उत्पीडित जाति, वर्ग र सम्प्रदायको मुक्ति नभएसम्म मुलुक समृद्ध हुँदैनः अध्यक्ष पालुङ्वा « Yalambar Times
१ बैशाख २०८१, शनिबार

उत्पीडित जाति, वर्ग र सम्प्रदायको मुक्ति नभएसम्म मुलुक समृद्ध हुँदैनः अध्यक्ष पालुङ्वा


यलम्वर टाइम्स
१३ श्रावण २०७७, मंगलवार १०:००

[राज खम्बू]

बिर्तामोड । पहिचान र आत्मनिर्णयको विषयमा वकालत गर्दै आएको राष्ट्रिय जनमुक्ति पार्टीको प्रदेश सम्पर्क कार्यालय झापाको बिर्तामोडमा खोलिएको छ ।

किरात खम्बूवान–लिम्बूवान प्रदेश नं. १ को सम्पर्क कार्यालयको उद्घाटन पार्टी केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले गरेका थिए ।

सम्पर्क कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका अध्यक्ष पालुङ्वाले उत्पीडित जाति, वर्ग र सम्प्रदायको मुक्ति नभएसम्म मुलुक समृद्ध नहुने बताए ।

उनले सम्पूर्ण जाति, सम्प्रदायको मुक्तिका लागि राष्ट्रिय जनमुक्ति पार्टी लडिरहने बताए । अध्यक्ष पालुङ्वाले ठूला दलका नेताहरुले जतिसुकै परिवर्तनकारी गफ गरे पनि यथास्थिति सोचबाट नै चलिरहेको बताउँदै पहिचानको मुद्दामा साना दलहरु एक जुट भएर अगाडि बढ्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै उनले पहिचान र आत्मनिर्णयको अधिकारसहितको संघीय राज्य स्थापनार्थ व्यक्तिगत स्वार्थलाई त्याग गर्दै पहिचानवादी दल एक भएर दबाब दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टी प्रदेश उपाध्यक्ष केन्द्र लिङ्देनले पार्टीको सक्रियता र गविविधिलाई तिब्र गतिमा बढाउने उद्देश्यका साथ निःशुल्क रुपमा पार्टी कार्यालय हस्तान्तरण गरेका थिए ।

कार्यालय हस्तान्तरण गर्दै उपाध्यक्ष लिङ्देनले ठूला दलहरुले आफू सत्तामा रहँदा विभिन्न बहानामा मोजमस्ती गर्दै राज्यको ढिकुटीको दुरुपयोग गरेको बताए ।

उनले ठूला भनौदा दलहरुले विकासका नाममा नेपाली जनतालाई पटकपटक झुक्याउँदै मात्र आएको बताउँदै अबको वैकल्पिक शक्तिको रुपमा जनमुक्ति पार्टी उदाउने ठोकुवा गरे ।

कार्यक्रममा प्रदेश अध्यक्ष पर्शुराम मगरले पार्टीलाई निःशुल्क कार्यालय उपलब्ध गराएर सक्रियताका लागि थप हौसला मिलेको बताउँदै धन्यवाद प्रदान गरेका थिए ।

प्रदेश अध्यक्ष मगरको सभापतित्वमा भएको कार्यक्रम केन्द्रीय सचिव विष्णु थाम्देन, केन्द्रीय सदस्य राज खालिङ, प्रदेश उपाध्यक्ष मैना बराइली, तिलसिंह माङ्मु, झापा अध्यक्ष भवानी सेलिङ, सचिव पदम लिम्बू, अर्जुनधारा नगर अध्यक्ष दिलीप राई, शिवसताक्षी नगर अध्यक्ष मेनुका ताम्लिङ लगायतको आतिथ्य रहेको थियो ।