कोरोना परीक्षणको दायरा बढाऊ « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

कोरोना परीक्षणको दायरा बढाऊ


यलम्वर टाइम्स
३ भाद्र २०७७, बुधबार ०७:४१

कोरोना संक्रमण (कोभिड–१९) बाट सारा विश्व आतंकित बनेको छ । सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखा पर्ने कोरोनाकै कारण विश्वमा लाखौं मानिसले ज्यान गुमाइसकेका छन् । सुरुमा ज्वरो आउने र पछि श्वासप्रश्वासमा समस्या आउने र अन्त्यमा ज्यानै लिने यस रोगले डर लाग्दो अवस्थाको सृजना गर्दै आएको छ । संक्रमण फैलदै जाँदा नेपालमा पनि माघ १० गते एक युवामा कोरोना पोजेटिभ देखिएको थियो । चीनकै वुहान युनिभर्सिटीमा अध्ययन गर्दै गरेका ति युवामा कोरोना संक्रमण देखिएपछि उनी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको निगरानीमा रहे । उनी कोरोना मुक्त बने पनि अन्य मुलुक र भारतबाट स्वदेश फर्कने नेपालीमा कोरोना संक्रमण देखिन थाल्यो ।

कोरोना संक्रमित र मृत्युवरण गर्नेको संख्या दिनप्रतिदिन बढ्दै जाँदा सरकारले परीक्षण गर्ने दायरामा भने तिव्रता दिन सकिरहेको छैन । संक्रमितको संख्या दिनकै बढिरहेको अवस्थामा उनीहरुलाई राख्नका लागि पर्याप्त मात्रामा आईसोलेशन वार्ड निर्माण गर्न सकिरहेको छैन । आईसोलेशन वार्ड अभावकै कारण अर्जुनधाराको क्वारेन्टिनमा रहेका २ युवामा कोरोना पोजेटिभ देखिए पनि उनीहरुलाई क्वारेन्टिनमै राख्नु परेको थियो । यो समस्यालाई आगामी दिनमा आउन नदिनका लागि अर्जुनधारा नगर सरकारले सरकारी मापदण्ड अनुसार नै आफ्नो नगर क्षेत्रमै आईसोलेशन वार्ड निर्माण गर्ने भएको छ । यो सकारात्मक र स्वागत योग्य छ । तर सबै स्थानीय तहले नै गर्ने र संघीय सरकार चुप लागेर बस्ने हो भने सरकार भएको र नभएको केही फरक पर्दैन । सरकार आम नागरिकको अभिभावक हो । आफ्ना सन्तानको रक्षा गर्नु हर अभिभावकको कतव्र्य हो । तर, यस्तो अवस्थामा पनि परीक्षणका नाममा भ्रष्टाचार हुने गरेको छ । त्यसलाई रोक्न दुई तिहाईको सरकार अग्रसर हुनुपर्छ ।

नेपालको हकमा कोरोना संक्रमण हिजो अन्य मुलुकबाट आउने व्यक्तिहरुमा मात्र देखा परेको थियो, तर आज समय त्यो रहेन । कोरोना समुदायस्तरमा पनि देखिन थालेपछि थप सचेत र सजग हुन जरुरी छ । त्यस्तै सरकारले पनि कोरोना परीक्षणको दायरालाई तिव्र गतिमा बढाउनुपर्ने हुन्छ । सरकारकै सहयोगका लागि झापामा समुदायस्तरबाटै रकम संकलन गर्दै पीसीआर परीक्षण प्रयोगशाला सुरु गर्न लागिए पनि अनुमति नदिँदा अन्यौलमा छन् । समुदायस्तरबाट निस्किएको सहयोगका हातलाई सरकारले अनुमोदन गर्दै पीसीआर परीक्षण प्रयोगशालालाई अनुमति दिन जरुरी छ र समुदायस्तरमै कोरोनाको परीक्षण गर्न पनि आवश्यक छ । संक्रमण भुषको आगो जसरी सल्किदै गइरहेको छ । सरकारले त्यसलाई मनन्, मुल्याङ्कन गर्दै परीक्षणलाई गति दिन आवश्यक छ । त्यसमा स्थानीय, प्रदेश र संघीय सरकारले चासो देखाउन जरुरी छ ।