खोला ठेक्का लगाउनुअघि जनस्तरमा छलफल « Yalambar Times
३० चैत्र २०८०, शुक्रबार

खोला ठेक्का लगाउनुअघि जनस्तरमा छलफल


यलम्वर टाइम्स
१३ श्रावण २०७७, मंगलवार ०६:४२

अर्जुनधारा, १३ साउन । यस नगर भएर बग्ने विरिङ, टाङटिङ, गोयाङ र राते नदीका खोलाजन्य सामग्री ठेक्का लगाउनका लागि जनस्तरबाट छलफल सुरु हुने भएको छ ।

मंगलबार नगरपालिकाले नगरको क्रियाशिल राजनीतिक दल, नदीजन्य संघसंगठन, रेडक्रस, बुद्धजीवि, सञ्चारकर्मी बीच अन्तरक्रिया गर्दै खोला ठेक्का लगाउनुअघि जनस्तरसँग छलफल गरेर अगाडि बढे खोला जन्य सामग्रीमा ठ्ेक्का लाग्न सक्ने सुझाव नगरलाई दिएका थिए ।

अन्तरक्रियामा भूगर्भविद् यदुनाथ तिम्सीनाले विरिङ र टाङटिङको नदीजन्य सामग्रीमा प्रशस्त छलफल भए पनि ठेक्का नलाग्नु दुःख लाग्दो भएको बताउँदै अहिले पनि ति खोलामा नदीजन्य सामग्री प्रशस्त भएको हुँदा त्यसको उचित प्रयोगका लागि वातावरण मिलाएर अगाडि बढ्न सके नगरको समृद्धीमा एउटा इटा थपिने बताए ।

भूगर्भविद् तिम्सिनाले नदीमा काम गर्ने मजदुरहरुको यकिन विवरण र खोला कुदेको ठाउँमा धनीपूर्जा भएका मानिसहरुको तथ्य संकलन गरि नगरले नीति बनाएर अगाडि बढ्न सुझाव दिए ।

उनले अर्जुनधारा नगरमा पर्ने नदीजन्य सामग्रीका विषयमा प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा प्रदेश सांसद बृख प्रधानले नदीजन्य सामग्री राज्यको सम्पत्ति भएको हुँदा नदी कुदेको ठाउँमा जग्गावालाहरुको धनीपूर्जा भए प्रदेशले नीति बनाएर स्थानीय सरकारले उत्खनन् गर्न सक्ने सुझाव दिए ।

आफू यसै विभागको एक सदस्य भएको कारण नदी उत्खनन् जल सम्पदाका विषयमा छलफल भइरहेको बताउँदै स्रोतलाई थुनेर कोही पनि सम्पन्न नहुने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका मुक्ति सुवेदी, नेकपाका राजु शेर्मा, जनमुक्तिका दिलीप राई, राप्रपाका लभकुश गिरी, टाङटिङ नदीका अध्यक्ष विदुर भट्टराई, विरिङ नदीका सचिव मानबहादुर कार्की लगायतले खोला ठेक्का लगाएर खोला नजिकका बासिन्दामा आइपर्ने समस्यालाई समाधान गर्न सुझाव दिएका थिए ।

नगर प्रमुख हरिकुमार रानाको सभापतित्वमा भएको अन्तरक्रियामा उपप्रमुख कमला आचार्यले औचित्यमाथि प्रकाश पार्दै नदीजन्य सामग्रीमा ठेक्का लगाउन सबैको पहल आवश्यक रहेको बताए ।

कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले खोला ठेक्का लगाउनुअघि जनस्तरमा पुगि समस्या र समाधानको उपाय खोज्ने बताउँदै ठेक्का लागेमा उक्त रकम नदी आसपासका जनताको समस्या समाधानका लागि खर्चिने बताए ।

उनले बुधबार वडा नं. ३, २ र १ का बासीहरु बिच हचुमासा सामुदायिक वनको सभाहल र दिउँसो अर्जुनधारा ४ ज्येष्ठ नागरिक भवनमा वडा नं. ४, ५, ७ र ८ का जनतासँग छलफल गरिने जनाए ।

योजना प्रमुख तथा सूचना अधिकृत हिमराज सेढाईंले सञ्चालन गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल, वडाध्यक्षहरु लगायतको आतिथ्य रहेको थियो ।