इभेङ काका… (लघुकथा)

गञ्जी र जर्सी हाफ्पाइन्टमा घाँटीमा रुद्राक्षको माला, आधा कालो आधा सेतो, लामो लट्टा परेको केश, शिरको माथि गुजुल्टो पारेर बाँधेको खाली खुट्टा एउटी सानी नानीसँग आफ्नै सुरमा नबुझिने शब्दहरु बढबढाउँदै हिँडिरहेको होचो कदको बुढ्यौलीले मित लगाउन खोजे जस्तो उमेरको मान्छेले मेरो ध्यान खिच्यो । विपरीत दिशाबाट आएका हामी एउटै घुम्तीबाट ओरालो झ¥यौं । उनीहरु अघि लागे म पछि । गन्तव्य हाम्रो एउटै रहेछ र पनि बिना कुनै संवाद हाम्रो यात्रा गन्तव्यमा पुगेर रोकियो । बुढाप्रतिको जिज्ञासाले मैले घरमुलीलाई सुटुक्क सोधेँ । उनी धामी रहेछन् र त्यो नानी उनकी नातिनी ।

घरबेटी बालाई केही दिनबाट सञ्चो थिएन । ‘यसो के–के गर्न बोलाएको, साह्रै तर्सेको तर्सियै गर्नुहुन्छ,’ घरबेटी आमैले प्रष्ट्याइन्  । सबै जना भान्सा कोठामा जम्मा थिए । चिया पिउँदै धामी बाले चामल च्यापेको औंला ढोग्दै झर्के थालमा राख्दै आफ्नो कार्य आरम्भ गरे । मैले उनकी सानी नातिनीलाई बोलाउन खोज्ने असफल प्रयास मात्र गरें । ‘जंगलको पुच्छारमा घर छ । त्यति मान्छे पुग्दैन । घरका मान्छे बाहेक अरुसँग बोल्दैन, कुसुण्डा छ है सर यो त ।’ बुढाले मसँग आफै औपचारिक संवाद शुरु गरे । घरबेटीले आफ्नै बारीमा भएको देविस्थानको बिरुवा काटेर दुःख परेको जोखाना निकाले धामीले । फलाक्न शुरु गरे, ‘माफ गर देवी यो तिम्रो अज्ञान बाला… जानेन… बिरायो… माफ गर, तिमीलाई यो धुप बात्ती, फूल चढाएर माफि माग्छु… गल्ती भयो…. इस्फू…. इस्फू…. इस्फू…. ।’ दुई चार चोटी दुईचार गेडा चामल औलाले च्यापेर घरबेटी बाको टाउको छेउबाट ल्याउँदै खुट्टा छेउसम्म ल्याएर ढोका बाहिर हु¥याउँछन् । अनि भोलिपल्ट बिहान नुहाइधुहाइ गरेर शुद्ध मनले फूल चढाएर देवीलाई माफि माग्न सुझाउँछन् ।

उनको झारफुके डाक्टरी कति खेर सकिएला र उनीसँग गफिउँ, म उत्सुक थिएँ । उनको मिठो तोत्याङ्ग्रो लवज र अति सामान्य तर अनौठो व्यक्तित्वले तान्यो क्यार । उनको नाम रहेछ मानबहादुर । घरमा बुढी आमा, दुई भाई छोरा र एउटी नातिनीको साथ बस्दारहेछन् । श्रीमतीले दश वर्षअघि एकपाखे बनाएपछि । ‘छोराहरु काम नलाग्ने छन् काकाका,’ घरबेटी बा बोले च्वाटै निको भएझैं एक्कासी । जेठो छोरोे कमाउन भारत गएका बेला बुहारी सानी दूधे छोरी छोडेर पोइला गइ रे ! त्यस यता गाउँमा झारफुक गर्न हिंड्दासँगै लिएर हिँड्दा रैछन् नातिनी । निरक्षर उनले , ‘शिवजीले सपनामा दर्शन दिनुभयो अनि मलाई मान्छेको सेवा गर्न भन्नुभयो, म शिवभक्त हो ।’ भने, सायद आफु धामी हुनाको रहस्य बलाएका होलान । ंयति हुँदासम्म खाना तयार थियो, खाना खाएर सबैसँग बिदाबारी भएर घरबेटी आमैले ठिक्क पार्देको झोला बोकेर ‘सारै पो दुःख गर्नु भो हौ नानी,’ भन्दै बुढा नातीनीलाई अघि लगाएर घर तिर लागे । ठुलो साँझ परिसकेको थियो र सायद कृष्ण पक्षको रात हुँदो हो , न कुनै बत्ती न कुनै उज्यालो आफ्नो गन्तव्यतिर लम्किएका ती बुढाका पाइलासँगै मैले देश सम्झिएँ, देशको राजनीती सम्झिएँ, लोकतन्त्रको सपना सम्झिएँ, शहरको उज्यालो सडक सम्झिएँ र अनायास त्यो निस्पट अध्यारो जंगलको बाटोमा पुगेको मात्र के थिएँ । ‘ल है चिन्ता लिनु पर्दैन जंगल मेरो घर हो र जंगली जीवजन्तु मेरा साथी, फेरी मसँग भगवानको शक्ति जो छ ।’ झसङ्ग भए म बुढाले मेरो मनको कुरा देखेर कराए वा डर भगाउन कराए मैले बुझ्नै सकिन । म अवाक निर्जिव झैँ उभिएर हेरिरहेँ जुनकिरीको उज्यालोमा हिँडीरहेको त्यो अचम्मको मावन चोलालाई । इलामको इभाङबाट आएकाले उनको नाम इभेङ भएको रहेछ गाउँभरी, उनी हिँडेपछि घरबेटी आमैले सुनाइन् । उनको घर चलाउने मुख्य स्रोत नि त्यै रहेछ । पुराना संस्कार सँस्कृती एक्काइसौं शताब्दीको विज्ञानको युगमा पनि जीवन चलाउने माध्यम हुन सक्ने रैछन् । ओछ्यानमा पल्टिएर सम्झिएँ यसरी नै जीवन चलाउने र हामीलाई हाम्रा संस्कार भनेर गौरव गर्ने बनाउने धाँमी, झाँक्री, फेदाङ्गवा, जोगी आदि कति होलान् ? के उनीहरुको जीवन पनि इभेङकोभन्दा उज्यालो होला त ?

अर्को भेटमा स्कुलको चौरमा परबाट के के कराउँदै छेउमा आइपुगे अनि मन्दिर बनाएको छु भतिज शिवजीको घर अगाडि भनेर कहिल्यै दन्त मञ्जन नदेखेको सुनौलो दाँत देखाएर ङिच्च हाँसे खुसीले । लाग्यो सायद खुसी हुन उसले मात्र जानेको हुन्, यो सारा ब्रह्माण्डमा । अनायासै सोरियो उनको अनुहार, ‘आमा नि भगवानको प्यारो भइन, यस्तै त रैछ मान्छेको चोला भतिज माथिल्लो गाउँतिर हिँडेको हौ डाँडाघरे साँइलाकामा’ भन्दै उकालो लागे । आमाको मृत्यु हुँदा नि आफैले आफैलाई ढाडस दिइरहेको उसको पानी सुके झैँ लाग्ने आँखामा हेरेर मैले आमा बितेको थाहा पाइन भन्नै सकिन । लाग्यो गरिबको मृत्यु, मृत्यु होइन रहेछ, गरिबको समाज, समाज होइन रहेछ । किनभने इभेङकी आमा खसेको कुरा गाउँमा कसैले सुनेन । न कोही मृत्यु संस्कारमा सहभागि नै भयो । न दुःखमा मलम लगायो । मैले मन मनै भनें, ‘मलाई माफ गर काका, मैले खबर नै सुनिन नत्र…..।’ उनलाई प्रत्यक्ष यसो भन्न मसँग मानवीय अधिकारसम्म पनि थिएन । फेरि सम्झें,’ समाजमा यस्ता इभेङहरु कहिलेसम्म रहलान ? कुनै तन्त्र या कुनै दर्शनद्वारा यिनीहरुको अस्तित्व सकिएला ?’ गरिबी, अभाव र दुःखलाई नी कायल बनाएको कुनै पनि कालखण्डको कुनै परिवर्तनको उज्यालोले स्पर्श गर्न नसकेका ती इभेङ काका भेटि रहे, त्यही रुपमा त्यसै गरी वर्षौंसम्म ।

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd