कोभिड–१९, युवा र स्वरोजगार

[नरेश खाती]

विश्वलाई अहिले कोभिड–१९,कोरोना भाइरसको महामारीले त्राहिमाम बनाएको छ । विश्वमा लाखौं संख्यामा मानव अस्तित्व समाप्त गरेको छ भने, करोडौंमा यो भाइरसको संक्रमण भएको छ । वैज्ञानिकहरुले यो भाइरसबाट कहिले मुक्ति मिल्ने हो यसको यकिन गर्न सकिरहेका छैनन् । विश्वका साना–ठूला देशहरुको अर्थतन्त्रमा ठूलो मात्रामा गिरावट आएको छ । ठूलो मात्रामा रोजगारी गुमेको छ । नेपाल जस्तो विकासउन्मुख देशमा कोभिड–१९को ठूलै प्रभाव परेको छ । लाखौंको संख्यामा वैदेशिक रोजगारमा गएर देशमा रिमिट्यान्स भित्र्याउने जनशक्ति आज खाली हात फर्कदै छन् । त्यति मात्र होइन कोरोना संक्रमित भएर फर्कन बाध्य भएका छन् । यसै सन्दर्भमा हाम्रो जस्तो मुलुकमा यस्तो अवस्थामा युवा स्वारोजगारका बारेमा चर्चा गरौं ।

को हुन युवा:

नेपाली बृहत शब्दकोषका अनुसार ‘जवानीले नछोडेको बुढ्याइले नछोएका, व्यक्तिलाई युवा भनिएको छ । विश्वका विभिन्न देशमा फरक–फरक उमेर समूहका व्यक्तिलाई युवा मान्ने गरिएको छ । संयुक्त राष्ट्रसंघको परिभाषामा, १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानिएको छ । छिमेकी देशहरु भारतमा १५ देखि २९ वर्ष, भुटानमा १३ देखि २४ वर्ष, चीनमा १४ देखि २८ वर्ष मानिएको छ । नेपालमा भने राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षको उमेरलाई युवा मानेको छ । नेपालको हकमा राष्ट्रिय युवा नीति, २०७२ ले परिभाषित गरे अनुरुप उमेर समूहलाई नै युवा मानेर कुरा गर्नु उपयुक्त हुन्छ ।

राष्ट्रिय युवा नीति, २०७२ को परिभाषा मुताविक, नेपालको कुल जनसंख्याको ४०.३५ प्रतिशत अर्थात्, १ करोड ६ लाख ८९ हजार ८ सय ४२ युवा रहेका छन् । जनसंख्या शास्त्रको परिभाषाले (१५–५९ वर्ष समूह) उमेरलाई सक्रिय जनसंख्या भनी परिभाषित गरेको छ । नेपालको सक्रिय जनसंख्या ५९.९६ प्रतिशत रहेको छ । सक्रिय जनसंख्याभित्र युवाको आकार ७०.८३ प्रतिशत छ । यति ठूलो संख्यामा रहेका युवाहरुले देशका बागडोर समाउन पाएका छैनन् ।

हिजो विदेश जानेको लर्को आज फर्कनेका लर्को:

इतिहासमा पहिलो पटक श्रमको निम्ति सक्रिय जनसंख्या रहेको जनसंख्या विद्हरु बताउँछन् । विश्वमा सक्रिय जनसंख्या हुनुलाई महत्वका साथ हेरिन्छ । तर दुःखको कुरा कोरोना संक्रमण अघि सरदर दैनिक १५ सयभन्दा बढी युवा वैधानिक बाटोबाट विदेशिन बाध्य थिए । करिब ४५ लाख नेपाली युवा रोजगारका निम्ति विदेशमा थिए ।

रोजगारको खोजीमा भारत गएका युवाको तथ्याङ्क यकिन छैन । प्रत्येक वर्ष श्रम बजारमा ४ लाख ५० हजारभन्दा बढी व्यक्तिहरु आउने गर्दछन् । ती मध्ये अधिकांश रोजगारका लागि विदेशिने गर्छन् । आर्थिक उपार्जनका लागि युवा विदेशिनु अनिवार्य संस्कृति बनेको छ, थियो ।

प्रत्येक वर्ष प्रतिभावान युवा अध्ययनको शिलशिलामा युरोप, अष्ट्रेलिया, जापान, फ्रान्स र ईडीभीको माध्यमबाट अमेरिका जाने गर्दथे । अध्ययनको शिलशिलामा गएका अधिकांश प्रतिभावान युवा भविष्य सुरक्षा गर्ने नाममा विदेशमै बस्ने गर्छन् । नेपालको अस्थिर राजनीतिक व्यवस्थाका कारण धेरै युवा पलायन भएका हुन भन्ने विश्लेषकहरुको मत छ । राज्य सञ्चालनमा युवाहरुले भूमिका नपाएका कारण पनि युवामा निराशा उब्जिएको छ ।

तर कोभिडको कहरले वैदेशिक रोजगारीमा गएका युवाहरु रोजगारी गुमाएर फर्कनेको लर्को छ । भारतमा गएका युवाहरु पनि दैनिक हजारौंको संख्यामा स्वदेश प्रवेश गर्दै छन् । फर्कन मध्ये ०७७ साउन २ गतेसम्म १७ हजार ४ सय ४४ मा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

युवाले राजनीति गर्ने कि ?

अंग्रेजीमा एउटा भनाई छ, एयष्तिअक ष्क मष्चतथ नबmभ, अर्थात ‘राजनीतिक फोहोरी खेल हो ।’ लामो समयदेखि नेपाली युवाको मन मस्तिष्कमा खिल बनेर यो भाव गडेर बसेको छ । यदि कसैले आफूलाई असल सावित गर्नुछ भने, उसले ‘म कुनै पनि राजनीतिक क्रियाकलाप छैन भने पुग्छ । अर्थात् राजनीतिबाट टाढा बसेको छु भने पुग्छ । पढेलेखेका व्याक्तिहरु पनि राजनीतिमा आउन चहादैनन् । योजना बनाउन सक्ने, भिजन भएका व्यक्तिहरु राजनीतिभन्दा टाढै बस्छन् । कुनै समयमा एसएलसीमा प्रथम श्रेणी पास हुनेले विज्ञान पढेर क्याम्पसको लेक्चरर, इन्जिनियर, डाक्टर बन्ने । दोस्रो श्रेणीमा पास हुने पढेर सरकारी जागिर खाने । तेस्रो श्रेणीमा पास हुने मानविकी पढ्दै राजनीतिक दलको भ्रातृ संगठनमा काम गर्दे जेनेतेने आई.ए पास गर्ने ‘ट्रेन’ बसेको थियो । भविष्यमा राज्य हाँक्ने जिम्मा तिनै राजनीति गर्ने व्यक्तिले पाउथे । त्यो क्रम जारी छ  । अर्थात पढ्नेले जागिर खाने र नपढ्नेले राजनीति गर्ने भन्ने थियो । यसो भनेर मानविकी अध्यायन गर्ने कमजोर भन्न खाजेको होइन । यसको प्रतिकात्मक सन्देश के हो भने, राज्यको जिम्मेवार निकायमा नीति निर्माण गर्न, तिनै समाजले नपत्याएका, हिजो खराब चरित्र भएका व्यक्ति नै पुग्ने गरेको यथार्थ हाम्रो सामु छर्लङ्ग छ ।

बिगतका धेरै राजनीतिक परिवर्तनमा खराब चरित्र भएका व्यक्तिले राजनीतिक दलको नेतृत्व लिएका र तिनै व्यक्तिहरु राज्यको सर्वच्च निकायमा पदासिन छन । यो कुराले जो कोहीलाई पनि राजनीतिप्रति दुरभाव उत्पन्न हुनु स्वाभिक हो । तर राजनीति राज्य सञ्चालन गर्ने मुख्य नीति हो । लोकतन्त्रमा विभिन्न नीतिवाद आत्मसाथ गरेका राजनीतिक दलले नै शासन गर्ने हुन । तिनै दलका नेताहरु नै कार्यकारी नियकामा पुग्ने हुन र उनीहरुकै हातमा सत्ताको बागडोर हुन्छ । र उनीहरुको भावना अनुरुप नै राज्य सञ्चालन हुन्छ । जनताले आफूले मन पराए पनि नपराए पनि तिनै नेताले बनाएका नियम कानूनबाट शासित हुनुपर्छ । त्यसैले राजनीति आफैमा खराब खेल होइन, यसलाई खराब बनाइएको हो । गाडीले आफै बाटो बिराउने होइन, ड्रइभरको गलत ड्रइभिङ्गरका कारण बाटो बिराउने हो । त्यसकारण यदि गाडी राजनीति हो भने नेता ड्रइभर हुन । खराबी हुँदैछ भने खराब नेतृत्वका कारण हुँदैछ ।

विभिन्न राजनीतिक संगठनले आफ्ना सदस्य संख्याका आधारमा गरेको दाबी अनुसार, करिब ८० प्रतिशत नेपाली युवा राजनीतिक संगठनभन्दा बाहिर छन् । यसको मतलब राज्यको नीति निमार्ण गर्ने सम्बन्धमा निर्णयक तहमा युवाको उपस्थिति न्यून रहेको प्रस्ट हुन्छ । नयाँ भिजनका साथ योजना बनाउन युवाले राजनीति गर्नुपर्छ ।
नेपालको संविधान २०७२ मा स्थानीय तह गाउँपालिका र नगरपालिकाले आफै कानून बनाउँन पाउने प्रावधान छ ।स्थानीय तहले संघीय कानूनसँग नबाझिने गरी कानून बनाउने अधिकार प्रदेश सभा, गाउँसभा र नगरसभालाई दिएको छ । संविधानको अनुसूची–८ मा स्थानीय तहले एकलौटी प्रयोग गर्न पाउने २२ वटा र संघ, प्रदेश र स्थानीय तहले संयुक्त रुपमा प्रयोग गर्ने गरी १५ वटा अधिकारका सूची छन् । युवाले आफू र आफू जस्तै युवालाई शासन गर्ने उपयुक्त कानून बनाउन युवाले राजनीति गर्नुपर्छ ।

स्वरोजगार बन्न कि:

नेपाल धेरै सम्भावनाले युक्त देश हो । आजसम्म युवाहरुको मानसिकता अरुले दिएको खाने अर्थात् आशे बानी परेको छ । अब कोभिडले हामीलाई तिमी आफै केही गर भनेर झक्झक्याएको छ । वैदेशिक रोजगार केही वर्षका लागि बन्द हुने देखिएको छ । हाम्रा गाउँ घरका जग्गा जमिन बाँझिएका छन् । कृषिमा कर्म गर्न सकिन्छ । अरु धेरै स्वारोजगारका पाटाहरु हुन सक्छन । अब के सम्भावना छ त्यसको खोजी गर्नु आवश्यक छ । राम्रो काम गर्न कहिले ढिला हुँदैन । ‘जब जागे तब सबेरा’ भने झै राम्रोको शुरुवात आजैदेखि गर्न सकिन्छ ।

यसमा सरकारको भूमिका महत्वपुर्ण हुन्छ । जसले युवालाई स्वदेशमै रोजगार बनाउन महत्वपूर्ण नीति बनाएर आकर्षण गर्न सक्छ । तीन तहका सरकारको युवालाई स्वरोजगार बनाएर समृद्ध नेपाल बनाउन सकिन्छ यस तर्फ ध्यान जानु आवश्यक छ ।

नरेश खाती

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd