गवारो किराबाट कृषक हैरान « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

गवारो किराबाट कृषक हैरान


यलम्वर टाइम्स
२७ भाद्र २०७७, शनिबार ०३:२९

अर्जुनधारा । धानको बीऊ उखल्दै जाँदा केही बीऊहरु बिहाडमा छाडिएका हुन्छन् । ति बीऊमा सेतो खालको पुतली रहेको हुन्छ । ति पुतलीलाई मार्न सकिएन भने हामीले रोपेको धानमा गएर फुल पार्ने गर्छ । फुल पारेको ४५ दिनपछि लार्भा हुँदै हुर्कदै गरेको धानभित्रभित्रै सखाप पार्ने गर्छ ।

उक्त कुरा एक कृषि प्राविधिकले कृषकहरुमाझ खोले । हुन त उनी सरकारी कर्मचारी भने होइनन् । कृषि प्राविधिक भएर एक दशक बिताइसकेका हुनाले किरा उत्पन्न हुने बारे प्रस्ट्याए ।

सामाजिक अभियान्ताको रुपमा उदाउँदै गरेका कमल पोखरेलले अर्जुनधारा–११ सालबारी घर भएका कृषि प्राविधिक हरिप्रसाद दाहाललाई अर्जुनधारा–७ र ४ को धानबाली सुक्दै गएको गुनासो सुनेपछि ल्याएका थिए ।

प्राविधिक दाहालले पुतलीकै कारणबाट धानमा गवारोले प्रवेश पाएको बताए । उनले भने ‘धानमा लाग्ने यस्तो गवारोले धानबालीलाई मात्र होइन मकै लगायत अन्य अन्नमा पनि असर गर्ने छ ।’

दाहालका अनुसार स्थानीय सरकार र तिनका मातहतमा काम गर्ने कृषि विज्ञहरुले बेलैमा कृषकहरुलाई सचेत नगराए अर्जुनधारामा मात्र होइन सबैतिर उत्पादनमा ह्रास आउने छ ।

यता अर्जुनधारा नगरपालिका क्षेत्रको धानबालीमा गवारो रोगले सताएको अर्जुनधारा कृषि शाखाका प्रमुख उर्मिला राजवंशीले स्वीकारिन् ।

उनी भन्छिन्, ‘धानबालीमा गवारो रोगले छोएको छ । नगरले गएर कृषकहरुको पीडा सुनिदिन बाहेक अर्को विकल्प छैन ।’

रोग लागेको ठाउँ पहिचान गरि औषधी लेखिदिने र नगर प्रमुखलाई प्रतिवेदन पेश गर्न बाहेक अरु केही गर्न नसकेको नगरका जेटीए अर्जुन पौडेलले बताए ।

धान रोप्नुअघि र रोपेपछि हुर्काउने कसरी प्राविधिक ज्ञानकै अभावले वर्षौदेखि सास्ती भोग्दै आएका गाउँले कृषकहरुलाई उन्नत प्रविधिबाट रोप्ने र फलाउने विधि सिकाउने दक्ष प्राविधिकको अभाव भएको कारण मारमा परेको सम्बन्धित कार्यालयका प्रमुखले स्वीकारेका छन् । तर पनि कम जनशक्तिबाट कृषकहरुलाई ज्ञान दिइरहेको हुनाले हरेक स्थानीय तहमा कृषि विज्ञको आवश्यकता रहेको औल्याए ।

नगरका जेटीए पौडेलका अनुसार कृषकहरुले बोलाएको ठाउँमा आफूहरु पुगेको र गवारो किराका कारण सबैभन्दा बढी नगरको वडा नं. १, २, ३ त्यसरी नै ४, ७ र १० मा बढी क्षति भएको स्वीकार्दै त्यस ठाउँमा कृषकहरु आफै चनाखो हुन सकेनन् भने उत्पादनमा कमि आउने बताए ।

जेटीए पौडेलले जहाँ कृषकहरुले बोलाउँछन्, त्यस ठाउँको धानबाली हेरि लागेको रोगको औषधी लेखेर आउने गरेको बताउँदै यस विषयमा स्थानीय सरकार र कृषकबीच सम्वादसँगै समाधानको बाटो खोज्नु पर्ने जनाए ।

मलको अभावले सास्ती भोग्नु परेको किसानले जसोतसो धानबाली त हुर्काए तर, धान पोटाउने बेलामा गवारो किराले बोट नै सुकाइदिँदा कृषकहरु अझ मारमा परेका छन् ।

अर्जुनधारामा यो वर्ष ६२५० हेक्टरमा बर्खे धान लगाइएको छ । मौसमले राम्रो साथ दिए पनि अन्नमा लाग्ने किराले हैरान पारेको हुँदा अन्न फल्ने ठाउँहरु सुकेर जाँदै गरेको कृषकहरु बताउँछन् ।

अग्र्यानिक उत्पादनमा नगरको सोच रहे पनि उक्त नारा, नारामै सीमित भएको हुँदा सार्थकता प्रदान गर्न कृषि विज्ञको आवश्यकता भएको कृषक प्रेमबहादुर लिम्बूले प्रतिक्रिया दिए ।

प्रेमबहादुर मात्र होइन, गणेश थापाले पनि नगरको सबै जमिनलाई उपचार गरि कृषकहरुलाई एक ठाउँमा राखेर कृषि ज्ञान सम्बन्धि प्रशिक्षण दिन सके उत्पादनमा सहजता आउने बताए ।

अर्जुनधारा–७ घर भएका कृषक राजेन्द्र निरौलाका अनुसार प्रत्येक वडामार्फत जमिनको परीक्षण गराई निर्माण भएका टोलमार्फत कृषि कार्यक्रम ल्याउन सके यस्तो खालको सास्ती भोग्नु नपर्ने बताउँदै सरकारको ध्यान त्यसतर्फ जानुपर्ने बताए ।