जनताको घरआँगनमा पुगे मुख्यमन्त्री राई « Yalambar Times
३ बैशाख २०८१, सोमबार

जनताको घरआँगनमा पुगे मुख्यमन्त्री राई


यलम्वर टाइम्स
३१ श्रावण २०७७, शनिबार ०१:२४

अर्जुनधारा । बर्खा टर्दै गरेको समयमा नगरले गरेको विकासका विषयमा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले अर्जुनधारा नगरपालिकाको विभिन्न वडामा पुगेर अवलोकन गरेका छन् ।

विहीबार १२ बजे अर्जुनधारा नगरपालिकाको भवनमा आइपुगेका मुख्यमन्त्री राईसँगै कृषि राज्यमन्त्री राम रानाको पनि उपस्थिति थियो ।

नगरपालिकाको सभाकक्षमा भव्य स्वागतका साथ पत्रकारहरुसँग अन्तरक्रिया गर्दै मुख्यमन्त्री राईले कोरोना संक्रमणले मुलुकलाई अछुतो बनाइरहेको बेला जनताको स्वास्थ्य, खाद्यमा सरकारको विषेश ध्यान रहेको बताए ।

मुख्यमन्त्री राईले विश्वलाई नै कोभिड–१९ ले आक्रान्त बनाइरहेको बेला विकासको फड्कोमा गतिशिल हासिल गर्न नसकेतापनि पहिचान भएका ठाउँहरुको विकास हुँदै आएको बताए ।

उनले कोभिडसँग जुद्दै महत्वपूर्ण र गर्दै आएका कामहरु नरोकिएको जनाए । प्रदेश १ समृद्ध प्रदेश निर्माणमा पछि नहट्ने, प्रदेशभित्रका स्थानीय पालिकाहरुलाई साथ र सहयोग गर्दै जाने समेत पत्रकार सम्मेलनमा बताए ।

अर्जुनधारा नगरपालिकाको निम्तोलाई स्वीकार गर्दै यस क्षेत्रको अवलोकन भ्रमण र देखिएका समस्याको समाधान गर्न पनि आफ्नो यात्रा रहेको मुख्यमन्त्री राईले जनाए ।

उनले अर्जुनधारा–६ र ९ मा जोडिने कालोपत्रे पनि उद्घाटन गरेका थिए ।

सोही दिन शनिश्चरे बजारमा रहेको कृष्ण–अर्जुन रथको प्रतिमा पनि उद्घाटन गरेका थिए । कृष्ण–अर्जुन रथको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीले शनिश्चरे बजारको पहिचानका विषयमा बताएका थिए ।

मुख्यमन्त्री राईले कांग्रेस नेता बुढाथोकीको उपस्थितिलाई आत्मसम्मान गरेका थिए । औपचारिक हुनुअघि प्रतिमा अगाडि कांग्रेस नेता बुढाथोकीले यस क्षेत्रको पहिलो गाविस अध्यक्ष आफू भएको बताएपछि मुख्यमन्त्री राईले बुढाथोकीलाई भने, ‘तपाई झापाको अभिभावक हो ।’

प्रतिमा उद्घाटन कार्यक्रममा कृषि राज्यमन्त्री राम राना, नगर प्रमुख हरिकुमार राना, प्रतिनिधि सभा सदस्य पवित्रा खरेल, माननिय प्रेम गिरी, उपप्रमुख कमला आचार्य, वडाध्यक्ष गोपीचन्द्र गौतम, ध्यानबहादुर भारती, बलदेव गोम्देन, लोकनाथ गौतम लगायतको सहभागिता रहेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले सञ्चालन गरेको कार्यक्रममा प्रतिमा उद्घाटन गर्नुअघि अर्जुनधारा जलेश्वरधामका बटुकहरुबाट स्वस्ति वाचन गरिएको थियो ।

सोही दिन २ः३० बजे बस्ती विकासका लागि तयार पारिएको घरको समेत अवलोकन गरिएको थियो । वडा नं. ३ मा रहेको उक्त बस्तीमा नगर प्रमुख हरिकुमार रानाले समस्या अझ जटिल देखापरे केही दिनका लागि क्वारेन्टिन खडा गरिने समेत मुख्यमन्त्री राईलाई जानकारी गराए ।

आवास निर्माण समितिका अध्यक्ष ढुण्डी गौतम, वडा नं. ३ का अध्यक्ष जीवन भण्डारी लगायतले भवन निर्माणको विषयमा अवगत गराएका थिए ।

सोही दिन मुख्यमन्त्री राईले अर्जुनधारा–२ खुदुनाबारीमा खुदुनाबारी कृषक समूहद्वारा सञ्चालित दूग्ध चिस्यान केन्द्रको उद्घाटन गरेका थिए ।

२ः४५ बजे उक्त चिस्यान केन्द्र उद्घाटन गर्दै कृषकहरुको समुचित विकासमा टेवा पुग्ने गरि प्रदेशले कार्यक्रम ल्याएको बताएका थिए ।

कार्यक्रममा कृषि राज्यमन्त्री राम रानाले समूहगत भई सहयोग माग्न आए प्रदेशले सहयोग दिने बताए ।

कार्यक्रमको अध्यक्ष तुलसीप्रसाद ढकालले मुख्यमन्त्री राईलाई ज्ञापनपत्र बुझाउँदै २१५ घर आवद्ध रहेको यस कृषक समूहमा १५०० जनसंख्या लाभान्वित भएको बताउँदै दैनिक ५०० लिटर दूध संकलन गर्ने गरेको बताए ।

उनले बुझाएको ज्ञापनपत्रमा संस्थाको भवन र बजारिकरणका लागि माग गरेका थिए ।

यसरी नै ३ः२५ बजे खोलाले गम्भीर रुपमा क्षति पुर्याएको टाङटिङ नदीको पनि मुख्यमन्त्री राईले अवलोकन गरेका थिए ।

अर्जुनधारा–२ मा पर्ने झेलेनीमा नगरपालिकाले चेकड्याम कसेर औद्योगिक पार्क निर्माणका लागि तयार पारेको क्षेत्रलाई समेत टाङटिङ नदीले कटान गरेपछि औद्योगिक पार्कको संरक्षणमा ढुंगाको चेकड्याम आवश्यक भएको बताएका थिए ।

करिब तीन विगाह जमिनलाई चेकड्याम कस्न ८० लाख बढी खर्च भएको समेत जानकारी दिए । सोही ठाउँमा औद्योगिक पार्कका लागि विभिन्न कारखाना तथा चिस्यान केन्द्र खोल्न ठीक पारिएको नगर प्रमुख हरिकुमार रानाले बताए ।

यसरी नै ३ः४० मा अर्जुनधारा–१ मा रहेको स्वाभलम्बी दूध संकलन केन्द्रको पनि उद्घाटन गरेका थिए । १५०० महिला समेटिएको उक्त दूध संकलन केन्द्रलाई अगाडि बढाउन आर्थिक अनुदान आवश्यक भएको संस्थाका खड्गमाया पराजुलीले बताइन् ।

कार्यक्रममा मुख्यमन्त्री राईले समूहगत र सहकारीबाटै मानिसको आर्थिक वृद्धि हुने बलियो आधार भएको हुँदा नगरको वडा र टोलमा यस्ता खाले उत्पादनशील संघसंस्था निर्माण भएको खुशी व्यक्त गरे । उनले ज्ञापनपत्र बुझ्दै प्रदेश सरकारले सम्बोधन गर्ने समेत बताए ।

कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले नगरलाई समृद्ध नगर बनाउन इमान्दारी संघसंस्थाको आवश्यकता भएको बताउँदै खुदुनाबारी क्षेत्रमा सञ्चालन भएका कार्यक्रम नगरको गहना भएको जनाए ।

कार्यक्रममा माननिय प्रेमबहादुर गिरी, नेकपा जिल्ला अध्यक्ष चिन्तन पाठक, प्रदेश सांसद बृख प्रधान, उपप्रमुख कमला आचार्य, प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल, स्वास्थ्य शाखाका प्रमुख मुकुन्द बस्नेत, पशु सेवा शाखाका प्रमुख पदमलाल राई, वडा नं. १० का अध्यक्ष बलदेव गोम्देन लगायतको आतिथ्य रहेको सञ्चालक खगेन्द्र लिङ्देनले जानकारी दिए ।

४ः३५ मा नेकपा कार्यकर्तालाई सम्बोधन

अनौपचारिक कार्यक्रम सकिएपछि मुख्यमन्त्री शेरधन राईले नेकपा अर्जुनधाराको कार्यालयमा कार्यकर्तामाझ संगठनको विषयलाई लिएर सम्बोधन गरेका थिए ।

‘जनताको विश्वासको आधार बोकेर अगाडि बढेको प्रदेश सरकार नेकपाको बलियो आधार बनेको सरकार हो । प्रदेश सरकारले जनतामा आलोचित हुने कार्य गर्ने छैन र म आलोचित हुने काममा लाग्ने छैन ।’ उनले अगाडि भने ‘प्रदेश सरकारको मातहतमा रहेका सरकारले पनि आलोचित हुने कार्यमा लाग्ने छैनन् । यो बेला कामको समिक्षाको समय बनेको छ राम्रो कामको प्रशंसा नराम्रो कामको सुझाव आवश्यक रहेको छ ।’

संविधान लेख्न समेत सफल भएको नेकपा आन्तरिक मन्थनमा केही समस्या आए पनि जनताको भावना र आकंक्षालाई मेट्न नेकपा सदैव एक हुने बताए ।

आफू नेकपाको सहईन्चार्ज भएर अगाडि बढ्दा सरकार र कार्यकर्ता बीचको सम्बन्धमा सुमधुर बनाउन पार्टी सक्रिय हुनुपर्ने र बनेको सरकारलाई उचाईमा पुर्याउन पार्टी कार्यकर्ता लाग्नुपर्न बताए ।

करिब ३५ मिनेट सम्बोधन गरेका राईले पूर्वएमाले र पूर्वमाओवादी बीचको एकता समृद्ध नेपाल, सुखी नेपाली नै थियो । त्यो अटुट रहिरहने दोहोर्याए ।

नगर अध्यक्ष प्रेमसागर सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका जिल्लादेखि केन्द्रीयस्तरका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको सचिव राजु शेर्माले बताए ।

व्यवसायीहरुले बुझाए ज्ञपानपत्र

अर्जुनधारा क्षेत्रका शिक्षक, निर्माण व्यवसायी, क्रसर उद्योग, व्यापारीहरुले मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाउँदै विभिन्न माग राखेका थिए । नेपाल शिक्षक महासंघका अर्जुनधारा अध्यक्ष पुण्यप्रसाद सुवेदीले ८ सुत्रिय मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञपानपत्रमा कोभिड–१९ सँगै मारमा परेको शिक्षा क्षेत्रबारे प्रदेश सरकारकोतर्फबाट आवश्यक नीति र स्रोतको व्यवस्था गरिदिनुपर्ने, न्यून स्रोतबाट बालशिक्षा अध्ययन गराउने शिक्षकहरुको प्रोत्साहन भत्ता, पारिश्रमिक सुविधाको व्यवस्था गरिनुपर्ने, नगरभित्र रहेको ५ वटा विद्यालयको पूर्वाधारसम्बन्धि योजनामा अधुरा रहेका काम पूरा गरिनुपर्ने, स्मार्ट विद्यालय निर्माण कार्यक्रम अन्तर्गत सिंहदेवी माविमा आईसीटीका लागि सघन लगानी गरिनुपर्ने, प्राविधिक विद्यालयको रुपमा विकसीत भएको यस क्षेत्रको एकमात्र विद्यालय भानु माविको स्तरोन्नति गरिनुपर्ने, झापाकै दोस्रो पुरानो विद्यालय शनिश्चरे माविमा ११ र १२ मा विज्ञान संकाय सञ्चालनको प्रचुर सम्भावना रहेकाले उद्योग, वन तथा पर्यटन मन्त्रालयबाट सामुदायिक माविका लागि उपलब्ध गराईने विज्ञान प्रयोगशाला शनिश्चरे माविलाई पनि उपलब्ध गराइनुपर्ने जस्ता माग रहेका छन् ।

यसरी नै निर्माण व्यवसायीहरुले ज्ञापनपत्र बुझाउँदै निर्माण कार्यमा सहजीकरण गर्नका साथै अधुरा कामहरुलाई निरन्तरताको बाटोमा लैजान प्रदेश सरकारको भूमिका अह्म रहनुपर्ने सुझाएका थिए । निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष मिलन बस्नेतले मागसहितको ज्ञापनपत्र बुझाएका थिए ।

यसरी नै क्रसर व्यवसायी संघले ध्यानाकर्षणसहित ज्ञापनपत्र माननिय मुख्यमन्त्री शेरधन राईलाई बुझाएका छन् ।

ज्ञापनपत्रमा भनिएको छ, नेपाल सरकारको नीति निर्माणमा रहेर व्यवासय सञ्चालन गर्दै आएका छौं । ढुंगा, गिटी, बलुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ बमोजिम पुराना मापदण्ड पूरा नभएको क्रसरलाई उपयुक्त स्थान दिइ व्यवस्थापन गराउने छ भन्ने पूर्ण विश्वास लिएका छौं । क्रसर उद्योगले हालसम्म यस जिल्लाका कुनै पनि खोलाबाट आफै उत्खनन् गर्ने कार्य नगरिएको र खोला ठेकेदारबाटै नदीजन्य पदार्थ खरिद गरि प्रशोधन तथा उत्पादन गरिएको अवस्था रही आएकोमा विभिन्न निकायबाट केही अवरोध आएकोमा त्यसलाई सहजीकरण गर्न माग गर्दछौं ।

क्रसर व्यवसायी संघका अगुवा शेरबहादुर थापाले क्रसर व्यवसायी संघको समस्यामा उच्च मुल्याङ्कन गर्न समेत आग्रह गरे ।

अर्जुनधाराको सामुदायिक भवनमा ५ः३० बजेबाट व्यवसायीसँग गरिएको अन्तरक्रियामा व्यवसायी बलराम कार्की, भिमचन्द्र भट्टराई, वाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराई, युवा व्यवसायी नविन गट्टानी, वाणिज्य संघ अध्यक्ष बसन्त सोमानी, चेम्वर अफ कमर्शका पुष्प रेग्मी, सहकारी अभियान्ता रुद्रमणि श्रेष्ठ लगायतले आ–आफ्नो विषय राखेका थिए ।

अन्तरक्रियामा कृषि राज्यमन्त्री राम रानासँग कृषकहरुको समस्या समाधानका लागि चेम्वर अफ कमर्शका अध्यक्ष रेग्मीले मलका विषयमा प्रश्न राख्दा केही छिन हाँसो समेत उठेको थियो ।

राज्यमन्त्री रानाले मल विदेशमा छ भनी डाइरेन्ट उत्तर दिँदा सहभागि एक कृषक समेत छक्क परेका थिए । पछिल्लो पटक मन्त्री रानाले जवाफ दिने क्रममा कोभिड–१९ का कारण बाहिरबाट मल ल्याउन नसकिएको जवाफ दिएपछि केही शान्त भएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री राईले व्यवासयीहरुलाई आई परेका समस्याका विषयमा प्रदेश सरकार गम्भीर भएको जानकारी दिँदै नगरको अवलोकानमा पूर्व अर्जुनधारा आइपुग्दा व्यवासयीसँग भएको साक्षत्कार महत्वपूर्ण भएको समेत जानकारी दिए ।

शुक्रबार जलेश्वर धाममा अवलोकन

मुख्यमन्त्री शेरधन राईले शुक्रबार पूर्वकै पशुपतिनाथले प्रचलित धार्मिक पर्यटकीय क्षेत्र अर्जुनधारा जलेश्वर धामको अवलोकन गरेका थिए ।

अवलोकन पश्चात धाम समितिका अध्यक्ष नविन गट्टानीले धामको गुरु योजना पेसेका थिए भने उपाध्यक्ष भिमचन्द्र भट्टराईले धामको इतिहासका विषयमा जानकारी गराएका थिए ।

जानकारी पश्चात मुख्यमन्त्री राईले यस क्षेत्रका सांसद तथा नगरपालिकाले पनि विकासका लागि आर्थिकका विषयमा माग गरेको बताउँदै आउने दिनमा गुरु योजनालाई सम्बोधन हुने गरि सहयोग गर्ने वचन दिएका थिए ।

धामका सचिव शिवलाल खतिवडाले सञ्चालन गरेको कार्यक्रममा प्रवेशका बेला धामका बटुकहरुले स्वस्ति वाचन गर्दै स्वागत गरेका थिए । कार्यक्रममा वडा नं. १० का अध्यक्ष बलदेव गोम्देन लगायतको आतिथ्य रहेको थियो ।

विल्डकनको अवलोकन

अर्जुनधारा भ्रमणमा रहेका मुख्यमन्त्री शेरधन राईको टीमले नेपालकै पहिलो ब्लक उद्योग विल्डकन इन्डस्ट्रिको अवलोकन गरेका थिए ।

अर्जुनधारा–७ मा पर्ने उक्त इन्डस्ट्रिबाट उत्पादित ईटा, पेभेज र होलो ब्लकका विषयमा इन्डस्ट्रिका प्रमुख नविन गट्टानीले व्याख्या गरेका थिए ।

स्थानीयमात्र नभई प्रदेश सरकारले पनि यसलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । अवलोकनमा सुशिल अग्रवालले पनि उत्पादनका विषयमा र बजारीकरणका विषयमा सहज भूमिका खेल्न प्रदेश सरकारसँग माग गरेका थिए ।

अवलोकन गर्दै मुख्यमन्त्री राईले सरकारी प्रयोगमात्र नभई अन्यको पनि उत्तिकै आवश्यक रहे व्यवासयलाई अगाडि बढाउन सकिने जनाउँदै प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा कृषि राज्यमन्त्री राम राना, नगर प्रमुख हरिकुमार राना, वडा नं. १० का अध्यक्ष बलदेव गोम्देन, व्यवासयी भिमचन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो ।