निजी विद्यालयमा देखा परेका समस्या र समाधान « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

निजी विद्यालयमा देखा परेका समस्या र समाधान


यलम्वर टाइम्स
२२ श्रावण २०७७, बिहीबार ११:०६

अहिलेको विषम परिस्थितिमा विश्वनै आर्थिक लगायतका सबैखाले गतिविधिबाट प्रभावित बनेको छ । चीनको हुवान प्रान्तबाट फैलिएको कोभिड–१९ ले ५ लाखभन्दा बढीको ज्यान लिइसकेको छ भने १ करोड २० लाखभन्दा बढी मानिस संक्रमित बनेका छन् । साथै रोगलाई परास्त गरेर १ करोड ९ लाख ५६ हजार ३८१ जना सकुशल घर फिरेका छन् ।

विज्ञानलाई समेत चुनौतीको रुपमा रहेको यो महामारीको हालसम्म संसारका धेरै देशहरुले औषधि पत्ता लगाएको दावी गरेतापनि विश्व स्वास्थ्य संगठनले मान्यता कसैलाई नदिएको जनाएको छ । संसारलाई नै ध्वस्त बनाउने आणविक, जैविक हतियारको निर्माण गरेर विश्व सामु आफूलाई शक्तिशाली ठान्ने देशहरु समेत यो अदृश्य एवम् हतियारहीन कोरोनाबाट ग्रस्त बनेका छन् । साथै अकल्पनीय धनजनको क्षति व्यहोर्न बाध्य छन् । यस्तो अवस्थामा हाम्रो देश सबैखाले गतिविधिबाट नराम्ररी प्रभावित बनेको छ । औद्योगिक क्षेत्र तहसनहस बनेको छ । व्यापार–व्यवसाय धरासाही बनेका छन् । दैनिक रोजगार गरेर जिविकोपार्जन गर्ने वर्ग प्रचारमुखी राहत लिएर चुलो बाल्न बाध्य छन् ।

यस्तै परिस्थितिमा निजी लगानीमा सञ्चालित विद्यालयहरु अझ बढी प्रभावित बनेका छन् । नेपाल सरकारले स्वीकृत एवम् अनुमति प्रदान गरेर देशमा विश्व बजारमका बिक्न सक्ने जनशक्ति निर्माण गर्न समय सापेक्ष शिक्षा दिंदै आफ्ना अभिभावकको विश्वास जित्न सफल निजी विद्यालयहरु हालको अवस्थामा अत्यन्त पीडाको अवस्थामा छन् ।

मुख्य समस्याहरु

१) निजी विद्यालयको आर्थिक पक्ष केवल सञ्चालकको व्यक्तिगत लगानी र अभिभावकले तिर्नु भएको शुल्कमा निहित रहन्छ । हाल विद्यालय बन्द हुँदा न त अभिभावकबाट संकलन गर्ने अवस्था छ न त लगानीकर्ताले लगानी नै ।

२) सरकारको आफूले आव्हान गरेर अनुमति दिएर राष्टूकै हितमा सञ्चालित विद्यालयहरुलाई हेर्ने दृष्टिकोण स्पष्ट छैन । कुनै स्पष्ट नीति छैन  । अनि सरकारमा रहेका सम्बन्धित व्यक्तिहरु सकारात्मक छैनन ।

३) निजी लगानीमा सञ्चालित विद्यालयहरुको एसईई लगायत ११, १२ को नतिजाले राष्टूले विश्वमा शैक्षिक प्रगतिको रिपोर्ट पेश गरी वैदेशिक लगानी भित्र्याउँछ तर निजी विद्यालयहरुको योगदान के कति छ ? मूल्याङ्कन र सम्बोधन गर्न सरकार चाहदैन ।

४) निजी संस्थाहरु पनि यसै देशका नागरिकबाट सञ्चालित छन् र शैक्षिक क्षेत्रको ठूलो हिस्सा वहन गरी ३ लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगार प्रदान गरी राष्टूको ठूलो राजश्वमा टेवा पु¥याएका छन् । बेरोजगारको समस्या हल गर्न ठूलो सहयोग गरेका छन् । तर सरकार निजी विद्यालयको योगदानको कदर गर्न चाहदैन ।

५) निजी विद्यालयहरु बैंकबाट कर्जा लिएर सञ्चालित छन् । हाल विद्यालय सञ्चालन नहँदा घर भाडा, बैंक ब्याज, किस्ता भुक्तानी गर्न असक्षम भएका छन् । आफ्ना शिक्षक कर्मचारीहरुलाई तलब भुक्तानी गर्न असमर्थ छन् भने गाह्रो अवस्थामा रहन शिक्षक कर्मचारी बाध्य छन् । केही विद्यालयहरु अत्यन्त कमजोर अवस्थामा रहेका हुनाले बब्न्द हुने अवस्थामा छन् ।

६) विगत ४ महिनादेखि विद्यालय बन्द हुँदा अभिभावकहरु के र कसरी आफ्ना नानीहरुको पठनपाठन गराउँने भन्नेमा चिन्तित हुनुहुन्छ भने नानीहरु लामो समय पठनपाठनबाट बञ्चित हुँदा डिप्रेसनको शिकार हुने सम्भावना रहेको छ ।

७) विद्यालयहरुको भौतिक, आर्थिक लगायत अन्य पक्ष अवस्था फरक–फरक छ तर हेर्ने दृष्टिकोण सबैलाई एकै खाले हुनु । ८० प्रतिशतभन्दा बढी विद्यालय धेरै समस्यामा छन् भन्ने हेक्का नराखी समान हिसाबले दृष्टिकोण राख्नु ।

अपेक्षा र समाधान

१) सरकारले निजी विद्यालयलाई आवश्यकता पहिचान गरी सहयोग स्वरुप सम्बोधन गर्नुपर्दछ ।

२) नीतिगत रुपमा निजी विद्यालयलाई राष्ट्रको आवश्यक क्षेत्र मानी सोही अनुरुप व्यवहार गर्नुपर्दछ ।

३) बैंकबाट लिइएको कर्जा वापतको ब्याज र किस्ता मिनाह हुनुपर्दछ (लकडाउन अवधिको) साथै किस्ता बुझाउँने समय १ वर्ष थप गर्नुपर्दछ ।

४) निजी विद्यालयहरुको गाउँ, जिल्ला, प्रदेश अनि राष्ट्रलाईनै गरेको योगदानको मूल्याङ्कन गरी उचित सम्बोधन गर्नुपर्दछ । साथै शैक्षिक क्षेत्र (मन्त्रालय विभाग) लगायत स्थानीय तहहमा सरकारबाट निर्माण गरिने सबैखाले समिति, उपसमितिमा निजी क्षेत्रको प्रतिनिधित्व हुनुपर्दछ ।

५) कोरोना महामारी हो, लुकेर होइन सावधानी अपनाएर यो महामारीलाई परास्त गर्नुपर्दछ भन्ने मान्यतालाई आत्मसाथ गर्दै अबिलम्व सुरक्षाका उपायहरु पूर्ण रुपमा पालना गर्दै विद्यालय सञ्चालन गर्ने वातावरण बनाउनु पर्दछ । साथै प्रत्यक्ष रुपमा स्थानीय सरकारबाट निगरानी गर्नुपर्दछ । सामुदायिक विद्यालयबाट क्वारेन्टिन तुरुन्त हटाएर भ्रमरहित वातावरण बनाएर विद्यालय सञ्चालन गर्नुपर्दछ ।

६) धेरै विद्यालयहरुले चैत्र मसान्त २०७६ सम्मको ठूलो रकम संकलन गर्न बाँकी रहेको छ । अभिभावक ज्यूहरुले पनि आफ्ना नानीले शिक्षा लिए वापतको शुल्क हो, तिर्नु पर्छ भन्नmे सकारात्मक सोच राखी बक्यौता हुने महानुभावहरुले यथासक्य विद्यालयमा आएर बुझाई यो विषम अवस्थामा सहयोग गर्न हुन हामी अपिल गर्दछौं ।

शिक्षाको माध्यमबाट देशलाई समृद्ध बनाउन सामुदायिक र संस्थागत दुवै विद्यालयबाट सवल पक्षलाई आदनप्रदान गर्दै अभिभावक र विद्यार्थी नानीहरुको विद्यालय छनौट गरी पठनपाठन गर्ने नैसर्गिक अधिकारको सम्मान गर्दै देशलाई सुहाउँदो २१औं शताब्दीको माग बमोजिम शिक्षा दिन हामी सबै हातेमालो गरौं भन्ने आव्हानका साथ यो विषम परिस्थितिमा सम्बन्धित सबैलाई सबै क्षेत्रबाट सरसहयोगको अपिल गर्दछ ।