किरात प्रदेश नामकरणका लागि स्मरण पत्र बुझाउँदै किराया झापाले स्थापना दिवस मनाइयो « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

किरात प्रदेश नामकरणका लागि स्मरण पत्र बुझाउँदै किराया झापाले स्थापना दिवस मनाइयो


यलम्वर टाइम्स
२३ श्रावण २०७७, शुक्रबार ०७:५७

दमक । किरात राई यायोक्खाको ३३औं स्थापना दिवस झापामा भौतिक दुरी कायम गरि मनाइएको छ ।

किरात राई यायोक्खा जिल्ला कार्य समिति झापाको आयोजनामा दमक स्थित किरात भवनमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाइएको हो ।

कार्यक्रममा प्रमुख अतिथि झापा क्षेत्र नं. ५ (ख) प्रदेश सांसद माननीय अर्जुन राईलाई प्रदेश नं. १ को नाम किरात प्रदेश नै राख्नुपर्ने भनी पुनः स्मरण पत्र समेत बुझाइएको थियो ।

किरात प्रदेश नामकरण गराउनका लागि किरातको इतिहास, आधार, वैज्ञानिक पक्ष, पहिचान लगायतका कुराहरु उल्लेख गरिएको स्मरण पत्र किराया केन्द्रीय सदस्य सुशिल कुमार राईले वाचन गरेका थिए ।

कोरोना भाइरसका कारण वार्षिक रुपमा हुँदै आएको सम्पूर्ण कार्यक्रम स्थगित गरि यस वर्ष भने सामान्य रुपमा मनाइएको जिल्ला अध्यक्ष इन्द्रमान चाम्लिङ राईले बताए ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै कार्यक्रममा सेनिटाइजर र माक्सको समेत व्यवस्था गरिएको थियो ।

किरात राई यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात राई यायोक्खा प्रदेश नं. १ का अध्यक्ष पारषमणी राई, किराया संस्थापक जीतमान राई, किराया केन्द्रीय सदस्य सुशिल कुमार राई, किराया झापा सल्लाहकार एल.डी.सोताङ, सुमित्रा वाङदेल चेली, किराया पूर्व केन्द्रीय सदस्य दिपेन बाला राई, किरात याक्खा छुम्मा झापा सचिव मच्छिन्द्र याक्खा, लिम्बु पत्रकार संघ केन्द्रीय सदस्य भुमिका सुब्बा लगायत स्थानीय समाजसेवी, बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा यायोक्खा झापाका उपाध्यक्ष उद्वव प्रसाद राईले स्वागत मन्तव्य राखेका थिए भने सदस्य सुसन रुङमाहाङ राईले कार्यक्रमको सञ्चालन गरेका थिए ।