नदीजन्य सामग्री उत्खनन्का लागि अर्जुनधारा नगरपालिकाले ठेक्का लगाउने « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

नदीजन्य सामग्री उत्खनन्का लागि अर्जुनधारा नगरपालिकाले ठेक्का लगाउने


यलम्वर टाइम्स
२३ श्रावण २०७७, शुक्रबार ११:४५

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्षको लागि नदीजन्य सामग्री उत्खनन्, संकलन र निकासी ठेक्काको लागि प्रक्रिया अगाडि बढाएको छ ।

नगरपालिकाले यस वर्षको लागि प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गरेर नदीजन्य सामग्री उत्खनन्, संकलन र निकासीका लागि प्रक्रिया अगाडि बढाएको हो ।

गत आर्थिक वर्ष नगर क्षेत्रका नदी ठेक्का नलाग्दा नगरको करोडौं रुपैयाँ राजश्व गुमेको थियो । आन्तरिक आम्दानी गुमेपछि नगरको गतवर्षको विकासका योजना प्रभावित बनेसँगै नगरले यस बर्ष समयमै ठेक्का प्रक्रियाको काम अगाडि बढाएको हो ।

नगर क्षेत्र भएर बग्ने बिरिङ, टाङटिङ, नेते र गोयाङ खोलामा उत्पादित सामग्रीको उपयोग गरेर राजश्व संकलन गर्ने योजनामा नगरपालिका रहेको छ ।

नगरले बिरिङ खोलाको ७ र टाङटिङ खोलाको ५, ठुलो नेते खोलामा ५ स्थानमा उत्खनन् गर्न पाइने बताएको छ ।

बिरिङ खोलाबाट ९३ हजार, टाङटिङ खोलाबाट ७९ हजार ५० र ठूलो नेतेबाट १४ हजार घनमिटर सामग्री संकलनका लागि नगरले ३ करोड ३५ लाख ८४ हजार न्यूनतम अंक निकालेको हो ।

अघिल्लो वर्ष पनि नदीजन्य सामग्रीको ठेक्का नलाग्दा यस वर्ष उत्खनन्को विषयमा नगरपालिका समयमा नै लागि परेको नगर प्रमुख हरिकुमार रानाको भनाई छ ।

नगरपालिकाले असोज १ गतेदेखि उत्खनन् गर्न अनुमति दिने उद्देश्यले ठेक्का प्रक्रिया शुरु गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले जानकारी दिए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य पवित्रा निरौला, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला समुदायका प्रतिनिधि, प्राविधिक लगायतको सहभागिता रहेको थियो ।