साउन २२ मा लालमोहर सन्धी गर्दै लिम्बूवानी जनताको अधिकार खोसियोः जनमुक्ति « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

साउन २२ मा लालमोहर सन्धी गर्दै लिम्बूवानी जनताको अधिकार खोसियोः जनमुक्ति


यलम्वर टाइम्स
२३ श्रावण २०७७, शुक्रबार ११:३४

[राज खम्बू]

सुरुङ्गा । राष्ट्रिय जनमुक्ति पार्टीले प्रत्येक साउन २२ लाई कालो दिन भन्दै अरुण पूर्वका जिल्लाहरु बन्द गरे पनि यस पटक अन्तरक्रिया गर्दै आफ्नो गतिविधि अगाडि बढाएको छ ।

कोरोना महामारीका कारण आम नागरिकको जनजीवन कष्टकर भइरहेको अवस्थामा बन्द गरेर पीडामा थप पीडा नदिने भन्दै यस पटक बन्द नगरि अन्तरक्रिया कार्यक्रममार्फत विरोध गरिएको पार्टीले जनाएको छ ।

विहीबार सुरुङ्गा स्थित पार्टी कार्यालयमा पार्टीका कार्यकर्ता बीच गरिएको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीले साउन २२ गतेलाई किन कालो दिनको रुपमा लिई बन्द गर्दै आएको छ ? भन्ने विषयमा चर्चा गरिएको थियो ।

कार्यक्रममा पार्टी प्रदेश नं. १ का सचिव कृष्णकुमार थेवेले वि.सं. १८१४ मा गोरखाका राजा पृथ्वीनारायण शाह र लिम्बूवानी राजा बीच भद्र रुपमा ताम्रपत्र सम्झौता भए पनि वि.सं. १८३१ साउन २२ गते लालमोहर लगाइएको कागजमा सम्झौता गर्दै लिम्बूवानी जनताको अधिकार खोसेको बताए ।

उनले ताम्रपत्र सम्झौतामा स्वाशासित अधिकार दिए पनि लालमोहर सन्धीमार्फत सम्पूर्ण शक्ति कटौती गरेको हुँदा लिम्बूवानी मुद्रा, सेना र परराष्ट्र नीतिमा अन्योता आएको बताए ।

सचिव थेवेले तत्कालिन शासक रणबहादुर शाहले १८४३ मा ‘पञ्चखत’ कटौति र भूमि सुधार ऐन २०२१ ले भू–स्वामित्वबाट बञ्चित बनाएको र त्यो सबैको आधार १८३१ साउन २२ कै लालमोहर सन्धी भएको बताउँदै सरकारको विरोध स्वरुप प्रत्येक साउन २२ बन्द गर्दै आएको बताए ।

उनले जनमुक्ति पार्टी नेपाली जनताको हक, अधिकारका निम्ति लड्ने पार्टी भएकोले कोरोनाको महामारीमा बन्द गरेर जनतालाई दुःख नदिने बताउँदै यस वर्ष बन्द नगरि पार्टी कार्यकर्ता बिच छलफल गरिएको प्रस्याए ।

पार्टी जिल्ला अध्यक्ष भवानी सेलिङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष मिना पन्धाक रहेकी थिइन् ।

कार्यक्रममा प्रदेश अध्यक्ष पर्शुराम मगर, केन्द्रीय सदस्य राज खालिङ, उपाध्यक्ष मैना बराइली, युवा मोर्चा झापाका सचिव मानु सामेखाम, जिल्ला सदस्य ताम्लिङ, विद्यार्थी मोर्चा झापाका अध्यक्ष सुमन मगर, अर्जुनधारा अध्यक्ष दिलीप राई, सचिव भुपाल मगर, कनकाई नगर अध्यक्ष डकमाया मगर, शिवसताक्षी अध्यक्ष देवीकुमार शेर्मा, सचिव डिल्लीहाङ इङ्नाम लगायतको उपस्थित रहेको थियो भने कार्यक्रम सञ्चालन जिल्ला सचिव पदम लिम्बूले गरेका थिए ।

अन्तरक्रियामा उपस्थित सम्पूर्ण नेता कार्यकर्ताले हातमा कालो पट्टी लगाएर विरोध जनाएका थिए ।