लिम्बूवानका लालमोहरिया डबल सुब्बा

छोराद्वय डिल्लीबहादुर र भूविक्रम नेम्बाङबीच डबल सुब्बा ।

उहिलेमा उहिले पुर्खाले हाम्रा, रनवन ढाकेथे ।
काम र कुरा, पुर्खाको इज्जत, उनले त राखेथे ।।
लेक र बेंसी जग्गा र जमीन, वनजंगल नयाँ थे ।
जाँडरक्सी खानु, ओलेंसी अचार, उनी ता पुरयाउँथे ।।
त्यसपछि के थ्यो ? हाम्रा ती पुर्खा ‘सुब्बा’ को पदवीले ।
जिमी र भूमि राम्रा राम्रा सबै, हातले बाँड्दथे ।। (अनुवादः वैरागी काइँला २०३९)

यी हुन लालमोहरिया डबल सुब्बा (खडगबहादुर नेम्बाङ)को पूख्र्याैली गाथा । उनका पूर्खा लिम्बूवानका आदिवासी हुन् । डबल सुब्बाका पूर्वज चुक्मेपा र लथिक्पा लिम्बूवानका प्रसिद्ध हाङ थिए । विभिन्न वंशावलीहरूमा पेबाखुम नेम्बाहाङ, चोङ सुभा नाम्फाङ, हाङसाम थेबा आदि नामले यी दुई प्रसिद्ध छन् ।

चुक्मेपा र लथिक्पाले इथोङ यक र नाम्फुयक (गढी) खडा गरेका थिए । लिङहीया नन्छेदीरकुम राय(कुन्द्रे) को पालामा गोर्खाहरु लिम्बूवानमा प्रवेश गरेका थिए । लिङहीया रनन्छेदी गोर्खाहरुको विरूदमा उत्रिए । तिनीहरूले फेदेनमा संयुक्त सैनिक गढी खडा गर्ने कोशिस गरे । कान्छा भाई कुमराय आफ्ना जेठान श्रीशुनराय चेम्जोंगसँग मिलेर गोर्खामा सामेल भइ वि.सं.१८३१ मालालमोहर थापेका थिए ।

वि.स.१८३१ को तामापत्र बाचाको तसल्ली मोहर

गोर्खा राजा पृथ्वीनारायण शाहले – ‘हिजु आफैआफ आपुङगी बसी आए बमोजिम त्यो मुलुक सम्भार गरी जिमीभूमि रहिन्जेल तिम्रो शाखा सन्ताक भोग्य गर । आपुङगी खायनपायन माथि लेखे बमोजिम जिमीभूमि चलन गरी खानू । हामीले खोसे मानी पुजी ल्याएको देवताले हाम्रो राजकाज भंग गरोस ।’ भन्ने तामापत्र वाचाको तसल्लीको मुलकी लालमोहर बाँधी लिम्बूवानका किपटियाहरूलाई दिएका थिए । यस्ता किपटियाहरू सुब्बा कहलिन्थे । लिम्बूवानमा बस्ती बसाउने कार्य यिनै सुब्बाहरूले गरे । यिनीहरूले जात, थर, गोत्र, बोली छुट्याएनन् । कसैलाई अछूत भनेनन् । सबैलाई लिम्बूवानमा ठाउँ दिए । तर आप्रवासीको आगमनसँगै लिम्बूवानमा जातपात, छुवाछुत भित्रियो । कालान्तरमा आफूलाई माथिल्लो जातका ठान्नेहरूले तल्लो जातकालाई भात पानी बाहेक गर्न थाले । फलस्वरूपः वि.सं.१८६७ साल मिति चैत वदी ८, रोज १ मा ‘लिम्बूहरूको जिमिभित्र नीति चन्द्रायन पर्दा बिराउने घरले रूपैयाँ ५, एक पँधेरोको पानी खाने गाउँलेहरूले घरको रूपैयाँ १–१ अरू गाउँमा फेरा दरी सम सार्की घरको आना दुई यस्ता बंदेजले तिरी आफ्ना आफ्ना जात परिधिमा शुद्ध भइरहनु।’ भन्ने बन्देजको लालमोहर बनियो । हिन्दू धर्म र वर्ण–जातको नियमअनुसार पतिया अथवा शुध्दीकरण दिँदा सुब्बाले लालमोहरमा तोकिदिए अनुसार दस्तुर लिन पाउँथे ।

डबल सुब्बास“ग प्रा.आर.के. स्प्रीग

यसरी उपभोग गरी आएको आफ्नै खाइन–पाइनलाई वि.सं.२००७ सालमा लिम्बूहरूको ठूलो दवाब दिएको कारण राजा त्रिभूवनले थामिदिए । तर राजा महेन्द्रले भने वि.सं. २०१६ सालमा लिम्बूवानमा भूमिसुधार लागू गरे । वि.सं. २०२५ सालदेखि किपट रैकर सरह बनाइयो । वि.सं. २०२८ सालमा नापी सर्भेसँगै मालपोत ऐन लागू गराइ लालमोहरिया सुब्बा पद्वी समाप्त गरिदिएको केही महिना नबित्दै माघ १७ गतेको दिन चितवनको दियालो बंगलामा राजा महेन्द्रको मृत्यु भयो । त्यसपछि वि.सं. २०५८ साल जेठ १९ गते राजदरबार हत्याकाण्डमा महेन्द्रको जेठो छोरा राजा वीरेन्द्र अनि कान्छो छोरा अधिराजकुमार धीरेन्द्रको वंश नाश भयो भने माहिला छोरा राजा ज्ञानेन्द्रको शासनकालमा वि.सं. २०६५ साल जेठ १५ गते राजतन्त्र नै समाप्त भयो । डबल सुब्बाको पूर्वज पनि लालमोहरिया सुब्बा थिए । यही कारणले लालमोहरिया सुब्बा इलाम अमिनीका सुब्बा हुँदा उनी डबल सुब्बा नामले प्रसिद्ध भएका हुन् । डबल सुब्बाको जन्म लिम्बूवानको फाल्गुनन्द गाउँपालिकाको पौवा गाउँमा बाबु हर्कबोली (मनप्रसाद) नेम्बाङ आमा कुम्भरानी (रत्नकुमारी) फागोका पुत्रको रूपमा वि.सं. १९७१ साल फागुन २९ गते शुक्रबारको दिन भएको हो । त्यसबेला लिम्बूवानमा छोरीचेलीको सोतरीत खाने चलन थियो । सत्यहाङ पन्थका महागुरू फाल्गुनन्द लिङदेनले प्रचलित कुरीति उन्मूलनका लागि वि.सं. १९८८ साल, बैशाख २४ गतेको दिन दश लिम्बूवान भरिका लिम्बूहरूका प्रतिनिधि भेला गरी सत्यधर्मको मुचुल्का गराएका थिए । डबल सुब्बाले पनि प्रचलित लिम्बू समाजको सुधार सम्पूर्ण रूपले चाहे । यसै चेतनाको उद्बोधन कविताको भावमा उनी यसरी पोख्छन्,

चेलीलाई बेच्नु, ढोगौली पैसा धेरधेरै थापेर ।
तीन वर्षसम्म टीकामा आउ, नबिराई भनेर ।।
रिनपान बोक्नु, घरबारी बेच्नु, जुवाइँ पठाइ ।
छोरी र चेली बेचेर खानु घरबास उठाइ ।।
हे बन्धु ! भन्नोस, कसरी पुग्ला ? त्यसपछि खानलाई ।
घरबार उडे सक्दैनन् साँच्चै, रिनसम्म तिर्नलाई ।।

सामाजिक परिवर्तनको साथै शिक्षाको विस्तार गर्ने अठोट लिइ वि.सं. २००६ सालमा सारतापगाउँमा मनरत्न मिडिल स्कुल स्थापित गरे, जुन हाल आएर सारताप उच्च माध्यमिक विद्यालयमा परिणत भयो ।

डबल सुब्बा (खडगबहादुर) को पत्र

यसरी नै भालुखोप–याङसुवा गाउँ बीच एक, नाम्दु–ईत्थुङ गाउँ बीच एक र मालिङगेनी–चिम्फुला, नागबेले सहित एउटा वा दुई वटा प्राथमिक स्कुलको खडा गरेर आफ्नो खर्कको खर्चरी आम्दामी स्कुललाई दिन चाहन्थे । डबल सुब्बा समाजका हरेक वर्गका मानिसहरू सम्पन्न र शिक्षित भएको हेर्न चाहन्थे । सुब्बा लेख्छन्,

भएका आफ्ना बालबच्चालाई राम्ररी हुर्काउँ ।
शिक्षा र ग्यान दिनदिनै बन्धु! राम्ररी दिलाउँ ।।

वि.सं.२००७ सालको क्रान्तिमा नेपाली कांग्रेसले क्रान्ति सफल गराउन लिम्बूवानमा लालमोहर अनुसार किपट व्यवस्थाको अधिकार राणाहरूले खोसेको फिर्ता दिने वचनको पर्चा बाँडेर जीबी याक्थुङबा, ललितबहादुर तुम्बाहाम्फे, डबल सुब्बा, नरबहादुर नेम्बाङ, देवमान आङदेम्बे, मेदिनीप्रसाद लिम्बू, तेजमान तुम्बाहाङ्फे, शम्शेरबहादुर तुम्बाहाम्फे, मदनबहादुर तुम्बाहाम्फे, प्रेमबहादुर माबोहाङ, प्रसादसिंह नेम्बाङ, काजीमान कन्दङ्वा, नरबीर नेम्बाङ, हरी लिम्बू, गुन्जमान लिम्बू, बीबी चेम्जोंग, कमानसिंह लिम्बू, हरिभक्त जबेगु लगायत धेरै लिम्बूहरूलाई आफ्नो पक्षमा पारेर क्रान्ति सफल बनाए ।

दिल्ली सम्झौतापछि राणाको निरङकुश शासन समाप्त भइ राजाको शासन स्थापना भएर पनि राणाहरूले खोसेका लालमोहरको अधिकार फिर्ता नभएको, किपटियालाई साहुले बडदिनु बन्द गरेकोमा लिम्बूहरू आकुलित थिए । सामयिक सरकारको गतिविधि राणातन्त्र र राजतन्त्रमा खासै फरक नदेखेपछि असन्तुष्ट भएका लिम्बूहरूले विभिन्न ठाउँमा सभा जुलुसहरू निकालेर विरोध प्रकट गरे । इलाम वरिपरि गाउँका लिम्बूहरूले पनि वि.सं. २००८ साल, बैशाख १२ गतेको दिन गाउँ–गाउँबाट जुलुसको साथ इलाम बजारमा भेला भएरजनसभा गर्ने निधो गरे ।

पूर्वाञ्चल सामयिक सरकारले लिम्बूहरूलाई इलाम बजारमा जनसभा गर्न अनुमति दिएन । जनसभाको तयारीमा जुटेका ९ जना लिम्बू नेताहरू बैशाख ११ गते नै पक्राउ परे ।

१२ गतेको जनसभा स्थगित भएको बरबोटे, जसबीरे, जमुना, साखेजुङ आदि गाउँहरूमा खबर पुग्यो । तर फाकफोक तर्फका लिम्बूहरूले भने थाहा पाएनन् । तिनीहरू जनसभामा जुलुसका साथ आउनलाई पुवाखोला पश्चिमतर्फको बाटोमा भेला हुँदै थिए । तिनै लिम्बूहरूलाई गोली हान्न पुरानो राष्ट्रिय सेनाको सहयोग लिएर सामयिक सरकारका प्रमुख नरेन्द्रनाथ बाँस्तोला इलामको पब्लिक हल पछाडि बाटोमा उपस्थित छ भन्ने कुरा डबल सुब्बाले जब सुने उनी बाँस्तोलालाई सम्झाउन त्यहाँ पुगेका थिए । यस सन्दर्भमा नरेन्द्रनाथ बाँस्तोलाले ‘पूर्वाञ्चलमा सात सालको क्रान्ति (२०५३, पृष्ठ ७५(७६)’ नामक पुस्तकमा लेख्छन्, ‘हामी हजारौं लिम्बूहरूको हुलमा ब्रेनगनको ब्रस छोड्ने मनस्थिति लिएर इलामको पब्लिक हल पछाडि गजराजजङ्ग थापाले घोडा–रथ लिएर बगान डुल्न बनाएको बग्गीको चौडा बाटामा एक–एक दर्जन मेगजिन ब्रेनगनमा चार्ज गरेर एकटक आँखा पुवा खोलामा लगाएर बसिरहेको बेला हस्याङ–पस्याङ गर्दै आफ्नो खैरे घोडाबाट हाम्रा अमिनीको विचारी (पछि डबल सुब्बा) खडगबहादुर नेम्बाङ मेरा छेउमा ओर्लिए । उनी विजयबहादुरको आक्रमण आज बेलुकी ५ः०० बजे हुने खबर मलाई भन्न यति हतारिएका रहेछन । पाँचथरबाट साँखेजुङको बाटो गरेर आइपुग्न साथ त्यही घोडा लिएर हाम्रो गतिविधि चर्केको सुनेर केही सल्लाह दिने उनको विचार रहेछ । तर यहाँ स्थिति अर्कै थियो । छोटकरीमा विजयबहादुर मारिएको, उसका फौजका जवान मारिएका, उसका राजनैतिक सल्लाहकार नेता थुनामा परेको यथार्थ सुनाएँ । त्यतिबेरसम्म विचारीको छोराहरू डिल्लीबहादुर र डिल्लीविक्रम पनि त्यहीँ आइपुगे । हतियार बिनाका हजारौं लिम्बू जाति पुवा खोलामा पर्खिरहेको खबर उनले थाहा पाएपछि मलाई ‘यी लिम्बूका सन्तान नमासीदिनुहोस्’ भनेर उनी आफ्ना छोरा र २४ जना अरू लिम्बूहरूलाई पुवा खोलाबाट लिम्बूहरूलाई जसरी भए पनि फर्काउन सल्लाह दिएर उनैले उता पठाए ।’ ‘यत्रो लिम्बू जनता बचाउने काममा सफल भएकोमा मैले खड्गबहादुर नेम्बाङलाई धन्यवाद दिएँ । उनको प्रशंसा गरेर प्रशासनमा सहयोग पाउने आशा प्रकट गरे ।’

त्यसदिन सामयिक प्रशासनले निहत्था लिम्बूहरूमाथि गोली चलाएको भए इलाम लगायत लिम्बूवानभरि साम्प्रदायिक दङ्गा फैलिन सक्दथ्यो । त्यसबाट जनधनको ठूलो क्षति हुने थियो । यो एउटा षड्यन्त्र थियो । दूरदर्शी डबल सुब्बाले यसबाट लिम्बूहरूलाई जोगाए ।

शासकहरूद्वारा नै ‘लिम्बूवान स्टेट’को अफवाह फैलाइएको थियो । विजयबहादुर र साथीहरू अफवाहका शिकार बने । लिम्बूहरूका माग भनेको लालमोहर अनुसार किपट व्यवस्था थियो । पल्लो किरात लिम्बूवान प्रतिनिधि मण्डलले पनि राजा त्रिभूवनदेखि राजा महेन्द्रसम्मलाई चढाएका स्मारक–पत्रहरूमा डबल सुब्बाले वि.सं. २००७ को जनक्रान्तिपछि चैत २६ गतेको दिन पत्रद्वारा सामयिक सरकार समक्ष राखेका विषय नै मुख्य माग थियो ।

शासकको शक्ति भनेको उसको सेना हो । तर जनक्रान्तिपछि गठित सामयिक सरकार आफ्नै जनमुक्ति सेनासँग सतर्क रहन्थे । झापा फ्रन्टको घेराउको समयमुक्ति सेनाका २ नम्बर सेक्सनका कमाण्डर पूर्ण राई (गोदक)को हत्यापछि जनमुक्ति सेनाहरू स्थानीय नेताहरूको व्यवहारदेखि सन्तुष्ट थिएनन् । सेनामा विद्रोह हुन सक्ने सम्भावना प्रवल थियो । यस्तो जटिल परिस्थितिमा डबल सुब्बाको बुद्धिमत्तापूर्ण कार्यको दुवै पक्षले मानी लिए, रक्तपात भएन ।

कतिपय ठाउँमा बड नदिने साहुका ढुकुटीबाट अन्नपानी लुटिए । लुटपातको घटना बड्दै गएपछि पौवा गाउँमा आश्रय लिन आइपुगेकाहरूलाई डबल सुब्बाका दाजु सुब्बा नरबहादुर नेम्बाङ, भाइ नरबीर नेम्बाङले रसद पानी दिएर मद्दत गरे । लिम्बू स्वयम्सेवकहरू आश्रय शिविरको सुरक्षामा रातदिन खटे । सुत्केरी व्यथा लागेर शिविरमा बच्चा जन्माउनेहरूका लागि खाद्यन्नमा घिउ, तेल, मासुको व्यवस्था गरिदिए । सुत्केरीहरू तङग्रिएर सकुशल घर फर्केका थिए ।

राजा त्रिभूवनले लिम्बूवानका सुब्बा नरबहादुर नेम्बाङ, सुब्बा देवमान आङदेम्बे र सुब्बा ललितबहादुर तुम्बाङफेलाई सुभाङगी थामिदिने आश्वासनसँगै दङ्गा रोक्न विशेष निर्देशन दिए । त्यसपछि तिनीहरूले दङ्गाग्रस्त क्षेत्रहरूको भ्रमण गरी विभिन्न थरीको जनतामा आपसी समझदारी र सद्भावना पुनः कायम गरे गराए । घटना फेरि नदोहोरिउन भनी लिम्बूहरूलाई सम्झाइ बुझाइ आन्दोलन स्थगित गराए ।

लिम्बू साहित्यको माध्यमबाट समाज सुधारको आदर्श प्रचार गर्नेतर्फ पनि डबल सुब्बाको नाम सर्वोपरी छ । उनले गीति कविता ‘किराःत मिकहन साम्लो (वि.सं.२०१२)’ खण्डकाव्य लेखे, जुन कृतिले उनलाई अमर बनायो । लिम्बू जातिको भाषा, लिपी, इतिहास र संस्कृतिको विस्तृत खोजीका लागि ईमानसिंह चेम्जोङलाई सुखिमबाट झिकाइ चेम्जोङलाई सक्दो मद्दत गरे । लिम्बू भाषाका अन्वेषक प्रा. आर. के. स्प्रिगलाई पनि सहयोग पुर्याए । यस प्रसंगमा प्रा. स्प्रिगले आफ्नो The Limbu’s-final verb roots adter Mikhailovsky,1979 and Weidert 1982 नामक लेखमा लेख्छन्, ‘काजीमान कन्दङवाको माध्यमबाट मेरो चिनाजान इलाम जिल्लाको Chief Magistrate (अमिनीको हाकिम) खड्गबहादुर नेम्बाङ (नेम्बाहाङ) सँग भयो, जो त्यसबेला डबल सुब्बा (इलाम) भनेर प्रसिद्ध थिए ।

डबल सुब्बाको आतिथ्यमा म सारताप गाउँमा बसे । पाँचथर थुमको सारताप गाउँ त्यसबेला धनकुटा जिल्लाभित्र पर्दथ्यो । उनैले एक जना उनका आफन्त रनधोज (जो दिवांगत भइसके) लाई खटाइ दिएका थिए । उनी दिनदिनै उनको गाउँ इम्बुङ (याम्बोङ)बाट आउँथे अनि कति झिँजो नमानीकन लिम्बू शब्दको ठीकठीक उच्चारण गर्न मलाई सिकाउँदथे । रनधोज नेम्बाङ लिम्बू अक्षर (लिपी) लेख्न सक्दथे । डबल सुब्बाको नाम र सहयोग मेरो कार्यका लागि धेरै अनुकूल साबित हुन पुग्यो  । फलस्वरूप मैले Phonological analysis of verb in Panther dialect of Limbu लेख्न राम्रोसँग सुरू गरें ।’

यसरी जीवनभर समाज सुधारमा लागिपरेका डबल सुब्बाको वि.सं. २०३८ साल, भदौ २ गते, बुधबारको दिन उपचारका क्रममा सिलगढी (पश्चिम बंगाल, भारत) को नर्थ बङ्गाल नर्सिङ होममा निधन भयो र झापाको खुदुनाबारी निवासमा ल्याएर कनकाइ नदी, सुरूङ्गामा अन्तिम दाहसंस्कार गरियो । उनले गरेको अनवरत समाज सेवा र लिम्बू साहित्यको विकासमा पुर्याएको योगदान अविस्मरणीय रहनेछ । (उक्त लेख नारायण नेम्वाङबाट प्राप्त भएको हो ।)

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd