको सञ्चालन क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितले गरेका थिए ।